नेपाली राष्ट्रिय टिमका डिफेन्डर रोहित चन्द आबद्ध पेर्सिजा जाकर्ताले २०२१ मेन्पोरा कपको उपाधि जितेको छ।
इन्डोनेसियाको प्रि-सिजन प्रतियोगिताको रूपमा रहेको पेर्सिजाले दुई लेगको फाइनलमा पेर्सिबलाई समग्रमा ४-१ गोलले पराजित गर्दै उपाधि जितेको हो।
पहिलो लेगमा २-० गोलले विजयी भएको पेर्सिजाले आइतबार भएको दोस्रो लेगमा २-१ को जित निकाल्यो।
आइतबार पेर्सिजाका लागि ओस्भाल्डोले ५१ मिनेटमा पहिलो गोल गरेका थिए।
पेर्सिबका फर्डिनान्डले ८४ मिनेटमा गोल फर्काए।
दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा पेर्सिजाका रिकोले टिमका लागि दोस्रो गोल गरेका थिए।
प्रतियोगितामा इन्डोनेसियन लिग वानका १७ टिमले भाग लिएका थिए।
प्रतियोगिता खेल्नका लागि रोहित गत महिना इन्डोनेसिया पुगेका थिए।
नेपालले थ्री नेसन्स कपको उपाधि जितेको पर्सी पल्ट रोहित इन्डोनेसिया पुगेका थिए। जसका कारण उनले प्रतियोगिताको सुरुवाती खेल गुमाएका थिए।
बंगलादेशलाई पराजित गर्दै नेपालले थ्री नेसन्स कप जित्दा रोहित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।