टिक्न र बिक्नका लागि संघर्ष धेरै गरेँ मैले। ज्यामी कामदेखि शिक्षकसम्म। पढाउने काम बिहान ९ बजे नै सकिन्थ्यो। क्याम्पसहरूमा सिफ्ट हुन्छ। दिउँसो खाली थिएँ म। २०५७ सालतिर साथीहरूले एउटा स्कुल खोलौँ भन्ने प्रस्ताव गरे। त्यसले मूर्त रूप पायो। मध्य बानेश्वरमा कक्षा १० सम्म सामान्य ढङ्गले चलेको निजी स्कुल पाइयो। किन्यौँ।
किनेपछि प्रिन्सिपल को हुने? कसरी चलाउने सल्लाह भयो। कतिपय शेयर सदस्य एकले अर्कोलाई प्रत्यक्ष नचिनेका थिए। आधा जसो शेयर सदस्य कुनै न कुनै रूपमा स्कुलमा इन्गेज भए। कोही पूर्णकालीन शिक्षक, कोही पार्ट टाइम शिक्षक भए। आधा जसो निष्क्रिय लगानीकर्ता भए। शिक्षण गरेको अनुभव थियो मसँग। प्रिन्सिपल बन्नुपर्छ भनेर कर गरे सबैले। नाइँ भनिनँ।
मध्यम वर्गका विद्यार्थी पढ्न आउने निजी स्कुलमा छुट चाहिन्छ भन्ने धेरै हुन्थे। विद्यार्थी अभाव भएको ठाउँमा जस्ता विद्यार्थी पनि भर्ना गरिन्थ्यो। घरभाडा, शिक्षक तलब आदि पुर्याउन धौधौ हुन्थ्यो। जेनतेन स्कुल चल्यो। निष्क्रिय शेयर सदस्यलाई नाफा दिन सकिएन। कहिलेकाहीँ स्कुल चलाउन नसकेको आरोप पनि आउँथे मलाई।
एकाउन्टको काम पनि आफैले गर्नु पर्ने हुँदा अलि झन्झट थियो। शेयर सदस्यसँग सल्लाह गरेर एकाउन्टेन्ट राख्नु पर्ने कुरामा कन्भिन्स गराएँ। एकाउन्टेन्ट चाहियो भनेर पत्रिकामा विज्ञापन गरेँ। एक हप्ताको म्याद राखेर गरेको विज्ञापनमा २० वटा आवेदन परे। अन्तर्वार्ताका लागि बोलाएँ सबैलाई।
भएका मध्येबाट एक जना राम्रो छान्नु पर्ने थियो। आफैले अन्तर्वार्ता लिएँ। छनौट भएका उम्मेदवारलाई फोन आउँछ भनी पठाएँ। कुन छनौट गर्ने? केटा वा केटी दोधार भयो मलाई। केटाभन्दा केटी नै ठिक होला जस्तो लाग्यो। सरिनालाई एकाउन्टेन्ट छनौट भएकोले विद्यालयमा सम्पर्क राख्न फोन गरेँ मैले। भोलिपल्ट स्कुल आई ऊ।
विद्यालयमा विद्यार्थी भर्नाको समय थियो। नयाँ वर्ष वैशाखदेखि नै तलब खाने गरी उसलाई एकाउन्टेन्ट काम गर्न लगाएँ। निजी स्कुलमा नियुक्ति दिने चलन हुँदैन। उसको तलब तोकिदिएँ– रु. ९०००। त्यो बेलाको हिसाबमा ठिकै तलब हो त्यो।
स्कुलमा बिहान-बेलुका र कहिलेकाहीँ बिदाका दिनमा पनि काम गर्नु पर्थ्यो। उसलाई बोलाउँथेँ। आउँथी ऊ। लामो समय सँगै हुने, खाजा सँगै खाने हुँदा आत्मीयता बढ्यो। ५/७ महिनासम्म आफ्नो बारे खुलेर बताइनँ मैले। तर बताउनै पर्छ जस्तो लाग्यो! विवाहित र छोरा भएको बताएँ। त्यो सुनेर अँध्यारो मुख लगाई।
