७२ औं 'कान फिल्म फेस्टिभल'मा अभिनेत्री प्रियंका कार्की सहभागी भइन्। नेपालबाट पहिलो पटक कानमा पुग्ने खबरले उनलाई बधाइ र शुभकामनाको ओइरो लाग्यो। तर फ्रान्स पुगेलगत्तै प्रियंकाले लगाएको पहिरनदेखि फोटो सुटसम्मको नकारात्मक चर्चा भयो।
यसै सन्दर्भमा सेतोपाटी संवाददाता निशा भण्डारीले प्रियंकासँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
कानमा कसरी जानुभयो? कस्तो रह्यो अनुभव?
मलाई ‘एड्भेन्चर्स अफ ह्युम्यानिटी’ नामक गैरसरकारी संस्थाका तर्फबाट कानमा निम्तो आएको थियो। संस्थाका इन्चार्ज रिचार्ड नेल्सनले मलाई व्यक्तिगत रुपमै ‘वर्ल्ड पिस नाइट’का लागि नेपालको प्रतिनिधिका रुपमा निमन्त्रणा गरेका थिए।
निमन्त्रणा कार्ड आइसक्दा पनि मलाई विश्वास नै थिएन। फ्रान्सका लागि भिसा आएको दिन मात्रै साँच्चै आफू सहभागी हुन लागेको महशुस गरेँ। हातमा भिसा र अन्य कागजात बोकेर एअरपोर्ट जाँदा भने शरीरमा काँडा उम्रेर सिरिङ्ग भइरहेको थियो।
म पहिलोपटक यस्तो ठूलो कार्यक्रममा सहभागी हुँदै थिएँ। एकदमै उत्साहित र खुसी अनुभूति भइरहेको थियो। र, यो कान समारोहको उपस्थितिले मलाई थप आत्मविश्वास दियो।
कान समारोहमा तपाईंको फोटो खिच्ने तरिकादेखि पहिरन डिजाइन समेत 'चोरेको' भनियो नि?
यी कुराले मलाई असर गर्दैनन्। उस्तै लुगा हुनु ठूलो कुरा होइन। विदेशमा पनि यस्तो चलन छ। 'स्ट्रेट आउट फ्रम रनवे' भनेर मोडलले लगाउँदै गरेका लुगा हलिउड-बलिउडका कलाकारले लगाएको देखिन्छ। कसैको सिर्जना मनपराएर लगाइन्छ भने यसमा केही आपत्ति हुँदैन। फोटो खिच्ने पोज मिल्दैमा चोरेको हुन्न।
कान भन्नेबित्तिकै धेरैले तपाईं ऐश्वर्या राय, दीपिका पादुकोण झैं रेडकार्पेटमा हिँड्नुहोला भन्ने सम्झेका थिए। तर तपाईं पैसा तिरेर पुगेको भन्ने आरोप लाग्यो।
म कानको टिकट किनेर गएको भन्ने सरासर झुटो हो। कानको अफिसियल साइटमा टिकट बुझ्दा सुरुमै ‘नो टिकट फर सेल’ भन्ने देखाउँछ। अनि मैले कसरी किनेँ होला? मानौं, टिकट ब्ल्याकमै बेचिन्छ। त्यो भए पनि त्यसको पैसा तिर्न म पक्कै सक्दिन थिएँ। कानसँग सम्बन्धित कसै न कसैको निम्तो बिना म आफैं त्यहाँ जानै सक्दिन थिएँ। एड्भेन्चर्स अफ ह्यूमानिटीले यो सम्भव बनाइदिएको हो।
मैले रेड कार्पेटमै हिँड्छु भनेर दावी त कतै गरेकी थिइनँ। म आफैंलाई पनि कहाँ के हुन्छ भनेर थाहा थिएन। अलमलमा थिएँ। कानमा विश्व प्रसिद्ध कलाकार र ब्रान्ड एम्ब्यासडर मुख्य आकर्षण हुने रहेछन्। सबै चर्चा र ध्यान उनीहरूमै हुन्छ। दीपिका पादुकोण र ऐश्वर्य राय त्यस्तै हुन्। म त्यो स्थानमा पुग्न सक्ने क्षमताको छुइनँ। मैले अहिल्यै त्यो आशा पनि गरेकी छैन।
झण्डै साढे चार हजार सिट क्षमता भएको हलभित्र छिर्ने प्रत्येकले 'सेलिब्रेटेड वक' पाउँदैनन्। यसका निम्ति आयोजक, प्रायोजक वा त्यहाँ छानिएका फिल्मसँगै सम्बन्धित हुनुपर्छ। वा एकदमै चर्चित सेलेब्रेटी। हामी नेपालीका लागि त्यो अझै धेरै परको कुरा हो। यही कुरा मैले मेरा आलोचकहरूलाई बुझाउन सकिनँ।
आलोचना मात्र सुन्दा बेकार गएछु भने जस्तो लाग्यो कि?
हैन, मलाई आलोचनाले केही असर गरेको छैन। बरू अझै अगाडि बढ्न प्रेरित गरेको छ। म एक कलाकार हुँ, आलोचना सुन्न सधैं सक्छु।