लेखक सञ्जीव उप्रेतीले पद्मश्री पुरस्कार नलिने घोषणा गरेका छन्। मोदनाथ प्रश्रितसँग एउटै मञ्चमा पुरस्कार ग्रहण नगर्ने निर्णय गरेका उप्रेतीले पुरस्कार लिने नलिनेबारे सोमबार औपचारिक निर्णय गरेका हुन्।
आइतबार खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले उप्रेतीको उपन्यास 'हंस'लाई २०७६ सालको पद्मश्री साहित्य पुरस्कार र 'पद्मश्री साधना सम्मान' साहित्यकार मोदनाथ प्रश्रितलाई दिने निर्णय सार्वजनिक गरेको थियो।
पुरस्कार घोषणालगत्तै सामाजिक सञ्जालमा मोदनाथ प्रश्रितलाई सम्मान गर्ने कुरा विवादित बनेपछि उप्रेतीले नैतिकताका आधारमा प्रश्रितसँग एउटै मञ्चमा पुरस्कार ग्रहण नगर्ने बताएका थिए।
पुरस्कार घोषणापछि यौनशोषणको आरोप लागेका प्रश्रितलाई सम्मान गर्ने निर्णयको सामाजिक सञ्जालमा तीव्र विरोध भएको छ। यसैबीच आइतबार प्रश्रितले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो चरित्र हत्या भएकोले पद्मश्री सम्मान नलिने बताइसकेका छन्।