नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भदौ २३ र २४ को घटना छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई अस्वीकार गर्ने घोषणा गरेका छन्।
एमाले भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कार्कीले आयोगमा रहनुभन्दा अगाडि राखेका पूर्ववर्ती धारणा विवादमा परेको भन्दै त्यसको वैधतामाथि प्रश्न उठाएका हुन्।
उनले कार्कीले आफ्ना पूर्वअभिव्यक्ति विवादमा परेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने समेत धारणा राखे।
'मजाको छ..! पहिले नै केपी ओलीलाई समाउनुपर्छ, थुन्नुपर्छ, मुद्दा लगाउनुपर्छ भन्नेहरूको आयोग बनाएर गजबको ड्रामा (नाटक) गर्नुभएको छ। मजाको छ ड्रामा..!,' उनले भने, 'पहिले नै केपी ओली समाउनुपर्छ भन्ने आयोग बनाएर त्यसले छानबिन गरेर प्रतिवेदन दिएर अगाडि बढ्यौं भन्ने यस्ता नाटक एमालेलाई मञ्जुर छैन। स्वीकार्य छैन।'
उनले थप भने, मैले मसिनो भाषामा भनेको छु– यो मञ्जुर छैन भनेर बुझ्नुस्। नेकपालाई यो नक्कली आयोग मञ्जुर छैन। किन पनि भने उनीहरूका सम्बन्धमा गम्भीर प्रश्नहरू उठेका छन्। उनीहरूका पूर्ववर्ती अभिव्यक्तिहरू आयोगमा राखिनँ, बस्नभन्दा अगाडि बोलेका अभिव्यक्ति स–प्रमाण मानिसहरूले ल्याइसकेपछि उहाँहरूले नैतिकताका आधारमा राजीनामा दिनुपर्दैन थियो?'
अध्यक्ष ओलीले आफ्नो सम्पत्ति १० पटक छानबिन गर्न चुनौती दिए। तर वर्तमान सरकारका मन्त्रीहरू पनि आफ्नो सम्पत्ति छानबिनका लागि तयार हुनुपर्ने उनको भनाइ थियो।
'सम्पत्ति छानबिन गर्ने रे! एकपल्ट होइन दस पल्ट गर,' अध्यक्ष ओलीले भने, 'मन्त्रीजीहरू तपाईंहरूको सम्पत्ति छानबिन गरौं? आँट गर्नुहुन्छ? आफ्नै सम्पत्ति छानबिन गर्न? अहिले बनाएजस्तै आयोग बनाउन पाउनुभयो भने त गराउनुहोला!'
पञ्चायत, निरंकुश राजतन्त्र सबै देखेर आएकाले अहिलेको घटनाक्रम नौलो नलागेको ओलीको भनाइ छ।
'हामीले पञ्चायत देखेका छौं, निरंकुश राजतन्त्र देखेका छौं। अस्ति भर्खर राजा ज्ञानेन्द्रले गरेको कु देख्या छौं। सबै कुरा देख्या, जेलनेल कठिनाइहरू भोग्या हिसाबले हाम्रा लागि नयाँ कुरा होइन,' उनले भने।
उनले देशको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता रक्षाका लागि जुनसुकै बलिदान दिन तयार रहेको पनि बताए। र, नजिस्क्याउन चुनौती दिए।
'हामीले भनेका छौं– यो देशको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता र देशको हितको र स्वाभिमान रक्षाका लागि जुनसुकै बलिदान दिन तयार छौं। जिस्क्याउनु पर्दैन। देशका लागि लडेर यो ठाउँसम्म आइपुग्या हो, जिस्क्याइरहनु पर्दैन,' उनले भने, 'म कुनै चुनौतीको भाषा बोल्न चाहन्नँ। तर हामी जनताको शासन ल्याउँछौं, लोकतन्त्र ल्याउँछौं भनेर लडेका हौं। ल्याएका पनि हौं।'
कहिलेकहिले यस्तो हुँदो रहेछ, हुन्छ यस्तो भन्दै यसलाई सामान्य रूपमा लिन आग्रह गरे। अहिले देशको सार्वभौमसत्तामाथि हमला भइरहेको टिप्पणी पनि गरे।
'देशमाथि हमला छ, यो देशको सार्वभौमसत्तामाथि हमला छ, भौगोलिक अखण्डतामाथि हमला छ। भौगोलिक क्षेत्र, देश हितमाथि हमला छ। यो देश बलियो होला कि भनेर अर्थतन्त्रमाथि हमला भएको छ। यो षडयन्त्रका मतियार भएर को आउँछन्? त्यसको हामी सामना गर्छौं,' उनले भने।
उनले मौजुदा सरकार संविधान अन्तर्गत नबनेको पनि तर्क गरे। कुनै जनप्रतिनिधि संस्थाले अहिलेको सरकार नछानेको भन्दै अहिले सरकारमा भएकाहरू चुनिएर पनि आउन नसक्ने बताए।
'नेपालको जनसंख्या तीन करोड छ, देशभरि अस्ति आगजनी, तोडफोडमा उत्रिनेको संख्या कति होलान् भन्दा एक लाख?,' उनले भने, 'त्यति त, एक प्रतिशतको पनि एक तिहाइ मात्रै हुन्छ। बाँकी जनता देशमा छँदैछ। एक प्रतिशतको पनि होइन यो सरकार!,' उनले भने।
उनले जेनजीले तोडफोड र आगजनी नरहेको बताए।
जेनजी पुस्ताको आन्दोलन सुशासन, भ्रष्टाचार नियन्त्रणसँग सम्बन्धित रहेको भन्दै उनीहरूलाई अगाडि राखेर माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी पछाडि आन्दोलनमा सहभागी भएको बताए।
'जेन जीका नाममा यहाँ नेपालमा अस्थिरता कायम गर्न, नेपालमा शान्ति सुरक्षा बिथोल्न खोज्नेहरू, माअोवादीले भड्काउँछु भनेको थियो सकेन, रास्वपा मच्चियो थच्चियो भयो। राप्रपाले उधुम मच्चाउन खोज्यो, सकेन। अहिले सबै चुप लागेर पछाडि बसेर जेन जी बालबालिका अगाडि सारेर आफू पछाडि बसे,' उनले आरोप लगाउँदै भने।
उनले अगाडि भने, 'पेट्रोल जेनजीले फ्याँकेको हो?'
'आगो जेनजीले लगाएको हो? आगो लगाउनेमा कोको थिए? यो सरकारले अहिले कारबाही नगर्ला। गृहमन्त्रीले कारबाही नगर्नु भनेर आदेश देलान्, थामिएलान्। तर यत्रो अपराध, देशव्यापी अपराध...यो सबै क्षम्य हुन सक्दैन,' उनले भने।
उनले देश सबैको साझा भएको बताउँदै अराजकता स्थायी हुन नसक्ने र कानुनी बाटोमा फर्काइने पनि बताए।