नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने संकेत आफूनिकट केही नेताहरूलाई दिएका छन्।
सभापति देउवाले असोज २६ देखि हुने केन्द्रीय कार्यसमिति बैठकपछि उपसभापति खड्कालाई कार्यवाहक सभापति दिने संकेत गरेको उनीनिकट केही केन्द्रीय सदस्यहरूले सेतोपाटीलाई बताए।
सभापति देउवा आजको पदाधिकारी बैठकमा पनि उपस्थित हुने छैनन्। एक पदाधिकारीका अनुसार उपसभापति खड्काकै अध्यक्षतामा पदाधिकारी बैठक बस्ने तयारी छ।
सभापति देउवा २६ असोजको केन्द्रीय समिति बैठक सुरू गर्न भने केन्द्रीय कार्यालय सानेपा पुग्ने नेताहरूले बताएका छन्।
भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनपछि कांग्रेस सत्ताबाट बाहिरिएको थियो।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले भदौ २४ गते निवास बूढानीलकण्ठमा सभापति देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि आक्रमण र घरमा आगजनी गरेका थिए।
त्यसपछि ३० दिनदेखि सभापति देउवा सार्वजनिक रूपमा देखिएका छैनन्। काठमाडौंमा घर भाडामा लिएर बस्न थालेका छन् भने आफूनिकट पदाधिकारीहरूलाई भौतिक रूपमा र केन्द्रीय सदस्यहरूलाई फोनमा कुराकानी गर्ने गरेका छन्।
कांग्रेसभित्र संस्थापनइतर समूहले विशेष महाधिवेशन गर्न हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ।
महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर अभियान सञ्चालन गरेको र ४० प्रतिशत कटेको भन्ने दाबी आइरहेको छ।
केन्द्रीय समिति बैठकअघि नै विशेष महाधिवेशन माग गर्न कारण खुलाएर महाधिवेशन प्रतिनिधिले ४० प्रतिशतबढी हस्ताक्षर बुझाउन गृहकार्य गरिरहेका छन्।
यसले संस्थापन पक्ष झस्केको छ।
त्यसैले सभापति देउवानिकट केन्द्रीय सदस्यहरूले नेताहरूलाई भेटेर नियमित महाधिवेशनमा जान जोडबल गरिरहेका छन्।
सभापति देउवाको चार वर्षे कार्यकाल मंसिरमा सकिने भएकोले १५ औं महाधिवेशन कार्यतालिका ल्याइहाल्न देउवा पक्षका केन्द्रीय सदस्यहरूले नेताहरूलाई आग्रह गरिरहेका छन्।
यसै सन्दर्भमा आज संस्थापन पक्षका केही केन्द्रीय सदस्यहरूले उपसभापति पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई भेटेर कुराकानी गरेका छन्।
केन्द्री सदस्यहरूले सुरूमा उपसभापति खड्कालाई भेटेका थिए भने पछि खड्का र सिटौलासँग सामूहिक कुराकानी भएको थियो।
केन्द्रीय सदस्य पुष्पा भुसाल, मीनबहादुर विश्वकर्मा, अब्दुल सतार, गुरू बराल, योगेन्द्र चौधरी, उदयशम्शेर राणा, कुन्दनराज काफ्ले लगायत केन्द्रीय सदस्यहरूले उपसभापति खड्का र पूर्वमहामन्त्री सिटौलासँग कुराकानी गरेका हुन्।
‘यो वा त्यो बहानामा पार्टीभित्र झगडा गर्न भएन, नियमित बैठक गरेर पार्टीलाई अघि बढाउनुपर्छ भनेर उपसभापति खड्का र पूर्वमहामन्त्री सिटौलालाई भन्यौं,’ छलफलमा सहभागी एक केन्द्रीय सदस्यले सेतोपाटीसँग भने, ‘आज पदाधिकारी बैठक छ, सभापति देउवा नजाने कुरा छ। तर असोज २६ को केन्द्रीय समितिमा सभापति उपस्थित हुनुहुन्छ भन्ने कुरा आयो। पार्टीलाई एकताबद्ध बनाएर लैजाने पक्षमा नेताहरू देखिनुभएको छ।’
उपसभापति खड्का र सिटौलासँग केन्द्रीय सदस्यहरूले करिब एक घन्टासम्म कुराकानी गरेका थिए।
कुराकानीका क्रममा विशेष महाधिवेशन माग गर्न चलिरहेको हस्ताक्षर अभियानको प्रसंग पनि उठेको थियो।
‘विशेष महाधिवेशन माग गर्न महाधिवेशन प्रतिनिधिहरूले जिल्ला-जिल्लामा हस्ताक्षर गरेको र त्यो ४० प्रतिशत बढी पुगेको भन्ने दाबीका कुरा आएका छन्, विशेष महाधिवेशनतिर जान हुन्न,’ छलफलमा उठेको विषयबारे जानकारी दिँदै ती केन्द्रीय सदस्यले भने, ‘नियमित महाधिवेशनमा जाने बेला भइसकेको छ त, किन विशेषतिर जानु?’
विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर हस्ताक्षर बुझाएमा सभापति देउवाले ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ।
विशेष महाधिवेशनको प्रक्रियामा जाँदा झन् ढिलाइ हुने भएकोले पार्टीलाई एकताबद्ध बनाएर जान नियमित महाधिवेशन नै गर्न पहल लिन देउवानिकट केही केन्द्रीय सदस्यहरूले उपसभापति खड्का र सिटौलालाई आग्रह गरेका छन्।
उपसभापति खड्काले पनि नियमित महाधिवेशनमा जाने कुरा राखेका थिए।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने पार्टीलाई एकताबद्ध बनाउने काममा पदाधिकारी चुकेको भन्दै असन्तुष्टि जनाएका थिए।
‘तपाईंहरू ५ जना पदाधिकारीले जे-जे प्रस्ताव ल्याउनुभयो, हामीले त्यो स्वीकार गरेर अघि बढेको हो, तर तपाईंहरूले पार्टी एकताबद्ध बनाउन त सक्नुभएको छैन,’ सिटौलाका भनाइ उद्धृत गर्दै छलफलमा सहभागी अर्का केन्द्रीय सदस्यले भने।
पार्टी एकढिक्का भएर अघि लैजान दबाब दिन भन्दै संस्थापन पक्षका केन्द्रीय सदस्यहरू नेताहरू खड्का र सिटौला भेट्न पुगेका थिए।
साथै अब पार्टी कसरी अघि बढ्छ भन्नेबारे पनि केही केन्द्रीय सदस्यहरूले जिज्ञासा राखेका थिए। ती केन्द्रीय सदस्यका अनुसार उपसभापति पूर्णबहादुर खड्काले यस विषयमा खुलेर कुरा गर्न चाहेनन्।
‘उहाँले केही कुरा लुकाउन खोजेजस्तो गर्नुभयो, प्रष्ट कुरा राख्नु भएन, उहाँको यो पुरानै शैली पनि हो, अरूले थाहा पाए कुरा बिग्रन्छ जस्तो पनि गर्नुभयो,’ ती केन्द्रीय सदस्यले भने।
सभापति देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापति दिने संकेत गरेको बुझिएको उनको भनाइ छ।
‘आजको छलफलमा कुरा चलेअनुसार सभापति देउवाले उपसभापति खड्कालाई कार्यवाहक दिने संकेत गरेको बुझियो,’ ती केन्द्रीय सदस्यले भने।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी एकताबद्ध गर्न सभापति, उपसभापतिहरू, महामन्त्रीहरूले पहल नगरेको कुरा राखेका थिए। पदाधिकारीले ल्याएका प्रस्ताव विश्वास गरेर विगतमा स्वीकार गर्दै आफूहरू हिँडेको पनि सिटौलाको भनाइ थियो।
छलफलमा सहभागी केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा कुराकानी भएको जानकारी दिए।
‘देशभर हेर्दा धेरै कांग्रेसका पार्टी कार्यालय र घरमा आगजनी भयो, सर्वोच्च अदालत, सिंहदरबारमा पनि आजगनी भयो, अहिले कांग्रेस र अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको छ, यस्तो बेलामा पार्टी एकढिक्का भएर जानुपर्छ भनेर छलफल गरेका हौं,’ उनले भने।
उनले सभापति देउवाले कार्यवाहक सभापति तोक्ने हो भने विधानअनुसार उपसभापतिलाई तोक्न मिल्ने बताए।
‘कार्यवाहक सभापति दिने कुरा सभापतिज्यूको इच्छाको कुरा हो, विधानसम्मत हुन्छ। कार्यवाहक दिने भनेको आफ्नो जिम्मेवारी सुम्पने हो, विश्वाशिलो व्यक्तिलाई दिनुपर्छ भन्ने कुरा नेता कृष्णप्रसाद सिटौलाको पनि थियो,’ काफ्लेले भने।
आजको पदाधिकारी बैठकमा नियमित महाधिवेशनका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्ताव लैजाने तयारी गरेका छन्।
यसअघि सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पनि महामन्त्रीहरूले नियमित वा विशेष महाधिवेशन प्रस्ताव लगेका थिए।
मंसिरमै नियमित महाधिवेशन गर्ने पक्षमा पार्टीभित्र केन्द्रीय सदस्यहरू रहेकोले पनि नेताहरूलाई उनीहरूले त्यसतर्फ अघि बढ्न २६ असोजदेखि हुने केन्द्रीय समिति बैठकमा कार्यतालिका ल्याउन दबाब दिन थालेका छन्।
कांग्रेस विधानअनुसार देउवा अब सभापति पदमा उम्मेदवार हुन मिल्दैन। एक व्यक्ति दुई कार्यकाल सभापति हुन पाउने विधानको व्यवस्था छ। देउवा १३ औं र १४ औं महाधिवेशनबाट सभापति बनेका थिए।
सभापति देउवाले गत वर्षदेखि नै आफूले राजनीतिमा अब अवकाश लिने बेला भएको बताउँदै आएका थिए।
नेकपा (एमाले) सँग २०८१ असार १७ मा भएको ७ बुँदे सहमतिअनुसार आलोपालो प्रधानमन्त्री बन्ने समझदारी थियो। त्यसअनुसार देउवा प्रधानमन्त्रीका लागि प्रतिक्षामा थिए तर भदौ २३ र २४ को जेनजी पुस्ताको आन्दोलनपछि राजनीतिक घटनाक्रम बदलिएको छ।