जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको वायर्न म्युनिख उपाधितर्फ अघि बढेको छ। मंगलबार राति भएको खेलमा वायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डलाई १-० ले पराजित गर्दै उपाधि यात्रा बलियो बनाएको हो।
डर्टमुन्डको मैदानमा भएको खेलमा वायर्नले पहिलो हाफमा अग्रता लिएको थियो। वायर्नको जितमा जोसुआ किमिचले ४३ मिनेटमा गोल गरे। उनले २० यार्डबाट चिप गरेको बलले गोलपोस्टको जाली चुमेको थियो।
जितसँगै वायर्नले २८ खेलबाट ६४ अंक बटुलेको छ। उपाधि यात्रामा धक्का लागेको डर्टमुन्ड ७ अंकले पछि परेको छ। डर्टुमुन्डको २८ खेलबाट ५७ अंक छ।
लिगमा अब ६ चरणका खेल बाँकी छ।
मंगलबार राति भएका अन्य खेलमा वुल्फवर्गले वायर लिभरकुजेनलाई ४-१ गोलले पराजित गरेको छ।
फ्रान्सफर्ट र फिवर्गले ३-३ र ब्रेमेन र मोन्चेनग्लाबाडले गोलरहित बराबरी खेलेका छन्।