घरबाट भागेको थिएँ। बुबासँग झगडा हुन्थ्यो, बुबा मलाई रिस गर्थे त्यस बेला। घरबाट हिँड्दा म सत्र वर्षको थिएँ।
अघिल्लो दिन आमालाई पटक-पटक हेरिरहेँ, मनमा हजार कुरा थिए तर ती सबै मनमै रहे। उनी मलाई त्यो दिन खै किन अति नै मलिन लागिन्। आमालाई हेर्दा मलाई लाग्यो, सायद मैले पहिलो पटक आमाको अनुहारमा हेर्दै छु। त्योभन्दा पहिला मलाई थाहा नै थिएन, आमाको निधारमा रेसा आउन लागेछन्, छाला फुस्रा पर्न लागेछ र सिउँदोको कपाल फुल्न लागेछन्।
असारको महिना कुइरोले घरबाट देखिने निगाले भिर पुरै ढाक्थ्यो। घर यताको खहरे खोला उर्लिएर आउँथ्यो, खोला तर्न दुई वटा फल्याक राखिएका थिए। जुका खुबै लाग्थे। त्यो दिन पनि बादलले आकाश बेलुकादेखि नै ढाकेको थियो। सायद त्यो वर्षकै अन्धकार दिन हुँदो हो। बेलुका आमाले ढिँडो पकाएर खान बोलाइन्।
भोक लागेको त थिएन तर थकान खुबै लागेको थियो। दिनभरि आली काटेर आएको थिएँ, बिहान मल बोकेको थिएँ। मलाई त्यो दिन खै किन धेरै काम गर्न मन लाग्यो। आमाले तीन दिन भए पनि अलि सुख पाउँछिन् कि भनेर बाख्रालाई बनबाट एक भारी घाँस पनि काटेर ल्याएँ। सबै गर्दा सात बजिसकेको थियो।
बुबा गोठमा निथ्रुक्क भिजेर आएका गोरु बाँध्दै हुनुहुन्थ्यो। भान्सा कोठामा २० वाटको रातो बत्ती बलेको थियो। म खोस्टोको चकटीमा बसेँ। आमाले सिमीको झोल र ढिँडो पस्किन् अनि मलिन आवाजमा भनिन्, ‘के भयो तँलाई आज?’
मैले केही नभएको उत्तर दिएँ। आमा बुबालाई ढिँडो पस्किन लागिन्। मैले आमालाई हेरेँ। एक पटक हेर्दा मन भारी भएर आयो। आँसु रोक्न सकिनँ, एक थोपा आँसु सिमीको झोलमा खस्यो। आमाले थाहा पाउलिन् भनेर पुछिहालेँ।
ढिँडो खाएँ, हात धोएँ। ‘सुत्न जान्छु है आमा, थाकेको छु’ भनेँ। कोठामा गएँ, ट्र्याङ्कबाट लुगा निकाल्न सोच्दै थिएँ तर मलाई अनायासै ख्याल आयो, मैले कसैलाई भनेर जानुपर्छ। कसलाई भन्ने यसो सोचेँ, मलाई लाग्यो सौरभलाई भन्दा ठिक होला।
सौरभ र म १० कक्षासम्म सँगै पढ्यौँ, मेरो मिल्ने साथी थियो ऊ। म सौरभकोमा लागेँ। मेरो घरभन्दा उसको घर सात मिनेट जति माथि पर्छ। असारको दिन आठ बज्न लाग्दा अँध्यारो भइसकेको थियो। मसँग टर्च लाइट केही थिएन तर खै कसैको डर लागेन मलाई त्यो दिन।
म सौरभकोमा पुगेँ। उनीहरू खान खाएर सुत्ने तरखर गर्दै थिए। मलाई रमेश अंकलले रिसले हेरे। उनलाई लाग्थ्यो म सौरभलाई बिगार्छु, त्यसैले मैले बुझ्ने भएदेखि मलाई कहिल्यै पनि हँसिलो अनुहारले हेरेनन्। सौरभकी आमा चाहिँ मलाई आफ्नै छोराजस्तो गर्थिन्।
देख्ने बित्तिकै सौरभले भन्यो, ‘के छ केटा, किन आइस् यति बेला?’
मैले ‘यत्तिकै’ भनेँ।
सौरभका बुबा-आमा सुत्न गए, सौरभ र म बाहिरको खाटमा बसिरह्यौँ। दुवै जना केही बेरसम्म मौन नै थियौँ। मैले मौनता तोड्दै भनेँ, ‘ओइ केटा, एकछिन बतासे डाँडामा जाऊँ न।’
‘यति राति?’
