आइची–नागोया एसियन गेम्स २०२६ मा नेपालका लागि कास्य पदक जितेका कराते खेलाडी तेन्जिङ शेर्पाले सरकारले उपलब्ध गराएको पुरस्कार रकमप्रति असन्तुष्टि जनाएका छन्।
आफूले अपेक्षा गरेभन्दा कम पुरस्कार पाएको भन्दै उनले एउटै प्रतियोगितामा देशका लागि पदक जित्ने खेलाडीबीच पुरस्कार वितरणमा फरक व्यवहार हुनुको कारण खोजेका छन्।
सरकारले राष्ट्रिय खेलकुद विकास नियमावलीअनुसार तेन्जिङलाई ६ लाख ५० हजार रुपैयाँ पुरस्कार उपलब्ध गराएको छ। तर, पुरस्कार रकम खातामा जम्मा भएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन्।
तेन्जिङका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट चरण पार गरेर सहभागी हुने खेलाडीले पूरा पुरस्कार पाउने र छनोट चरण नखेली सहभागी हुने खेलाडीले आधा रकम मात्र पाउने व्यवस्था छ।
तर, अन्तर्राष्ट्रिय छनोट प्रतियोगिता नै नहुने खेलका खेलाडीलाई यस्तो व्यवस्थाले अन्यायमा पार्न सक्ने उनको प्रश्न छ।
‘मैले नेपालमा भएको छनोट प्रक्रिया पूरा गरेर देशको प्रतिनिधित्व गरेको हुँ। देशका लागि खेल्दा हाम्रो मेहनत, त्याग र जितको मूल्य किन फरक हुनुपर्छ,’ उनले प्रश्न गरेका छन्।
उनले आफूले पैसाका लागि मात्रै आवाज नउठाएको स्पष्ट पारेका छन्। भविष्यमा अन्य खेलाडीले पनि यस्तै अवस्था भोग्न नपरोस् भन्ने आफ्नो चाहना रहेको उनको भनाइ छ। पुरस्कार रकममा कर कटौती भएपछि हात पर्ने रकम अझै कम हुने भन्दै उनले पदक विजेता खेलाडीको उपलब्धिको उचित मूल्याङ्कन हुनुपर्नेमा जोड दिएका छन्।
‘मलाई सुरुमै भनिएको भए पनि हुन्थ्यो– तेन्जिङ, तिमी एसियन गेम्समा देशको प्रतिनिधित्व त गर्दै छौ, तर तिमी बी ग्रेडको खेलाडी हुनेछौ,’ उनले लेखेका छन्।
तेन्जिङले आफू कुनै वाइल्ड कार्डमार्फत वा छनोटबिनै एसियाली खेलकुदमा सहभागी नभएको उल्लेख गरेका छन्। नेपालमै भएको छनोट प्रक्रिया पूरा गरेर प्रतियोगितामा सहभागी भएको अवस्थामा पुरस्कार निर्धारण गर्दा खेलाडीको मेहनत र उपलब्धिलाई फरक ढंगले हेर्नु कति न्यायोचित हो भन्ने उनको प्रश्न छ।
उनले राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय र नेपाल सरकारलाई पुरस्कारसम्बन्धी व्यवस्थाबारे गम्भीरतापूर्वक पुनर्विचार गर्न आग्रह गरेका छन्। पुरस्कार रकम छिटो उपलब्ध गराउनु सकारात्मक भए पनि त्यसअघि नियमले सबै खेलाडीलाई न्याय गरेको छ कि छैन भन्ने विषयमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
देशका लागि अझ ठूला पदक जित्ने र दोहोरो अंकमा स्वर्ण पदक ल्याउने सपना रहेको उल्लेख गर्दै तेन्जिङले पदकको सम्मान र उचित मूल्याङ्कनका लागि समेत आवाज उठाउनुपर्ने अवस्था दुःखद भएको बताएका छन्।
‘हामीले देशका लागि पदक जित्दा गर्व महसुस गरेका थियौँ। आज त्यही पदकको सम्मान र मूल्याङ्कनबारे प्रश्न गर्नुपर्दा मन अलि खिन्न भएको छ,’ उनले लेखेका छन्।
उनले आफ्नो बुझाइमा कुनै त्रुटि भए सम्बन्धित निकायले स्पष्ट पारिदिन आग्रहसमेत गरेका छन्। आफ्नो भनाइ कसैप्रति आरोप नभई खेलाडीका रूपमा मनमा उठेका प्रश्न मात्र भएको उनको स्पष्टोक्ति छ।
तेन्जिङको असन्तुष्टिले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीको पुरस्कार निर्धारणमा छनोट प्रक्रियाको भूमिकाबारे प्रश्न उठाएको छ।
अन्तर्राष्ट्रिय छनोट प्रतियोगिता नै नहुने खेलका खेलाडीको हकमा पुरस्कारसम्बन्धी व्यवस्था कसरी लागू हुन्छ र त्यसले सबै खेलाडीलाई समान अवसर तथा न्याय सुनिश्चित गर्छ कि गर्दैन भन्ने विषयमा सम्बन्धित निकायको स्पष्टता आवश्यक देखिएको छ।