आकाशमा उड्छु भन्ने सोच बनाउने वैज्ञानिक पहिलोचोटि धुरीबाटै खसेका थिए। तै पनि मान्छेले हावामा उड्ने सपना मारेनन्। र त संसारमा हवाइजहाज बन्यो।
जेसुकै भन्नुहोस्, जीवनमा ठक्कर खानेहरूले नै इतिहास लेख्छन्।
नोर्देनहरूको सपना पनि उस्तै त थियो नि! र नै पटकपटक ठक्कर खाइरहेका थिए। पटकपटक धुरीबाट खसिरहेका थिए। तर पनि एउटा सपना थियो, जसले फेरि उठ्न लगाउँथ्यो र हिँड्न सिकाउँथ्यो।
'राति पाँच ओटा घर जलाएछ। जुन घरमा मान्छे भेट्दैन, त्यो घर नि जलाउँदै छ हरे,' हैरान सूर्यले बिहानै नोर्देनतिर फर्किएर सुनाए, 'अब जसलाई भेट्छ, सिधा सुट गर्छ अरे। झन् डेन्जर हुने भो है, केटा हो। पुलिसले सन्धि छाप्ने प्रेस पनि पत्तो लगाएको छरे। त्यो पनि आज जल्छ भन्दै छ!'
सन्धि छाप्ने प्रेस?
नोर्देनको आँखा एक क्षण चिम्म भए। कान तातिएर आयो। दिमागमा अचानक रिपपन्दी चिच्याउन थाली। त्यो त्यही प्रेस त थियो, जहाँ उसले पहिलोचोटि रिपपन्दीलाई भेटेको थियो।
नासिमसँग पोस्टर टाँस्न निस्कनुभन्दा हप्ता दिनअघिको कुरा हो। राजु सरले पहिलोचोटि उसलाई प्रेस पठाएका थिए।
भारत–नेपाल सन्धि जलाउने घोषणा भएको थियो। जलाउनुअघि त्यसलाई छपाउनु थियो। त्यसैका निम्ति नोर्देन प्रेस पुगेको थियो।
'धारा ७ जलाउनुपर्छ,' अर्डर माथिबाट आएको थियो।
आखिर धारा ७ मा के छ त? त्यो उसको सरोकारको कुरो थिएन। त्यसैले केही सोचेन पनि। ऊ खासमा पढ्न होइन, जलाउन केही छपाउँदै थियो।
धारा ७ छापिँदै गर्दा हो, रिपपन्दी र ऊबीच मनको सन्धि भएको।
रिपपन्दी त्यहीँ काम गर्थी। ऊ पुरानो टाइपराइटरमा जहिल्यै अक्षर हिर्काइरहेकी हुन्थी। नोर्देन उसैलाई हेर्थ्यो। हेरिरहन्थ्यो।
'कसैलाई अमर प्रेम गर्नु छ भने मनमनै गर्नुहोस्। छुन नपाइएको सपना र बोल्न नपाइएको प्रेम कहिल्यै मर्दैन।'
उहिल्यै नै कतै सुनेको यही लाइन थियो, जसले उसलाई एक हप्ता रोकेर राखेको थियो। किनकि ऊ रिपपन्दीलाई अमर प्रेम गर्न चाहन्थ्यो। तर गर्ने के? हप्ता दिनपछि उसले आफैंलाई सम्हाल्न सकेन।
प्रेम पखेटा भएको प्राणी हो। कहिले भुर्रर उड्छ, पत्तो पाइन्न।
उस्तै त भो नि! नोर्देनको प्रेममा अचानक प्वाँख पलायो। कुदेर ओठमा आयो। त्यसपछि नै त हो, हल्का खुट्टा कँपाउँदै उसले रिपपन्दीलाई सुनाएको, 'म तिमीसँग बिहे गर्न चाहन्छु।'
त्यो दिन रिपपन्दी रगताम्मे भई। कोत्रा परिसकेका टाइपराइटरमाथि जोडले औंला ठटाई। उसको नजरमा आज जम्मै अक्षर राता भएका थिए।
अनि त के चाहिन्थ्यो?
