मगर संघ यूकेको आयोजनामा बेलायतस्थित मेडेनहेडमा आयोजित प्रथम शहिद लखन थापा मगर मेमोरियल गल्फ टुर्नामेन्ट २०२६ को उपाधि वेस्ट लन्डन गोर्खा गल्फ सोसाइटीले जितेको छ ।
बर्ड हिल्स गल्फ सेन्टरमा भएको प्रतिस्पर्धामा इन्टेक ९६ उपविजेता बनेको छ । १३८ जना व्यक्तिगत खेलाडी र २२ वटा टिमको उत्साहजनक सहभागिता रहेको उक्त प्रतियोगिताले बेलायतस्थित नेपाली समुदायमा खेलकुद, एकता, मित्रता र आपसी सद्भावलाई थप सुदृढ बनाएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको टिम विधामा विजेता बनेको वेस्ट लन्डन गोर्खा गल्फ सोसाइटीले प्रतिष्ठित लखन थापा मगर शिल्डसहित ५०० पाउन्ड नगद पुरस्कार प्राप्त ग¥यो भने उपविजेता इन्टेक ९६ ले ट्रफीसहित २५० पाउन्ड हात पार्यो।
व्यक्तिगत स्पर्धाको ग्रसतर्फ गजेन्द्र गुरुङ विजेता र संजीव राई उपविजेता बने । यस्तै, नेट विधातर्फ सोम थुलुङ्ग विजेता तथा क्याप्टेन तम ढेगा उपविजेता घोषित भए । दुवै विधाका विजेताहरूले जनही २५० पाउन्ड नगद पुरस्कार प्राप्त गरेका छन् । ५५ वर्षमाथिको उमेर समूहमा नारायण गुरुङ प्रथम र चीन थापा एमभीओ दोस्रो भए ।
नोभल्टी विधातर्फ एनटीपी पुरष्कार प्रकाश गुरुङ्ग, एनटीपी थर्ड रमेश राई, सिनियर्सतर्फको लङ्गेस्ट ड्राइभ (एलडी) प्रदीप राई तथा ओपनतर्फ वरेन लिम्बुले जितेका छन् । प्रतियोगिताका पुरस्कारहरू मगर संघ यूके, क्याप्टेन ताम बहादुर ढेंगा र ए स्टार फाइनान्सियल सलुशन्स युकेले प्रायोजन गरेका थिए । सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै ए स्टार फाइनान्सियल सलुशन्सले सफल आयोजनाका लागि संघलाई बधाई दिएको छ ।
खेलपश्चात् अल्डरशटस्थित ठमेल रेस्टुरेन्ट एन्ड बारमा पुरस्कार वितरण तथा रात्रिभोज आयोजना गरिएको थियो । मगर संघ यूकेका अध्यक्ष लाल बहादुर पुन (लालु) को अध्यक्षतामा सम्पन्न उक्त समारोहमा कार्यक्रम संयोजक क्याप्टेन ताम बहादुर ढेंगाले स्वागत र देव राना मगरले कार्यक्रम सञ्चालन गरेका थिए । सो अवसरमा नेपालबाट आएका चर्चित कलाकारहरू निता थापा मगर, सरिश्मा राम्जाली मगर, बिमला घर्ती मगर र कामना ओलीसहितका स्रष्टाले सांस्कृतिक प्रस्तुति दिएका थिए । अध्यक्ष पुनले खेलाडीहरूको व्यापक सहभागिताले प्रतियोगितालाई प्रतिस्पर्धी बनाएको भन्दै सबै सहयोगी, प्रायोजक र सदस्यहरूप्रति आभार व्यक्त गरे ।