‘कति छिटै विवाह गर्नु परेको नि!’ भनी उसले। हाँसेँ म।
यस्तै यस्तै चल्दै थियो। एक दिन अचानक फिल्म हेर्न जाने प्रस्ताव राखी उसले। हडबडाएँ म। ‘नाइँ, अर्को कुनै दिन जाउँला’ भनेर टारेँ। ‘हैन, जाऊँ न जाऊँ’ भनेर कर गरी। ‘कस्तो एक दिन पनि श्रीमतीलाई छोड्न नसक्ने हो क्या!’ व्यङ्ग्य गरी उसले। साह्रै दोधारमा परेँ म। के गरौँ भयो। अन्तमा हुन्छ भनेँ।
श्रीमतीलाई स्कुलमा काम भएको भनेर ढाँटिदिएँ। अलि छिटै विवाह भएर मात्र हो, २७/२८ वर्षे जवान, आफू पनि राम्रै छु जस्तो लाग्थ्यो। फिल्म सकेपछि ऊ आफ्नो घर लागी। म आफ्नो घर फर्किएँ।
असोज महिना थियो। दसैँ नजिकिँदै गर्दा शिक्षकहरूलाई तलब खुवाउनु पर्ने थियो। ‘आम्दानी के छ?’ भनेर सोधेँ। ‘जेनतेन पुग्छ तर घरभाडा तिर्न पुग्दैन’ भनी उसले। खाजा मगायौँ। खाजा खाँदै गर्दा शनिवार घुम्न जाने प्रस्ताव राखी उसले।
सम्झाएँ उसलाई– ‘म विवाहित हुँ नि।’
‘के फरक पर्छ त?’ प्रश्न मलाई नै तेर्स्याई र भनी, ‘घरमा झगडा चाहिँ नगर्नु नि मेरो कारणले, ब्यालेन्स गर्नू।’
अब चाहिँ म फसादमा परेँ। उसलाई जागिरबाट निकाली दिऊँ जस्तो लाग्यो। फेरि अर्को मनले मानेन। होस् भने!
उसले मलाई अनेक ल्याङ गर्छे। कहिले कुर्ता किन्न पैसा छैन भन्छे! कहिले के भन्छे! झन् झन् नजिकिन खोज्छे। घरबाट खानेकुरा ल्याएर खुवाउँथी। मन त हो, पग्लियो। मन पर्न थाल्यो मलाई नि। कोठा खोजेर बस्छु, कहिलेकाहीँ आउनु भन्न थाली। मनमा झस्का पसेको पस्यै भयो।
अन्तरमनले यस्तो हुँदैन। गलत काम नगर्नू भनिरह्यो मनले। तर गर्दै जाँदा उसको अगाडि नतमस्तक भएँ। के गर्ने? द्विविधाग्रस्त भएँ। श्रीमतीलाई कुनै कुरा थाहा छैन। ऊ आफ्नै काममा व्यस्त छ। मलाई शङ्का गर्दिन।
समय यस्तो आयो कि माओवादीले निजी स्कुल बन्द गराउने भनेर अभियान नै चलाए। अनेक बहानामा सहयोग/चन्दा माग्न आउन थाले। बल्लतल्ल चलेको स्कुल चन्दा दिन सकिने हैसियत थिएन। तर पनि केही न केही दिनै पर्थ्यो। मध्य सहरमा नयाँ विद्यार्थी पाउन मुस्किल हुन्थ्यो। नयाँ बस्तीमा घरहरू बन्दा रहेछन्। विद्यार्थीहरू गाउँबाट आउँदा रहेछन्। अलि सजिलो रहेछ। मध्य बानेश्वरमा स्कुल चलाउन नसक्ने अवस्था आयो। स्कुल बेच्ने वा बन्द गर्ने? छनौट गर्नुपर्ने अवस्था सिर्जना भयो। सरिनासँग छुट्टिन पाइने भो भन्ने कुरा मनको अन्तरकुन्तरमा आयो। एक मन खुसी भएँ।
