नेपाली राष्ट्रिय टोलीकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी साम्बा घुँडाको शल्यक्रियापछि डेढ महिनापछि कतार पुगेकी छन्।
उनी कतारमा रिह्याबका लागि पुगेकी हुन्। गत चैत दोस्रो उनको न्युजिल्यान्डको अकल्यान्डमा शल्यक्रिया भएको थियो।
यसअघि साम्बाको कतारमा शल्यक्रिया हुने भनिए पनि खाडी क्षेत्रको तनावका कारण न्युजिल्यान्डमा शल्यक्रिया गरिएको थियो।
‘लामो समयको प्रयासपछि अन्तत: कतारको अस्पेटार अस्पतालमा आइपुगेको छु। अबको केही महिना यहाँ रहेर मेरो शल्यक्रियापछिको रिह्याबको कार्यलाई निरन्तरता दिनेछु। सम्पूर्ण समर्थक, मेरो क्लब र यो कठिन समयमा साथ दिनुहुने सम्पूर्ण व्यक्तिहरुको साथ र सहयोगका लागि सधैं आभारी छु । मेरो शल्यक्रियापछिको रिकभरी सोचेजस्तै चलिरहेको छ,’ उनको भनाइ छ।
कतार पुगेपछि नेपाली फुटबलको अवस्था देखेर निराश भएको पनि उनको भनाइ छ। हाल अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राष्ट्रिय खेलकुद परिषदले निलम्बन गरेको अवस्था छ। आफ्नो निर्देशन विपरित निर्वाचन गर्न लागेको भन्दै परिषले निलम्बन गरेको थियो। अर्कोतर्फ परिषदले नै एन्फाको आर्थिक पक्षको छानविन गर्दै कार्यसमितिका सबै सदस्यको पासपोर्ट कालोसूचीमा राख्न सिफारिस गरेको थियो। जसका कारण नेपाली फुटबल हाल ठप्प छ।
‘एकातर्फ आफूमैदान फर्कने प्रयासमा छु, अर्कोतर्फ नेपालमा फुटबलको अवस्था देखेर निराश छु। आशा गरौं नेपालको फुटबलको अवस्था चाडैं ठिक हुनेछ। म मैदान फर्कने मेरो आफ्नो लक्ष्यमा अडिग रहेर लागिरहनेछु,’ साम्बाले सामाजिक सञ्जालमा लेखेकी छन्।
यसअघि साम्बाको उपचारका लागि डेढ करोड माथि सहयोग संकलन भएको थियो। दाहिने घुँडामा चोट बोकेकी साम्बाले आफ्नो उपचार गराउनका लागि सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोग नपाएको भन्दै गत फागुनमा सहयोगका लागि आह्वान गरेकी थिइन्।
अस्ट्रेलियाको 'निन्जा ए-लिग' क्रममा स्ट्राइकर साम्बालाई गत पुस तेस्रो साता गम्भीर चोट लागेको थियो। लिगमा सहभागी एक मात्र न्युजिल्यान्डको क्लब वेलिङ्टन फोनिक्समा आबद्ध साम्बाको दाहिने घुँडाको 'एसिएल' पूर्ण रूपमा च्यातिँदा सिजनका सबै खेल गुमाएकी थिइन्।
ब्रिस्बेन रोअर विरूद्धको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किँदा साम्बा घाइते भएकी थिइन्। यो चोट निको भएर पुन: मैदानमा फर्कन कम्तीमा ९ देखि १२ महिना लाग्नेछ।
यसअघि पनि उनी चोटका कारण एक वर्षपछि मैदान फर्किएकी थिइन्। २०७८ सालमा मैदान फर्कनुअघि साम्बा एन्फाको पहलमा कतार पुगेकी थिइन्। जहाँ उनले शल्यक्रिया गराएकी थिइन्। तर यसपटक एन्फाबाट सहयोग नपाएको उनको गुनासो थियो। यसपटक पनि साम्बाले कतारमै उपचार गर्ने योजना बनाएकी थिइन्। कतारमा उपचार गर्दा न्युजिल्यान्डको क्लबको बिमाले काम नगर्ने भएकाले उनले एन्फाबाट सहयोग खोजेकी थिइन्।
साम्बा र वेलिङ्टन फोनिक्सबीच दुई वर्षको सम्झौता छ। उनी चोटबाट फर्किएपछि क्लबमा फेरि आबद्ध हुने क्लबको भनाइ छ।
साम्बाले गत दुई सिजन भने फ्रान्सको शीर्ष डिभिजनको लिग खेलेकी थिइन्। फ्रान्सको महिला फुटबल क्लब गुइनगाम्पबाट उनले दुई सिजन खेलेकी थिइन्। पछिल्लो सिजन भने क्लब रेलिगेसनमा परेको थियो।
उनी फ्रान्स युरोपको शीर्ष पाँच लिगमा खेल्ने पहिलो नेपाली फुटबल खेलाडी भएकी थिइन्।
साम्बाले यसअघि इसराइलको शीर्ष डिभिजनको क्लब हापोइल रा’नानामा आबद्ध भएर लिग खेलेकी थिइन्। तर युद्धका कारण उनी सिजनको बीचैमा फर्किएकी थिइन्। उनी युरोपियन लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडी हुन्।
त्यसअघि भारतको महिला लिगमा साम्बाले तहल्का पिटेकी थिइन्। पछिल्लो पटक उनले गोकुलम केरलाबाट भारतीय महिला लिग खेलेकी थिइन्। १० खेलमा २९ गोल गर्दै उनी लिगकै सर्वाधिक गोलकर्ता मात्र बनिनन्, उनी आबद्ध गोकुलमले लिग नै जितेको थियो।
भारतमा तीन सिजन महिला लिग खेल्दा उनले तीनै सिजन उपाधि जितेकी थिइन्। उनले भारतीय लिगमा २४ खेलमा ६० गोल गर्दै कीर्तिमान समेत बनाएकी छन्।
साम्बा दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर मध्येमा पर्छिन्। घरेलु लिगमा उनी एपिएफबाट खेल्छिन्।