'कमेडी दरबार' टिमको फिल्म 'ककाकिकी' को छायांकन सुरू भएको छ। बिहीबार बिहान शुभमुहूर्त गर्दै निर्माण टिमले पर्वतको भूकदेउरालीबाट छायांकन थालेको हो।
३५ दिने तालिका तय गरिएको यस फिल्मका दृश्यहरू पहिलो २० दिन पर्वतको गाउँ परिवेशमा कैद गरिनेछन्। त्यसपछि बाँकी छायांकन काठमाडौंमा हुने फिल्मका निर्देशक विक्की अग्रवालले जानकारी दिए।
अहिले फिल्मका मुख्य कलाकारहरू छायांकन स्थलमा पुगिसकेका छन्। तृप्ती नाडकर, रेखा थापा, दिया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी र सुवर्ण थापा लगायतका कलाकारहरू पर्वतमा छन्। अभिनेत्री गौरी मल्ल केही दिनभित्रै छायांकनमा जोडिने फिल्मकी अर्की निर्देशक श्रद्धा प्रसाईंले बताइन्।
प्रसाईंका अनुसार आजैबाट छायांकन सुरू भएको हो। र, अन्य केही कलाकारहरू पनि बिचमा थपिनेछन्।
फिल्म 'ककाकिकी' चर्चित हास्य शो 'कमेडी दरबार' टिमले निर्माण गर्न लागेको हो। 'कमेडी दरबार' कै निर्देशकद्वय विक्की र श्रद्धाले यस फिल्मको निर्देशनको जिम्मा सम्हालेका छन्।
फिल्मको लेखन विक्कीसँगै विकास अर्याल र सरोज भण्डारीले गरेका हुन्। यसमा विक्कीकै स्क्रिनप्ले रहेको छ भने विश्वास तिम्सिना स्क्रिप्ट डक्टरको रूपमा संलग्न छन्। अनिश बुढाथोकी सहायक निर्देशनमा छन् भने सुदीप बरालले छायांकन (डिओपी) को जिम्मेवारी सम्हालेका छन्।
निर्माण टिमले यसअघि साउनको दोस्रो हप्तामा फिल्मको एक पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेको थियो। उक्त पोस्टरमा अभिनेत्री रेखा थापा, गौरी मल्ल, तृप्ती नाडकर र अभिनेता महेश त्रिपाठीलाई अनौठो अवतारमा देखाइएको थियो, जसले फिल्मको कथा रहस्यमय हुने संकेत दिएको थियो।