राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम, २०८२/८३ प्रस्तुत गरेका छन्।
शुक्रबार बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सभालाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रका ६ वटा कार्यक्रम समेटिएका छन्।
जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना, स्पोर्ट्स स्कुल कार्यक्रम, त्रिवि मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदान बनाउने र अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी र उनीहरूका सन्ततिलाई अध्ययनका लगि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको छ।
नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रका ६ वटा कार्यक्रम
- युवाहरूको शारीरिक र मानसिक विकासको लागि नियमित खेलकुद सञ्चालन र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताहरू आयोजना गरिनेछ।
- संघ, प्रदेश, स्थानीय तह र खेल संघको सहकार्यमा स्पोर्ट्स स्कुल कार्यक्रम सुरु गरिनेछ।
- विद्यालय तहदेखि खेलकुद तालिम, प्रशिक्षक र खेलाडी प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरिनेछ।
- रंगशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइनेछ। खेलकुदलाई निजी क्षेत्रका संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमसँग जोडिनेछ।
- त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा रूपान्तरण गरिनेछ ।
- अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी र उनीहरूका सन्ततिलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था मिलाइनेछ।