निजी स्कुल बन्द गर्नुपर्छ! ‘विद्यार्थीलाई फी तिर्नु पर्दैन’ भन्दै कक्षा कक्षामा जान लागे क्रान्तिकारीका नेता। स्कुल चलाउन सकिएन। शेयर सदस्यको बैठकले ‘मिल्यो भने स्कुल बेच्ने’ सहमति भयो। स्कुल घाटामा थियो। थप लगानी गर्न कसैले चाहेनन्। तर स्कुल बेच्न सकिएन। बन्द भयो। विद्यार्थी नभएको ‘झोले स्कुल’ भयो। ३/४ वर्षपछि झोले स्कुल बिक्यो। सावाँ चाहिँ उठ्यो।
साँच्चिकै ऊ अलग्गै कोठा खोजेर बसी। मलाई खाना खान बोलाउँथी। कहिले के बहाना गर्थी, कहिले के बहाना गर्थी। टाढिन चाहन्थेँ म। ‘लाछी’ र ‘डर छेरुवा’ भन्थी मलाई। कस्तो दोधारमा परेको क्या! ऊ चाहन्थी, म टाढिन खोज्थेँ। छोराको अनुहार झलझली सम्झन्थेँ। श्रीमतीलाई सम्झन्थेँ।
महिनौँ दिन उसले मलाई घुर्क्याई! ‘पुलिसमा निवेदन दिन्छु’ समेत भनी। बहुविवाह गर्दै गर्दिनँ भनेँ उसलाई।
स्कुल चालु हुँदै क्याम्पस पढ्दाको साथी रमेश स्कुलमा आइपुग्यो एक दिन। कापी उद्योग खोलेको रहेछ। कापी बेच्न आइपुग्यो। कता कताबाट पुरानो साथी भेटेँक मैले। अचम्मै भयो। सरिनालाई देख्यो उसले। रमेशलाई देख्नासाथ सरिना उठेर बाहिर गई। आफ्नो गाउँकी बहिनी भएको बतायो। ‘फस्लास् नि मोरा’ सम्झायो मलाई। खास ऊ डिभोर्सी रहिछ।
रमेश गएपछि भित्र आई। नचिनेझैँ उसको उद्योग के कसो भनेर मन चोर्न खोजी मेरो। अनभिज्ञता जस्तै दर्साएँ। उज्यालो मुख लगाई। स्कुल बन्द भएपछि अनेक प्रयास गरी सम्बन्ध लम्ब्याउन। वास्तै गरिनँ मैले। साँच्चिकै रिसाई मसँग। सम्बन्ध टुट्यो। उसको कोठा देखेको थिएँ तर गइनँ म।
यता छोरोले कक्षा १२ पास गर्यो। विदेश जाने चक्करमा लाग्यो। सबै कुरा मिलायो। विदेश गयो। पढाइसँगै काम पनि पायो उसले। राम्रै सेटल भयो। कन्भोकेसनमा ‘बाबा–ममी आउनुपर्छ’ भन्न थाल्यो। तर म मात्र गएँ। टिकटसिकट सबै उसले काट्यो। मिलायो।
छोराको कन्भोकेसनमा अमेरिका जाने भएँ म! कहिल्यै विदेश नगएको मान्छे कसरी जाने होला? ट्रान्जिटमा कसरी समय बिताउने होला? अलमलिने हो कि? अनेक शङ्का र डर लिँदै एयरपोर्ट भित्र पसेँ!