मैले भनेँ, ‘जाऊँ न जाऊँ, केही हुन्न।’
उसले ‘किन?’ भनेर प्रश्नसम्म गरेन। मलाई अँगालो हाल्यो अनि जोडले बल लगाए जसरी तान्यो। हामी बतासे डाँडातिर लाग्यौँ। अँध्यारो थियो। जुनकिरीले पिलिक-पिलिक बत्ती बाल्थे, सायद त्यही प्रकाशमा हामी बतासे डाँडा पुग्यौँ।
डाँडामा बाँसको बेन्च थियो। शुक्रबार हाफ छुट्टी भएपछि हामी बतासे डाँडा जान्थ्यौँ। जेठका अन्तिम दिनहरूमा काफल माथिल्लो टुप्पामा मात्र हुन्थे। बाँदरजस्तो रूख-रूखमा चढेर हामी काफल टिप्थ्यौँ अनि त्यही बेन्चमा बसेर गफ लडाउँदै बस्थ्यौँ। बाटोमा कोही केटी देख्यो भने सौरभले मलाई देखाई हाल्थ्यो। राम्री लाग्यो भने ‘हेर तेरी भाउजू’ भन्थ्यो, राम्रो लागेन भने ‘बुहारी भेटिइन् जस्तो छ’ भन्थ्यो। असारमा बिदा भएपछि पौडी खेल्न खहरे खोलामा जान्थ्यौँ। पानी जम्मा गर्नुपर्थ्यो, दुई जना मिलेर ठुला-ठुला ढुङ्गा बोक्दै ल्याउनुको मजा बेग्लै हुन्थ्यो।
‘सौरभ, मैले तँलाई यता ल्याउनुको कारण छ। भोलि बिहान म जाँदै छु गाउँ छोडेर। कसैलाई नभनी जाँदा आमा आत्तिनुहुन्छ, तैँले म हिँडेको खबर सुनाइदे है। कहिलेकाहीँ गएस् है हाम्रो घर। बुबा खुबै चुरोट खानुहुन्छ, खोजिरहनुहुन्छ। बिरामी भए भने स्वास्थ्यचौकीसम्म पुर्याइदे है।’
मेरो आवाज भारी थियो। आँखाभित्र आँसु थियो तर झर्न दिइनँ।
‘हावा कुरा नगर्, पागल भइस् कि के हो? कता जाने कुरा गर्छस्!’ सौरभले अलि ठुलो स्वरमा मलाई भनेको थियो।
मैले धेरै कुरा गर्न मनै लागेन। मलाई लाग्यो, मैले भावना हाबी हुन दिएँ भने म भोलि जानै सक्दिनँ। त्यसैले मैले भनेँ, ‘सहर जान्छु म। सौरभ, मलाई किन-किन म अब ठुलो भएजस्तो लाग्छ। बाउ रिस गर्छन्, आमा फाटेको चोलो लाउँछिन्। म हेर्न सक्दिनँ यो। कि त धन कमाउँला कि मरौँला। यसरी त बाँचेर पनि मरिरहेको छु।’
सौरभ बोल्न खोज्दै थियो तर खै किन केही भन्नै सकेन। एकछिन रोकियो अनि भन्यो, ‘ल यार, राम्रोसँग जा।’
एक्कासि अनुहारको चमक हरायो सौरभको। म बुझ्न सक्थेँ किन हरायो भनेर तर मलाई लाग्यो मैले अझ यही कुरालाई खेल्न दिनु हुँदैन। त्यसैले मैले भनेँ, ‘ओइ, जाऊँ अब।’ हामी ओरालो झर्यौँ।
सुत्न मन लागेन। बिहानको तीन बज्यो, आकाशबाट एक्कासि ठुलो पानी पर्न लाग्यो। टिनमा असारे झरी बर्सिँदा मलाई अरू बेला खुबै निद्रा लाग्थ्यो तर त्यो दिन निद्रा लागेन। छाता त घरमा हुँदो हो, पुरानो। तर मैले हिजो पानी पर्ला भन्ने ख्याल गरिनँ, त्यसैले मैले छाताको जोहो गरिनँ। बिहान चार बजे माग्ने कुरा कहाँ आउँथ्यो र! छाता प्रायः भान्सा कोठामा हुन्थ्यो तर मैले खोज्न थालेँ भने कतैबाट खास्रक-खुस्रुक आवाज आउनेछ र म हिँड्न पाउँदिनँ भन्ने लाग्यो। त्यसैले पानी रोकिओस् भनेर पर्खी बसेँ।
