विगत दुई-तीन महिनादेखि मोरक्कोमा हराइरहेका भनिएका बेलायती एथलेटिक्स प्रशिक्षक लियोन बाप्टिस्ट वास्तवमा त्यहाँको जेलमा रहेको खुलासा भएको छ।
४१ वर्षीय बाप्टिस्टलाई एक नाबालिकमाथि यौन दुर्व्यवहार गरेको आरोपमा मोरक्कोको अदालतले जेल सजाय सुनाएको बीबीसीले पुष्टि गरेको छ।
२०१० को कमनवेल्थ गेम्सका स्वर्ण पदक विजेता बाप्टिस्ट गत मे महिनामा साथीहरूसँग मोरक्को भ्रमणमा गएका थिए। त्यसपछि उनी एकाएक सम्पर्कविहीन भए।
उनीसँग प्रशिक्षण लिइरहेका ओलम्पिक पदक विजेता चार्ली डोब्सन लगायतका खेलाडीहरू र बेलायती एथलेटिक्सका अधिकारीहरूले उनी हराएको भन्दै चिन्ता व्यक्त गरेका थिए। उनी नहुँदा खेलाडीहरूको खेल प्रदर्शनमा समेत असर परेको थियो।
सुरुमा उनी हराएको भनिए तापनि बीबीसीको अनुसन्धानले अर्कै तथ्य बाहिर ल्याएको हो। मोरक्कोको न्याय मन्त्रालयका अनुसार बाप्टिस्टलाई मे महिनामै माराकेचपक्राउ गरिएको थियो।
उनलाई नाबालिकमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहर गर्दै सुरुमा १० महिनाको जेल सजाय सुनाइएको थियो, जसलाई पछि पुनरावेदनमार्फत घटाएर ८ महिना बनाइएको छ। उनी हाल माराकेचको अल-ओदाया जेलमा सजाय काटिरहेका छन्।
बाप्टिस्टले मे महिनामा आफ्ना खेलाडीलाई 'केही समय प्रशिक्षणमा नआउने' भन्दै एउटा छोटो सन्देश पठाएका थिए, तर कारण खुलाएका थिएनन्। हालै मात्र उनले जेलबाटै इमेल पठाउँदै आफ्नो स्वास्थ्य खराब भएको बहाना बनाएर प्रशिक्षक पदबाट राजीनामा दिएका छन्।
मोरक्कोका अधिकारीहरूले भने उनी पूर्ण रूपमा स्वस्थ रहेको र कानुनी प्रक्रियाअनुसार जेलमा रहेको स्पष्ट पारेका छन्।
बेलायती विदेश मन्त्रालयले पनि मोरक्कोमा हिरासतमा रहेका आफ्ना नागरिकलाई सहयोग गरिरहेको र त्यहाँका अधिकारीहरूसँग सम्पर्कमा रहेको जनाएको छ। बाप्टिस्टको अनुपस्थितिमा अन्य प्रशिक्षकहरूले खेलाडीहरूलाई सहयोग गरिरहेका छन्।