मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकाल मंसिर १२ गते शनिवार नेपालगन्जमा दौडिने भएकी छिन्।
धारा नेपालगन्ज म्याराथनको १२औं संस्करणमा परोपकारी कार्यका लागि आर्थिक सहयोग जुटाउन उनी दौडिन लागेकी हुन्।
तेक्वान्दो खेलाडी उनी स्वयं म्याराथन धाविका समेत हुन्।
विश्व प्रतिष्ठित स्ट्यान्डर्ड चाटर्ड हङकङ म्याराथनको अनुभव उनीसँग छ । नेपालगन्ज म्याराथनमा कति किलोमिटर दौडिने बिषयमा भने उनले चाँडै जानकारी गराउने बताएकी छिन् । नेपालका कुनै पनि म्याराथनमा मिस नेपाल दौडिन लागेको यो सम्भवतः पहिलोपटक हो ।
यद्यपी विद्यार्थी, युवा र समाजलाई प्रेरित गर्न मिस नेपाल हरेक वर्ष नेपालगन्ज म्याराथनमा आमन्त्रित हुने गरेका छन् । स्वस्थ समाज निर्माण गर्ने जागरण अभियानमा नेपालगन्ज म्याराथन र द हिडेन ट्रेजरबीच मिस नेपाल वल्र्ड स्वतः नेपालगन्ज म्याराथनको सदभावना दुत हुने समझदारी छ ।
गत वर्ष पनि मिस नेपाल वल्र्ड २०२५ लुना लुँइटेल र मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधानले अनौपचारिक रुपमा पाँच किलोमिटर दौड पुरा गरेका थिए । यसवर्ष स्वयं मिस नेपाल वल्र्ड दीपमालाले परोपकारी कार्यका लागि आर्थिक सहयोग जुटाउन दौडिन तयार भएकी हुन् ।
स्थानीय बीपी चोकबाट सुरु हुने म्याराथनअन्तर्गत ४२ किलोमिटर पुरुष खुल्ला, २१ किलोमिटर महिला खुल्ला, १० किलोमिटर पुरुष खुल्ला, १० किलोमिटर महिला खुल्ला, ५ किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुल स्तरीय छात्र छात्रा दौड, ३ किमी कर्पोरेट रन, ३ किमी किड्स रन, ३ किमी ह्वीलचेयर रन, २ किमी फेमिली रन र ३ किमी रन फर अल गरेर १२ विधा समावेश गरिएको छ।