चार बजेर १२ मिनेट जाँदा पानी अलि थामियो तर पुरै रोकिएको थिएन। मैले आफ्नो स्कुलको झोलामा केही लुगा हालेको थिएँ। झोलाको भित्री गोजीमा काम गरेर जम्मा गरेको एउटा हजार अनि दश वटा सयका नोट थिए। एउटा पानीको बोतल थियो साइडमा। मैले झोला बोकेँ। कोठाको भित्तामा आमा-बुबाको सँगै बसेको तस्बिर थियो, हेरेँ। सबै कुराको माया लागेर आयो।
भन्नेहरू त भन्छन् मन/चेतना जीवित वस्तुमा मात्र हुन्छ, तर मलाई त्यस्तो कहिल्यै लागेन त्यो दिनदेखि। मलाई त्यो दिन मेरो खाटले ‘न जा’ भन्दै थियो, मेरा पुराना किताबले ‘न जा’ भन्दै थिए। जब म रोएँ, तिनलाई हेर्दै ती पनि मसँगै रोए। कहिलेकाहीँ लडाइँ बिछोडसँग हुन्छ जब आफ्नै मनलाई झापड हान्नुपर्छ। बलवान्भन्दा बलवान् पनि मैनजस्तो पग्लिन्छ। झन् म त छोरा! मेरो आँखामा आँसु आउनु हुँदैन भन्ने लाग्यो। आँखासम्म आँसु आयो तर झरेन।
अन्तिम पटक आमाको अनुहार तस्बिरमा हेरेँ अनि सँगै उतापट्टि भएको कृष्ण भगवानको तस्बिरलाई हेरेर आमाको र बुबाको रक्षा गर्न भनेँ। मैले सही गर्दै छु कि गलत त थाहा थिएन तर म त्यो घरको छोरो हुँ, यति चाहिँ मैले कहिल्यै पनि बिर्सन सकिनँ। न त्यो दिन सकेँ न आज सक्छु। म जबसम्म जीवित रहने छु, म त्यो घरको छोरा हुँ र सधैँ रहने छु।
मेरा अहिलेसम्मका सबै सामान जसलाई मैले सँगै लान सकिनँ, तिनलाई बिदाइ गरेँ। ढोकाबाट बाहिर निस्केँ, आँगनमा आएँ अनि आफू सानोदेखि हुर्किएको खिया लागेको टिनको छानो भएको घरलाई एकटकले नियालेर हेरेँ। सकेसम्म अटाउनु थियो यादहरू मस्तिष्कमा, त्यसैले मैले धेरै नै हेरेँ तर जति नै हेरे पनि कति नै हेर्न सक्थेँ र! सिमसिमे पानीमा आफ्नो भविष्य, भविष्यभन्दा पनि सायद आफूलाई खोज्न निस्किएँ। म युद्ध मैदानको लागि निस्किएको थिएँ जुन मैले लड्नै पर्ने थियो।
पहिलो पटक मसँग गन्तव्य थिएन। योभन्दा अगाडि म कतै पुग्नका लागि हिँड्थेँ तर त्यो दिन मसँग स्पष्ट गन्तव्य थिएन। अलिअलि कता-कता सहर जाने भन्ने त थियो तर मलाई सहर के हो, कस्तो हुन्छ, कता छ, केही थाहा थिएन।
३० मिनेट उकालो हिँडेपछि गाउँ सकियो। डाँडाबाट तल हेरेँ, धमिलो थियो, केही स्पष्ट देखिएको थिएन कुइरोले। झन् रुन मन लाग्यो, आफू हुर्किएको गाउँसम्म पनि मैले हेर्न सकिनँ त्यो अन्तिम क्षणमा।
आँखाबाट खसेका आँसु गालाबाट बग्दै ओठमा आइपुगे। मैले त्यो नुनिलोपनलाई महसुस गरेँ अनि दाहिने हातले पुछेँ र फर्केर फेरि पाइला सारेँ थाहा नभएको गन्तव्यतिर। बिस्तारै घामका किरणले बादल छेड्न थाल्यो र उज्यालो हुन लाग्यो। एक घण्टा जति हिँडेपछि पुरै उज्यालो भयो।
अब म मृगे भन्ने जंगलको बाटोमा आइसकेको थिएँ। यो घना जङ्गल हो, मृगहरू खुबै भेटिने भएर यसको नामै 'मृगे' राखेको रे भनेर मलाई हजुरबाले भन्नुहुन्थ्यो। हुन त म घाँस काट्न, दाउरा काट्न पहिला पनि आउने गरेको जंगल थियो यो, तर एक्लै बिहान हिँड्दा मलाई कता-कता डर लाग्यो। खास्रक-खुस्रुक आवाज आउँदा सिरिङ्ग हुन्थेँ, पछाडि फर्किएर हेर्थेँ, झन् डर लाग्थ्यो।
