विभागीय टोली त्रिभुव आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधबार नै दुई सफलता प्राप्त गरेको छ।
नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी सुरुआत गरेका हुन् । पुरुषतर्फ समूह ‘ए’ मा रहेको आर्मीले गण्डकी प्रदेशमाथि ३–० गोलको जित निकाल्दै सुखद सुरुआत गरेको हो।
आर्मीको जितमा प्रदीप राजवंशी, काशिराज राई र देव सिंह धामीले गोल गरे । आर्मीको जितमा रोशन चौधरी प्लेअर अफ दी म्याच भए । लिगकम नकआउटका आधारमा भएको यस समूहमा आर्मी र गण्डकीसँगै मधेश र कोशी प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, एपिएफ र बागमती छन्। एपिएफ हक्कीमा नयाँ टिम हो ।
समूह ‘बी’ पुलिसले पनि कर्णाली प्रदेशलाई ९–० ले हराउँदै सुखद सुरुआत गरेको छ । पुलिसको जितमा आयुस शाह र सुरेशप्रसाद जोशीले दुई तथा शंकर घर्तिमगर, नवराज खत्री, सुरज बोहोरा, काशिराम खत्री र अमित ओझाले समान एक गोल गरे । दुई गोल गरेका आयुस प्लेअर अफ दी म्याचसमेत भए।
महिलामा भने नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश मात्र सहभागी छन् । यस प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुँदै छ । राउन्ड रोबिन लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ । यसमा आर्मीले पहिलो खेलमा मधेश प्रदेशमाथि ७–० गोलको रबाफिलो जित निकालेको छ । दुई खेलाडी सीमा खड्का र कमला चन्दले ह्याट्रिक पूरा गरेपछि आमीले सहज जित दर्ता गर्यो । निलिमा पाण्डेको नाममा एक गोल रह्यो । पुलिसकी कमला चन्द प्लेअर अफ दी म्याच घोषित भइन् ।
त्यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुब आचार्य, बोर्डकी कार्यकारी सदस्य तथा संघकी महासचिव सुवर्ण श्रेष्ठ, बोर्ड सदस्यद्वय अञ्जन धमला र जगतसिंह धामीलगायतले गरेका थिए । सो अवसरमा संघका उपाध्यक्ष मनीष झालगायत विभिन्न खेलका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो । संघको वार्षिक कार्यक्रमअनुसार सुरु राष्ट्रिय पुरुष हक्की वैशाख २६ गतेसम्म तथा राष्ट्रिय महिला हक्की प्रतियोगिता वैशाख २६ गतेसम्म हुनेछ । पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।