युरोपियन च्याम्पियन्स लिगअन्तर्गत फ्रेन्च क्लब पिएसजी, जर्मन क्लब वायर्न म्युनिख र इटालीयन क्लब युभेन्ट्स अन्तिम १६ मा पुगेका छन्। तीन वटै क्लब आ-आफ्नो देशका लिग च्याम्पियन हुन्।
वार्यनले समूह 'बी' को खेलमा ओलम्पियाकोसलाई २-० ले हरायो। यहि समूहको अर्को खेलमा टोटनह्यामले रेड स्टार बेलग्रेडलाई ४-० ले हरायो।
टोटनह्यामका लागि लो सेल्सोले ३४ र इरिक्सनले ८५ मिनेटमा १-१ गोल गर्दा सन हेउन मिनले ५७ र ६१ मिनेटमा गरी २ गोल गरे।
वायर्न ४ खेलबाट १२ अंक जोड्दै समूह चरणको २ खेलअघि अन्तिम १६ मा पुग्यो। ४ खेलबाट ७ अंक जोडेको टोटनह्यामको पनि अन्तिम १६ मा पुग्ने सम्भावना बाँकी छ।
यता समूह 'ए' को खेलमा फ्रेन्च क्लब पिएसजीले क्लब वर्गलाई १-० गोलले पराजित गरेको छ। पिएसजीको जितमा इकार्डीले २१ मिनेटमा गोल गरे। यो समूहको अर्को खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले गलातासारेलाई ६-० ले हरायो।
रियलको जितमा नयाँ नेमइमारको संज्ञा पाएका ब्राजिलियन स्ट्राइकर रोद्रिगोले ह्याट्रिक गरे। समूहमा ४ खेलबाट १२ अंक जोडेको पिएसजी अन्तिम १६ मा पुग्दा ७ अंक जोडेर दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको पनि सम्भावना बाँकी छ।
समूह 'डी' को खेलमा रसियन क्लब लोकोमोटिभ मस्कोलाई २-१ ले हराएर इटालियन क्लब युभेन्ट्सले पनि नकआउट चरणमा स्थान बनायो। समूह 'डी' कै अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमाथि वायर लिभरकुजेनले २-१ को जित हात पारेको छ। समूहमा युभेन्ट्सको १० अंक छ भने एट्लेटिकोको ७ अंक छ।
यता समूह 'सी' मा म्यानचेस्टर सिटीले एटलान्टासँग बराबरी खेलेको दिन डाइनामो जग्रेब र शख्तरबीचको खेल पनि ३-३ को बराबरीमा सकिएको छ। समूह सीमा शीर्ष स्थानको सिटीको १० अंक छ भने शख्तर र नाइनामोको ५-५ अंक छ।