नोर्देनले पढेको केही अक्षर बल्ल काम लाग्यो। उसले हल्का छुराले हात काट्यो र पुरानो अक्षर सम्झिँदै कम्पनसँग रगतले लेखिदियो, 'एन प्लस आर।'
त्यो दिन बल्ल नोर्देनले बुझ्यो, अक्षरको तागत कत्रो हुँदो रहेछ भनेर।
लेखेपछि ऊ सन्चो बन्यो। साह्रै सन्चो बन्यो।
उसले ती प्रिय अक्षरलाई झोलामा बोकेर तीन दिन हिँड्यो र चौथो दिन रिपपन्दीको टाइपराइटरमुनि घुसारिदियो।
त्यसको कति पछि हो, उता पुरानो सन्धि जल्यो, यता नयाँ सन्धि बन्यो। नोर्देन र रिपपन्दीको नामको पहिलो अक्षरको कथा लेखियो।
लौ! आज त्यही प्रेस त जल्दै थियो।
प्रेस जल्नु र प्रेम जल्नुमा केही फरक थिएन। नोर्देनको अनुहार कच्याककुचुक भयो। रिपपन्दी कहाँ होली? उसको दिमागमा अर्को आगो जल्यो।
'रिपपन्दीलाई नभेटेको आज ठ्याक्कै आठ महिना भएछ। आज भेट्छु। अन्तिमचोटि भए पनि होस्, केही छैन। भेटेरै मर्छु,' नोर्देनले भावुक हुँदै सोच्यो।
'प्रेसका सामान त झिक्नुपर्छ नि,' नोर्देनले विस्तारै सूर्यलाई हेर्यो र भन्यो, 'दिउँसो त जान सकिँदैन होला। बेलुकाचैं खाकीभन्दा पहिले हामी पुग्नुपर्छ।'
सूर्य दाले केही बुझेनन्। तर पनि टाउको हल्लाइदिए। उनको अनुहारमा हल्का बादल छाएको थियो। त्यो डर आगोको थियो। रापको थियो। खाकीको थियो।
दिन उत्तिकै बिते।
क्याम्पमा मान्छेको ओहोरदोहोर घटेको थिएन। केटाहरू प्रिमताम रोडतिर हिँड्न तयार भए। प्रेस त्यहीँ थियो।
नोर्देन उत्साहित थियो। अलिकति भावुक पनि। ऊ अलिकति आँटी भएको थियो त अलिकति डरपोक पनि!
नासिम हँसिलो देखिन्थ्यो। आँखा बलेका थिए। उसलाई कति दिनपछि घरको याद आएछ। भन्यो, 'जौं हाम्रो घर पनि, एकचोटि हेरिराखौं।'
सडकमा सिआरपिएफको गस्ती रहेछ। ठाउँ सुनसान थियो। जति ओटा घर भेटिन्थे, रित्ता देखन्थे। लाग्थ्यो, त्यो घर होइन; इँट, बालुवा र सिमेन्टको थुप्रो मात्रै हो।
कत्रो समयपछि उनीहरूको बजारको बाटो हिँडाइ भयो। पहिले नोर्देनको कोठा पुगे। भित्तामा कोरिएका नक्साहरू मेटिइसकेका थिए। भगवान् गणेशको सुँड मात्रै पूर्वतिर घुमिरहेको थियो।
नोर्देनले घरतिर हेर्यो। त्यहाँ एउटी बोजु पानी भर्दै थिइन्। उसलाई देख्नासाथ इसारा गरिन्। नोर्देन त्यतै लाग्यो।
'आज पनि स्यार्पी आ’को थियो। तेरो र राजु सरको नाम सोध्दै थियो, 'बोजुले कुनामा छलिँदै यताउता हेरिन् अनि फेरि भनिन्, 'यहाँ मरदहरु एउटै छैनन्। भागिहाल्नू तिमेरू पनि। फेरि सुट गर्छ मुर्दाहरुले देख्यो भने।'
नासिमको मुटु उफ्रियो। सूर्यको अनुहार पहेंलो भयो। नोर्देनले लामो सास तान्यो र गल्लीबाट उक्लिने पुरानो बाटोतिर औंला देखायो।
तीन भाइ गल्ली भएर उकालो लागेर अलिमाथि डाँडामा निस्किए। नासिमले मनमनै अल्लाहको नाम लियो र घरतिर टाउको फर्कायो।
हँ, के देख्नुपर्यो नि यो?
