जापानको आइची-नागोयामा हुने २०औं एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १ सय ३६ खेलाडीले सहभागिता जनाउने भएका छन्।
८० पुरुष र ५६ महिला गरी १ सय ३६ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले छन्। प्रशिक्षक संख्या ३२ रहेको छ।
नेपालबाट आर्चरीमा १/१ पुरुष/महिला, एथलेटिक्समा ४ पुरुष र २ महिला, ब्याडमिन्टनमा २/२ पुरुष/महिला, बक्सिङमा ४ पुरुष र ३ महिला, क्यानोइ स्लालममा २ पुरुष, पुरुष क्रिकेट १५, साइक्लिङमा १–१ पुरुष/महिला तथा डान्स एन्ड स्पोर्ट्समा १ पुरुष खेलाडी सहभागी हुने छन् ।
त्यस्तै गल्फमा ३ पुरुष र १ महिला, जुडोमा ३/३ पुरुष/महिला, कबड्डीमा १२–१२ पुरुष/महिला, करातेमा ३ पुरुष र ५ महिला, स्केटबोर्डमा २ पुरुष, सफ्ट टेनिसमा ३ पुरुष र १ महिला, स्क्वासमा १/१ पुरुष/महिला, पौडीमा ३ पुरुष र २ महिला, टेबलटेनिसमा ३/३ पुरुष/महिला, तेक्वान्दोमा २ पुरुष, टेनिसमा ३ पुरुष र २ महिला, महिला भलिबलमा १२, कुस्तीमा ४ पुरुष र २ महिला तथा उसुमा ८ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
चीनको हाङझावमा भएको १९ औं एसियाडमा नेपालबाट २९ खेलमा २ सय ५३ खेलाडी सहभागी भएका थिए । १ सय २६ पुरुष र १ सय २७ महिला खेलाडीले भाग लिए ।
हाङझाव एसियाडमा नेपालले समान १–१ रजत र कांस्य पदक जितेको थियो ।
ऐतिहासिक पदक जित्ने क्रममा करातेकी एरिका गुरुङले रजत तथा महिला कबड्डी टोलीले कांस्य जितेको थिए । एसियाडमा दुवैको पहिलो सहभागिता थियो। २० औं एसियाड असोज ३ गतेदेखि सुरु हुँदैछ ।