बौद्ध इन्टरनेसनल स्कुलको आयोजनामा नवौं बिआईबी बास्केटबल प्रतियोगिताको सोमबार विद्यालयकै प्राङ्गणमा उद्घाटन गरिएको छ।
विभिन्न विशिष्ट अतिथिहरू, सहभागी टोलीहरू, प्रशिक्षक र खेलाडीहरूको उपस्थितिमा प्रतियोगिताको औपचारिक सुरुवात भएको हो।
प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ प्रमुख अतिथिको रूपमा गरेका थिए। कार्यक्रममा नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिं गुरुङ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
यस वर्ष प्रतियोगिताको दायरा फराकिलो बनाउँदै विद्यालय तहका साथै प्लस टु (+२) र कलेज स्तरका टोलीहरूलाई पनि समावेश गरिएको छ। प्रतियोगितामा जम्मा ४७ टोलीले सहभागिता जनाएका छन्, जसमा विद्यालय तहका ३२ र प्लस टु/कलेज तहका १५ टोलीहरू रहेका छन्।
उद्घाटनको दिन चारवटा रोमाञ्चक खेलहरू सम्पन्न भए:
• पहिलो खेल (छात्र): एम्बेसडरले आयोजक बौद्ध इन्टरनेसनल स्कुललाई ४०–३० को स्कोरले पराजित गर्यो।
• दोस्रो खेल (छात्रा): चाँदबागले लर्ड्स लाइट एकेडेमीमाथि ३१–१३ को सहज जित निकाल्यो।
• तेस्रो खेल (छात्र): मातृभूमिले निस्टलाई ७१–४१ को फराकिलो अन्तरले हरायो।
• चौथो खेल (छात्रा): चेल्सीले मातृभूमिलाई २३–१४ ले पराजित गर्यो।