जापानमा हुने २० औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टेनिस टोली बिहीबार भारतको बैंगलुरु जाने भएको छ।
खेलाडीमा प्रदीप खड्का, निसान श्रेष्ठ र स्वस्तिका विष्ट रहेका छन्। प्रशिक्षकमा रेणुदेवी कोण्डा छिन्।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपका सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुललगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे।
खेलाडीले बैंगलुरुस्थित रोहन बोपना टेनिस एकेडेमीमा प्रशिक्षण गर्ने छन्। टोली सेप्टेम्बर ८ तारिख स्वदेश फर्किने छ।
२० औं एसियाडकै लागि छनोट भएका अभिषेक बाँस्तोला र शिभाली गुरुङ स्वदेश बाहिर प्रशिक्षणरत रहेको नेपाल टेनिस संघले जनाएको छ।