अभिनेता तथा निर्माता दीपकराज गिरीले आगामी २०८३ सालको दसैंमा नयाँ फिल्म प्रदर्शनमा ल्याउने घोषणा गरेका छन्। प्रायः दसैंमा आफ्ना फिल्म रिलिज गर्ने दीपकराज र निर्देशक दीपाश्री निरौलाको समूहले यस वर्ष भने फिल्म ल्याएनन्। गत वर्ष दसैंमा उनीहरूको फिल्म 'छक्का पन्जा ५' प्रदर्शन भएको थियो।
हाल 'छक्कापञ्जा कमेडी टूर' को सिलसिलामा अमेरिका भ्रमणमा रहेका गिरीले फेसबुक पोस्टमार्फत यो घोषणा गरेका हुन्।
उनले लेखेका छन्, 'देशको राजनीतिक अवस्था साथै प्राकृतिक प्रकोपकाबीच दसैं सोचे जस्तो पक्कै भएन होला! हामीले पनि यो साल चलचित्र ल्याउन सकेनौं, तैपनि दशैमा प्रदर्शन भएका नेपाली चलचित्रहरूलाई दिनुभएको मायाका लागि धेरै धेरै धन्यवाद! अर्को साल दसैंमा भेटौला!'
उनले ल्याउने फिल्म 'छक्का पञ्जा' कै शृंखला हुनेछ वा नयाँ नाममा आउनेछ भन्ने बारेमा भने केही खुलाएका छैनन्।