अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा– २०२६ मा पहिलो भएका छन्। अल्ट्रा ट्रेल्स नेपालको आयोजना भएको ट्रेलमा एक्सटेपबाट खेलेका अर्जुन पुरुष तथा महिलमा मन्जु पहिलो भएका हुन्।
अर्जुनले ३३ लुप पूरा गरी शीर्ष स्थानमा रहँदै नयाँ कोर्स रेकर्ड पनि कायम गरे । यसअघि ३२ लुपको कोर्स रेकर्ड हेमन्त राणाको नाममा थियो।
मन्जुले पनि कोर्स रेकर्ड कायम गर्ने क्रममा १४ लुप पूरा गरिन्। यसअघि १२ लुपको कोर्स रेकर्ड रहेको थियो। शीर्ष स्थानमा रहने दुवैले जनही ३० हजार नगद पुरस्कार हात पारे । दोश्रोदेखि दसौं स्थानमा रहनेलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो।
सहभागीले १ लुपमा ६.७ किलोमिटर दूरी १ घण्टाको समयमा तय गर्नु पर्ने थियो । त्यसो गर्न नसक्ने खेलाडी सीधै प्रतियोगिताबाट बाहिरिने नियम थियो।
प्रतियोगिता निर्देशक दिवाकर बुढाले यस खालको प्रतियोगिताले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गरे।
आयोजकका अनुसार प्रतियोगतामा नेपाल, फ्रान्स, अमेरिका, डेनमार्क, नर्वे, स्विट्जरल्यान्डलगायत राष्ट्रबाट ६५ प्रतिस्पर्धी सहभागी थिए । दौड चन्द्रागिरी नगरपालिकाको मत्छेगाउँबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः त्यही आएर टुंगिएको थियो।
ब्याक यार्ड अल्ट्राको विश्व च्याम्पियनसिप सन् २०२६ को अक्टोबर १७ तारिख पोखरामा हुने आयोजकले जनाएको छ ।