त्यहाँ त घर थिएन। निभ्न लागेको आगोको धुवाँ मात्रै थियो। घर त हिजो राति नै जलिसकेको रहेछ।
नासिमको अनुहार धुवाँले भरियो। उसका आँखा टिलपिल भए। सूर्यले नासिमको काँधमा हात राखे र लामो सुस्केरा ताने।
नोर्देन चुपचाप उभिइरह्यो।
घर जल्नु भनेको काठको टुक्रा जल्नु होइन, ढुङ्गा र माटो बल्नु होइन। संसार जल्नु हो। भरोसा जल्नु हो। विश्वास जल्नु हो। सपना जल्नु हो। सम्भावना जल्नु हो। आफैं जल्नु हो।
हो! आज नासिमको संसार जलिरहेको थियो।
'उफ्! यो घर मेरै कारणले जलेको हो,' नासिमले घुँडा टेक्यो। पश्चिमतिर फर्कियो र मनमनै भन्यो, 'मेरा अब्बा र अम्माको रक्षा गर्नुस्।'
ऊ विस्तारै उठ्यो र भन्यो, 'जौं, प्रेसचैं जोगाउनुपर्छ।'
नोर्देन छक्क पर्यो। आज नासिम अर्कअर्कै भएको थियो।
प्रेसतिर हिँड्न लागेका मात्रै थिए, कसैले बिजुलीको पोल ठटायो। यो सिआरपिएफ आएको सूचना थियो। तीन भाइ अलमल्ल परे। त्यही बेला आवाज आएतिर सबैका मुन्टा फर्किए। त्यहाँ राजु सर उभिएका थिए।
नोर्देनले छक्क परेर हेर्यो। राजु सर विस्तारै छेउमा आए। यतिको हतास उनलाई कहिल्यै देखिएको थिएन।
केही नबोली राजु सर सरासर आए। नोर्देनको कुममा हात राखेर भने, 'तिमीहरु प्रेसतिर नजानू। मैले केटाहरु पठाएको छु। तिमेरूलाई सिआरपिएफले देखेछ।'
उनी केही क्षण जहाँको त्यहीँ उभिए। आफैंलाई रोक्न सकेनन्, डाँको छाडेर रोए। त्यसपछि हिकहिक गर्दै सुनाए, 'हाम्रो घर जल्दै छ, नोर्देन। आगो झोसेछ। अब केही रहेन आफ्नो।'
नोर्देनको मुख उघ्रिएको उघ्रियै भयो। ऊसँग बोल्न शब्द थिएन, न दिनलाई कुनै सुझाव थियो।
'हँ?' निकै बेरपछि बल्ल नोर्देनको आवाज फुत्कियो।
उसका खुट्टा हल्का काँपिरहेकै थिए। आँखा तिरमिरतिरमिर हुँदै थिए।
उनीहरू सबै केही क्षण चुपचाप ओरालो हिँडिरहे। त्यसपछि सिधा क्याम्पतिर झरे।
क्याम्पमा पुगेको आधा घन्टापछि हो, केटाहरूले खबर ल्याए, 'त्यो प्रेस पनि जल्यो आजु।'
दोस्रो चोटि नोर्देन आज रोयो। सधैं हाँसिरहने त्यही ओठ हो, जो आज नराम्ररी बर्बराउन थाल्यो।
'एक दर्जन टाइपराइटर ल्याएका छौं। त्यतिचैं बचाउन सक्यौं,' एउटा केटाले भन्यो।
धन्न केटाहरूले यति गरिदिएछन्। सुनेर नोर्देन केही सन्चो बन्यो र स्वेटरको बाहुलाले आँखा पुछ्यो।
'रिपपन्दीको टाइपराइटरचैं मै राख्छु,' उसले मनमनै दोहोर्यायो।
त्यही थोत्रो टाइपराइटरमै त हो उसकी रिपपन्दीले प्रत्येक दिन अक्षर हिर्काउने। धन्न त्यो जल्न पाएनछ। नोर्देनका निम्ति खुसीको एउटै खबर त्यही थियो।
उसले झर्दै गरेको आँसु रोक्यो। हराएको ओठको मुस्कान खोज्ने कोसिस गर्यो र बिसेक भएको नक्कल गर्दै सरासर क्याम्पमा छिर्यो। अनि सोध्यो, 'खोइ प्रेसको टाइपराइटर?'
'नासिमले लिएर गयो,' होचो कद भएको जुँगेले भन्यो, 'नरेन सरको डेरामा होला।'
ऊ सरासर त्यतै लाग्यो।
'रिपपन्दीलाई त केही भएन होला नि?' उसको दिमाग फेरि घुम्न थाल्यो।
'के रिपपन्दीले देखेका हरेक सपना आज जले त?' कति दिनपछि हो, ऊ आज फेरि प्रेमिल बन्यो अनि काँप्दै नरेन सरको डेरामा स्वाट्ट पस्यो।
नोर्देनको अनुहार एकदम रातो थियो। उसको स्वेटरको मैलो बाहुलो घरी आँखामा पुग्थ्यो, घरि निधारमा। उसले लामो सास तान्यो। त्यसपछि नासिमलाई बोलाएर भन्यो, 'त्यो टाइपराइटर मलाई दे ता। रिपपन्दीको हो। म राखिदिन्छु।'
'टाइपराइटर?' नासिम कालो भयो र विस्तारै भन्यो, 'त्यो त अघि फुटाइसक्यो त। छर्रा बनाउन। गोली हुन्छ रे अक्षरको।'
नोर्देन अकमक्क पर्यो र मनमनै दोहोर्यायो, 'अक्षरको गोली?'
कोठामा ह्वात्तै शून्यता बढ्यो। नासिमलाई के गरुँ, के नगरुँ हुँदै थियो।
'त्यो गोली लिएर आइज ता,' नरेन सरकोबाट हुकुम आयो, 'आजै राति काउन्टर एटेक्ट गर्नुपर्छ।'
नासिमले विस्तारै खोक्यो। बोराको पछिबाट पुरानो झोला निकाल्यो। र एक झोला अक्षर टिपेर बाहिर निस्कियो।
नोर्देनलाई के थाहा, आखिर त्यो एन प्लस आरले अब कसको ज्यान लिने हो?
(शुक्रबार सार्वजनिक भएको छुदेन काविमो उपन्यास 'फातसुङ' को अंश)