यही असोज ३ गते हुने तय गरिएको नेपालगन्ज १० नाइट रन स्थगित गरिएको छ ।
देशको बिषम परस्थितिका कारण अर्को सुचना नभएसम्मका लागि नाइट रन स्थगित गरिएको हो। नाइट रन आयोजक समितिको भर्चुअल बैठकले हाललाई नाइट रन स्थगित गर्ने निर्णय गरेको हो।
विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को पूर्णकालीन सदस्यता लिएपछि आधिकारिक रुपमा नाइट रनको दोस्रो संस्करण गर्न लागिएको थियो।
‘सयौँ व्यवसायिक धावकहरुले अनलाईन फर्म भर्नुभएको छ, धेरै ठाउँबाट आयोजनासम्बन्धि जिज्ञासा आइरहेको छ। यस्तो बेला स्थगित गर्नुपर्दा हामी दुःखी छौं।’ एम्सका नेपाल प्रतिनिधि तथा धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भने, ‘तर यो यसवर्षकै लागि रोकिएको होइन् । उपयुक्त मितिमा नाइट रन निरन्तरता दिनेछौं ।’
एम्सको पुर्णकालीन सदस्यताको मान्यतासँगै यसबर्षदेखि नेपालगन्ज १० नाइट रनको विजेतालाई थाइल्याण्डको पर्यटकीय सहर बाङ्सेनमा हुने विश्व स्तरीय सडक दौडमा सहभागी गराउने तयारी थियो।
यसले खेलाडीलाई बेग्लै उत्साह र उर्जा थपेको थियो । नाइट रन स्थगित गरे पनि आयोजक टिम असोज २८ गते हुने गौघाट ग्रीन रन र मंसिर ६ गते हुने धारा नेपालगन्ज म्याराथनको तयारीमा जुटिसकेको छ। साथै स्थानीय तहमा सरसफाइ एवं अन्य काममा पनि धारा नेपालगन्ज म्याराथनको टिम परिचालन हुनेछ।