दुबई ट्रान्जिट हुने प्लेन थियो त्यो। ६ घण्टाको ट्रान्जिट छ। त्यसपछि बल्ल अमेरिकाको प्लेन चढ्नु पर्छ। यस्तै यस्तै कुरा खेलाउँदै सिटमा बसेँ। सिटमा को आउने होला सोच्दै थिएँ! नेपाली नै रहेछ। हर्षित भएँ। खुसीले गद्गद भएँ। विदेशी पर्यो भने के होला? कसरी समय बिताउने होला? भनेर बेस्सरी डराएको थिएँ। नभन्दै खोजेजस्तै पाएँ। आफ्नो परिचय दिएँ र उसको पनि मागेँ।
उमेश, अमेरिका नै जाने रहेछ। दुई वर्ष अगाडि डिभी परेर अमेरिका गएको रहेछ। भने झैँ भयो मलाई। मजाले गफिँदै गएँ। ट्रान्जिटमा पनि सजिलो भयो। अमेरिकाबाट नेपाल आई आमाबाबालाई भेटेर पुनः अमेरिका फर्केको रहेछ ऊ। सबै कुरा सजिलो भयो।
नेपालको सामाजिक–आर्थिक र समसामयिक राजनीतिबारे चर्चा भयो। थोरबहुत चासोको विषय थिए ती। जाँगर चल्दा कलम चलाउँथेँ म। राजनीति र नेताप्रति निराशा रहेछ ऊ। गफका सन्दर्भहरू मिले। कुराकानीकै क्रममा एक रात आफ्नो घर (टेक्सासमा) बस्न अनुरोध गर्यो उसले। यात्रा उसले साह्रै सजिलो बनाइदियो। नत्र अलमलिन्थेँ होला! आत्तिन्थे होला!
छोरोलाई ‘एक रात उमेशकोमा बस्छु, त्यही लिन आउनु’ भनी फोन र लोकेसन दिएँ। नजिकै रहेछ छोराको बसाइ। उसले सहजै थाहा पायो।
यात्राको साथी उमेशको घरमा बस्ने भएँ म एक रात! प्लेनमै चिनजान र आत्मीयता बढेको हो। पहिले कहिल्यै चिनजान थिएन। प्लेनमै हुँदा श्रीमतीलाई अनलाइनमा मेसेज पठायो। ‘सँगै एक जना साथी आउँदै हुनुहुन्छ, खाना बढाएर बनाउनू।
‘अर्को कुनै दिन आए हुन्न?’ भनेँ उसलाई। कर गर्यो! पछि भनेको के हुन्छ हुन्छ, सँगै आएको बेला एक रात बस्नु न नाइँ भन्न सकिनँ। हुन्छ भनेँ।
प्लेनबाट ओर्लेर उसले उबर बुकिङ गर्यो। उबरमा सरासर उसको घर टेक्सास पुग्यौँ। फराकिला सडक, सफा सहर, हरियाली ,१०० प्रति घण्टा स्पिडमा हुइँकेका गाडी, मिलेका घर देखेर अचम्म लाग्यो। विकास भनेको यस्तो पो हुँदो रहेछ! नेपालसँग, खास गरी काठमाडौँसँग तुलना गरेँ।
घरको गेटमा पुगेपछि घण्टी बजायो उसले। गेट खोल्न एक जना महिला आइन्। यसो हेर्छु– सरिना! झड्का लाग्यो मलाई। असिनपसिन भएँ।
‘के भयो?’ सोध्यो उमेशले।
‘केही भा छैन’ बल्लतल्ल सम्हालेँ आफूलाई।
कसरी बोल्नु? के बोल्नु भयो! तैपनि नमस्ते गरेँ मैले। उसले श्रीमती सरिना भनेर चिनायो। एक वर्ष अगाडि मात्र विवाह भएको रे उसको र सरिनाको। सरिनासँगका विगत फिल्मझैँ दिमागमा खेलाए मैले। रातभर छटपटिएँ। कहिले ‘भोलि होला र जाउला’ भन्ने लाग्यो। साह्रै कष्टसाथ बित्यो त्यो रात।
संयोग पनि कस्तो क्या! कहिल्यै कल्पना नगरेका मानिससँग भेट हुन्छ। बेस्सरी रिसाएकी सरिनालाई पुनः देखेँ। पुनः भेटेँ। नभेटेको भए पनि हुन्थ्यो। तर भेटेँ। उसैले पकाएको खान पाएँ फेरि। के सोची उसले कुन्नि? यत्रो ठुलो पृथ्वी पनि कति साँघुरो क्या! भेट्न मन थिएन। तैपनि भेटेँ। नरमाइलो लाग्यो।
अझ संयोग उसैको श्रीमानलाई एउटा असल साथीको रूपमा भेटेँ मैले।