आमाको याद आउँथ्यो, आँसु बग्न थाल्थ्यो। म रुँदै हिँड्थेँ। मनले फर्की भन्थ्यो तर म मनसँगै लड्थेँ र अगाडि बढिरहन्थेँ।
अब घाम चर्को लाग्न लाग्यो। शरीरबाट पसिना आउन लाग्यो, थकाइ लाग्न लाग्यो। कता-कता भोक लाग्यो। अलि परको रूखमुनि एउटा ढुङ्गा थियो, म त्यतै बसेँ। मनमा गाउँ आयो, आमा आइन्। भोकलाई मार्ने मसँग केही थिएन। पानी झिकेँ र पिएँ।
गाउँमा आमा रुन लागिन् होला। मैले कतै सुन्ने गर्थेँ, आमाका सम्पत्ति छोरा हुन् रे, श्रीमान्ले जति नै दुःख दिए पनि छोरा सम्झेर आज पनि कयौँ आमाहरू बस्छन्। मेरी आमाको सम्पत्ति म अब साथमा थिइनँ। बुढेसकालमा मैले आमा र बुबालाई छोड्नुपर्यो तर मसँग अरू उपाय थिएन।
हिँड्दै जाँदा सहर जाने रोड आयो। यति बेला दिउँसोको साढे दस भएको थियो। १५ मिनेटपछि काठमाडौँका लागि बस आयो, रोक्यो पनि। म उक्लेँ र अन्तिम सिटमा गएर बसेँ। बस हिँड्यो। मेरो मन फेरि घरतिर गयो।
घोप्टिएर रोएँ। मलाई सबै मान्छे अनजान लागे, बोल्ने हिम्मत नै आएन। जीवनमा पहिलो पटक जुनसुकै कुरा गर्दा पनि गाह्रो हुन्छ। मलाई बसको लामो यात्रासम्म पनि धेरै नौलो लाग्यो।
मलाई बाटो कहिल्यै नसकियोस् जस्तो लाग्थ्यो। जति समय बित्थ्यो त्यति कस्तो-कस्तो अनौठो डर लाग्थ्यो। के गर्ने होला, कता बस्ने होला, केही थाहा थिएन। त्यसैले त्यो डर मनमा मडारिएको थियो। न देखाउन मिल्थ्यो न लुकाएर लुकाउन सक्थेँ।
डरलाई एकछिन आफूसँगै राख्यो भने बिस्तारै निष्क्रिय भएर जान्छ। भोको पेटले पहिला खाना माग्छ। जब दिमागलाई थाहा हुन्छ खाना अहिले सम्भव छैन तब शरीरले तापक्रम गुमाउन थाल्छ, आवाज मलिन हुन्छ अनि दिमाग ढिलो चल्न थाल्छ। मलाई यो वैज्ञानिक हो कि होइन थाहा छैन, तर त्यो दिन र त्यसपछिका केही दिनको अनुभव हो यो मेरो।
भोकलाई जबरजस्ती सम्हाल्दा मलाई निद्रा लाग्न लागेछ। मेरो निद्रा खुल्दा म सहरमा थिएँ, काठमाडौँ सहर। मनमा झन् डर लागेर आयो, बेलुकाको पाँच बज्न लागेको थियो। सडक चौडा थियो, एउटा सडकबाट सवारी जान्थे अनि अर्कोबाट आउँथे, बिचमा बार थियो। एकछिन पर पुग्यो कि पुल आउँथ्यो, मलाई अचम्म लाग्थ्यो।
मेरो दिमागले केही सोच्न सकेन। समय बित्दै जाँदा बसमा मान्छे रित्तिन थाले। अब डर बढ्न लाग्यो। बस गुड्दै जाँदा जम्मा म र अरू तीन जना मान्छे मात्र बाँकी रहे। बस बसपार्कमा पुग्यो। ती तीन जना पनि झरे। म पनि झर्नै पर्ने भयो।
बसबाट झर्नसाथ मैले केही सोच्नै सकिनँ, यताउता हेरेँ। डरले मन चिसो भयो, के गर्ने के, केही थाहा छैन। थोरै पैसा थियो, त्यसले कता-कता अलि कति आँट चाहिँ दिएको थियो। अँध्यारो बढ्न लाग्यो, आकाश धुम्मिन लाग्यो। मैले माथि हेरेँ अनि भगवान् सम्झिएँ। डर र आँट साथी रहेछन्, त्यही बेला थाहा भयो। म बसपार्कबाट बाहिर निस्किएँ।