अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा चलचित्र विकास बोर्ड र ब्रिटिस काउन्सिलको संयुक्त आयोजनामा पुराना दुई नेपाली फिल्म प्रदर्शन भएका छन्। सोमबार चलचित्र विकास बोर्डमा पहिलो नेपाली फिल्म ‘आमा’ र पहिलो नेपाली रंगीन फिल्म ‘कुमारी’ प्रदर्शन भएको हो।
वि.सं. २०२१ सालमा पहिलो पटक प्रदर्शनमा आएको ‘आमा’को मुख्य भूमिकामा भुवन चन्दको अभिनय छ। भुवनलाई नेपाली फिल्म क्षेत्रको पहिलो अभिनेत्री मानिन्छ। उनीसँगै फिल्ममा शिव शंकर, हरिप्रसाद रिमाल, बिमला कुमारीलगायत अभिनय छ। आमा ब्ल्याक एन्ड ह्वाइट फिल्म हो जसमा आमा शब्दले नेपाली भूमिलाई परिभाषित गरेको छ।
त्यस्तै नेपाली पहिलो रंगीन फिल्म ‘कुमारी’ प्रेमबहादुर बस्नेतले निर्देशन गरेका हुन्। वि.सं. २०३४ सालमा सार्वजनिक फिल्ममा चैत्यदेवी सिंह मुख्य भूमिकामा छिन्।
१०९ औं अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा बोर्डले नेपाली फिल्म क्षेत्रमा ऐतिहासिक महत्व बोकेका यी दुई फिल्म प्रदर्शन गरेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए।
कार्यक्रममा अभिनेत्री भुवन चन्द, चैत्यदेवी सिंह, रेखा थापा, संचिता लुइँटेल, अभिनेता सुनिल थापालगायत कलाकारको उपस्थिति थियो। कार्यक्रमबीच ‘सांस्कृतिक कलाकृतिका रूपमा चलचित्र’ तथा ‘चलचित्रमा महिलाको अवस्था’बारे अन्तर्क्रियात्मक छलफल भयो।
‘चलचित्रमा महिलाको अवस्थाः उहिले र अहिले’ विषयमा चलेको प्यानल छलफलमा अभिनेत्री भुवन चन्द र चैत्यदेवी सिंह थिए। भुवनले पहिले र अहिलेको फिल्म क्षेत्रमा देखेका परिवर्तनबारे विभिन्न विधामा औंल्याइन्। उनले अहिलेको फिल्ममा राम्रो कथा र विषयवस्तु ‘मिस’ हुने सन्दर्भ जोडिन्।
उनले भनिन्, ‘पहिले केही वर्षको अन्तरालमा फिल्म बन्थे। फिल्ममा विषयवस्तु हुन्थ्यो। तर अहिले बर्सेनि थुप्रै फिल्म बनिरहेका छन्। ती फिल्ममा राम्रो कथाको अभाव खट्किन्छ।’
त्यस्तै भुवनले एकताका नेपाली फिल्ममा बलिउड फिल्मको संवाद अनुवाद गरेको समेत पाएकी बताइन्। पारिश्रमिकको विषयलाई जोड्दै उनले महिला र पुरुष कलाकारलाई गर्ने विभेदबारे पनि बोलिन्। उनले भनिन्, ‘अहिले अभिनेता र अभिनेत्री भन्नेबित्तिकै छुट्टै जीवनस्तर राख्नुपर्छ भन्ने छ। तर केही वर्षअघि हामी पारिश्रमिकमा भन्दा काममा बढी ध्यान दिन्थ्यौं।’
‘कुमारी’ फिल्मकी अभिनेत्री चैत्यदेवी सिंहले पनि भुवनको कुरामा सहमति जनाइन्। उनले अहिलेको फिल्ममा बढी लगानी भए पनि गुणस्तरीय पटकथा कमी महशुस गरेको बताइन्। आफू जम्मा चार वर्षको उमेरदेखि स्टेज कार्यक्रम गर्दै अभिनेत्रीको भूमिकासम्म पुगेकी चैत्यदेवीका अनुसार अहिलेको पुस्तामा धैर्य र मिहिनेत तुलनात्मक रूपमा कम भएको छ। उनले अहिलेको पुस्तामा एक अर्काबीच आदर-सम्मान पनि नभएको हो कि भन्ने प्रश्न उठाइन्।

त्यस्तै ‘महिलाले महिलाको कथा सुनाउने’ सत्रमा निर्देशक तथा अभिनेत्री रेखा थापाले आफ्नो धारणा व्यक्त गरिन्। १६ वर्षको उमेरमा फिल्म क्षेत्र प्रवेश गरेकी रेखाले पहिलो दिनदेखि फिल्ममा महिलाको भूमिका परिवर्तन गरेर महिलाहका लागि फिल्म निर्माण गर्ने सपना देखेको बताइन्।
उनले महिलाहरूलाई फिल्ममा एक सजावटी, श्रृंगारिक र पुरुष पात्रको वरिपरि घुम्ने पात्रका रूपमा मात्र लिने विषयमा तर्क राखिन्।
‘फिल्ममा महिलालाई सधैं दमन गरियो। मुख्य पात्रमा पुरुष हुन्थे भने महिला उसको वरिपरि घुम्ने सहायक पात्रमा मात्र देखिन्थ्यो,’ रेखाले भनिन्, ‘महिलाहरू पनि मुख्य पात्रमा हुन सक्छन् भन्ने उदाहरणसँगै महिलाप्रतिको दृष्टिकोण फेर्नु मेरो सपना हो।’
झन्डै १५ वर्षदेखि रेखा यसैमा लागिपरेकी छिन्। प्रमुख पात्रमा महिलालाई राख्दै फिल्म निर्माण गर्दैछिन्।
रेखाले समाज परिवर्तनमा फिल्मको भूमिकाबारे भनिन्, ‘समाज परिवर्तनमा फिल्मले महत्वपूर्ण भूमिका खेलेको छ। कलाकारहरू राजदूत हुन् जसले समाज र देशलाई प्रतिनिधित्व गर्छन्। त्यसैले हामी जसरी प्रस्तुत हुन्छौं, त्यसैगरी हाम्रा दर्शकले पनि विषय बुझ्नुहुन्छ भन्ने लाग्छ।’