शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेका छन्।
लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका श्रेष्ठलाई राखेप उपाध्यक्ष नियुक्त गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ।
श्रेष्ठले केही वर्षअघि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका थिए।
यसैबीच मन्त्रालयले विभिन्न खेल विधाको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले चार जना बोर्ड सदस्य पनि नियुक्त गरेको छ।
नियुक्त हुनेहरूमा टेबल टेनिस खेलाडी सिक्का सुवाल, पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचन, बुद्धिचाल खेलाडी मोनालिसा खुम्बु तथा फुटबल खेलाडी पवन शाही रहेका छन्।
मन्त्रालयको यो निर्णयलाई खेलकुद प्रशासनमा अनुभवी खेलाडीहरूको सहभागिता बढाउने प्रयास भनेको छ।
नवनियुक्त पदाधिकारीहरूले नेपाली खेलकुदको विकास, व्यवस्थापन र नीतिगत सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको पनि मन्त्रालयले जनाएको छ।