२०७९ कात्तिक ३ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई १०औं राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गर्दै गर्दा उठेको सबैभन्दा पहिलो प्रश्न थियो— कर्णालीले सक्छ त?
चुनौतीको झण्डा समात्ने पूर्वमन्त्री बिसी आज हामीमाझ छैनन्। तर, आज कर्णालीले आफ्नो सामर्थ्यमाथि उठेको प्रश्नको जबाफ दिने अवसर पाएको छ।
चार वर्षको अवधिमा कर्णालीले सबैभन्दा बढी सामना गर्नुपरेको प्रश्न नै यही थियो।
२०८१ मंसिरमै आयोजना हुनुपर्ने १०औं राष्ट्रिय खेलकुद दुई वर्ष ढिलो हुनुमा पनि यही प्रश्न कारक बन्यो। अन्ततः कर्णाली मंगलबारदेखि नेपाली खेलकुद क्षेत्रको महाकुम्भमा होमिएको छ।
प्रतियोगिताको औपचारिक उद्घाटन भने मंसिर १६ मा हुनेछ।
खेल पूर्वाधार कर्णालीका लागि सबैभन्दा ठूलो चुनौती बन्यो। तीन दर्जनभन्दा बढी खेल आयोजना गर्न खेल अनुसारका पर्याप्त पूर्वाधार थिएनन्। कर्णाली प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि सारेको वीरेन्द्रनगरस्थित रंगशाला पनि लामो समयसम्म विवादको सिकार भयो। प्रतियोगिताका खेल सुरु हुनुभन्दा दुई दिनअघि मात्र निर्माण कम्पनीले प्रदेश सरकारलाई रंगशालाको साँचो हस्तान्तरण गर्यो।
अब प्रतियोगिताका २३ खेल यही रंगशाला र वीरेन्द्रनगरका अन्य क्षेत्रमा सञ्चालन हुनेछन्।
एथलेटिक्स, फुटबल, क्रिकेट, हक्की, भलिबल, कबड्डी, कराँते, ब्याडमिन्टन, फुलकन्ट्याक्ट कराँते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई–स्पोर्ट्स र सेपाकताक्रो सुर्खेतमा सञ्चालन हुनेछन्।
यी खेल रंगशालाका साथै कभर्डहल, नेपाली सेनाको खेलमैदान, काँक्रेविहार र छिन्चु लगायत स्थानमा आयोजना गरिनेछन्।
यसबाहेक कर्णालीकै सल्यान (श्रीनगर) मा जुडो र कुस्ती, दैलेख (नारायण) मा आइटिएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल र रूकुमपश्चिम (चौरजहारी) मा शारीरिक सुगठन प्रतियोगिता आयोजना हुनेछन्।
यति गर्दा पनि कर्णालीका लागि पूर्वाधार अभाव खड्किरह्यो। चार वटा खेल लुम्बिनी प्रदेशका बाँके र बर्दियामा हुँदैछन्।
पौडी र सुटिङ बाँके (नेपालगञ्ज) तथा टेनिस र महिला–पुरूष खोखो बर्दियामा सञ्चालन हुनेछन्। पर्याप्त समय पाएर पनि कर्णाली यी खेलका लागि आवश्यक पूर्वाधार निर्माण गर्न भने चुक्यो।
खेल पूर्वाधारबाहेक कर्णालीसामु देखिएको अर्को चुनौती हो— आवास व्यवस्थापन।
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको अवधिभर कर्णालीमा करिब ९ हजार ५०० व्यक्ति आउनेछन्। ११ टोलीका ६ हजार ५०० खेलाडीका साथै प्रशिक्षक, व्यवस्थापक तथा अफिसियल गरी थप ३ हजार पाहुना कर्णाली पुग्नेछन्।
प्रदेश राजधानी वीरेन्द्रनगर कर्णालीको सबैभन्दा ठूलो आवासीय क्षेत्र हो। प्रतियोगिताको मुख्य केन्द्र पनि वीरेन्द्रनगर भएकाले यहाँ आवासको चाप अधिक पर्नेछ। कर्णाली प्रदेश सरकारका अनुसार वीरेन्द्रनगर र आसपासका क्षेत्रमा करिब साढे ५ हजार बेड सुनिश्चित गरिएको छ।
होटलका साथै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका विभागीय टोलीका लागि ब्यारेकमा समेत बसोबासको व्यवस्था गरिएको छ।
यसबाहेक होटलमा आवास अपुग भए पाहुनालाई आफ्ना निजी घरमा समेत आतिथ्यता प्रदान गर्ने उत्साह सुर्खेतवासीले देखाएका छन्। यसले प्रतियोगिताको आवास व्यवस्थापनमा देखिएको चुनौती कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा सहभागी हुन आउने पाहुनालाई प्रदान गरिने बासमात्र होइन, उत्कृष्ट आतिथ्यता (स्वागत–सत्कार) पनि उत्तिकै महत्वपूर्ण हुन्छ। कर्णाली यसमा चुक्नु हुँदैन। कर्णाली घुम्न आउने आगन्तुकहरूले विगतमा आतिथ्य सत्कारबारे गुनासो गर्दै आएका छन्। एकै पटक देशभरका पाहुनालाई स्वागत गर्ने यो प्रतियोगिता कर्णालीका लागि विगतदेखिकै यही गुनासो सम्बोधन गर्ने अवसर पनि हो।
१०औं राष्ट्रिय खेलकुदको झण्डा बोकेको दुई महिनामै, २०७९ पुसमा सुर्खेतले नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा आयोजना गरेर आफ्नो सामर्थ्य देखाइसकेको छ।
उति बेला देशभरबाट जम्मा भएका करिब एक हजार पत्रकारलाई उत्कृष्ट आतिथ्यता प्रदान गरेर सुर्खेतले सकारात्मक सन्देश दिएको थियो। यस पटक पनि ९ हजार ५०० पाहुना एकै दिन जम्मा हुने होइनन्।
करिब ३ हजार ५०० पाहुना प्रतियोगिताको औपचारिक उद्घाटनअघि नै वीरेन्द्रनगर पुग्नेछन्। यसले आवास व्यवस्थापनमा केही सहजता ल्याउन सक्छ।
भौगोलिक कठिनाइ कर्णालीको विकासको बाधक हो। कर्णाली पुग्न मात्र होइन, पुगिसकेपछि पनि यातायातको उत्तिकै सास्ती भोग्नुपर्छ। राजधानी वीरेन्द्रनगरभित्रै आवतजावतका लागि भरपर्दो सार्वजनिक यातायात छैन। अटोरिक्सा एक मात्र सार्वजनिक यातायातको साधन हो।
नगरबस, ट्याक्सी, पठाओजस्ता सुलभ यातायातका साधन उपलब्ध छैनन्। यसले प्रतियोगितामा आउने पाहुनाले पक्कै पनि समस्या भोग्नुपर्नेछ। यस समस्याको समाधानका लागि वीरेन्द्रनगर नगरपालिका र यातायात व्यवसायीहरूले प्रतियोगिता अवधिभर आवतजावतको उचित प्रबन्ध गर्नुपर्छ।
त्यसबाहेक काठमाडौं–सुर्खेत नियमित सञ्चालनमा रहेका चार वटा हवाई उडान थप्नेतर्फ पनि पहल गर्नुपर्छ।
यो प्रतियोगिता कर्णालीका लागि आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने निकै ठूलो अवसर पनि हो। सुर्खेतभित्र रहेका काँक्रेविहार, बुलबुले, देउतीबज्यै, बराहतालदेखि सल्यानको कुभिण्डेताल, दैलेखको पञ्चकोशी, जुम्लाको सिँजा सभ्यता, मुगुको राताताल र डोल्पाको शे–फोक्सुण्डोजस्ता कर्णालीका प्रमुख पर्यटकीय स्थल अनुकूलता मिलेसम्म घुम्ने चाहना सबैको हुन्छ।
कर्णाली प्रदेश सरकारले यहाँका स्थानीय तह र निजी क्षेत्रसँग समन्वय गरेर पाहुनाहरूको पथप्रदर्शक बन्न सक्छ। वार्षिक करोडौं रूपैयाँ खर्च गरेर प्राप्त हुने उपलब्धि एउटै प्रतियोगिताले दिलाउन सक्छ। प्रदेश सरकारले यसतर्फ पक्कै ध्यान दिनेछ।
यही मेसोमा कर्णालीले पर्यटनसँगै आफ्नो सांस्कृतिक पहिचानलाई पनि प्रचार गर्नुपर्छ। सुर्खेत उपत्यकाभित्र थारू र मगर होमस्टे सुरूआत भएको छ। होमस्टेको आकार सानो नै किन नहोस्, यसबाट ठूलो सन्देश प्रवाह गर्न सकिन्छ। मौलिक पहिचान बोकेका परिकार, कला र संस्कृतिले कर्णालीको पहिचान देशभर फैलाउन सकिन्छ।
प्रतियोगितालाई मर्यादित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने तथा शान्ति सुरक्षाको उचित प्रबन्ध गर्नेजस्ता चुनौती पनि यथावत् छन्। प्रतियोगिता अवधिभर करिब २ हजार सुरक्षाकर्मी परिचालन हुने बताइएको छ।
तर, सुरक्षाकर्मी खटिँदैमा मात्र सुरक्षाको प्रत्याभूति हुँदैन। बर्दीबिनाका प्रहरी भनिने स्थानीय नागरिकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। कर्णालीवासी, विशेषगरी सुर्खेतका बासिन्दाले यस विषयलाई गम्भीर रूपमा मनन गर्नुपर्छ।
खेलाडी तथा पाहुनासँग आत्मीय व्यवहार गर्ने, कुनै समस्या वा झमेला आइपरे सहजीकरण गर्ने र होटल व्यवसायीहरूले आफ्ना होटलमा बसेका पाहुनाको गाँसबाससँगै सुरक्षामा पनि उत्तिकै ध्यान दिनुपर्छ। यसले सरकारको सुरक्षा प्रबन्धलाई अवश्य नै बल पुर्याउनेछ।
विक्रम सम्वत् २०२० दशकको मध्यतिर औलो उन्मूलनपछि बसोबास सुरू भएको र पछिल्लो समय तीव्र रूपमा विकास भइरहेको वीरेन्द्रनगर कर्णालीको प्रवेशद्वार र विकासको बिम्ब हो।
वीरेन्द्रनगर सहरले यस पटक कर्णालीमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदको मुख्य आतिथ्यता गर्ने अवसर पाएको छ। वीरेन्द्रनगरले यस अवसरलाई कसरी सदुपयोग गर्छ भन्ने कुराले सिंगो कर्णालीको सामर्थ्यको मापन गर्नेछ।