प्यालेस्टिनी अतिवादी समूह हमासले बन्धक बनाएको नेपाली विद्यार्थी विपिन जोशीको भिडिओ सार्वजनिक भएको छ।
सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रममार्फत इसराइल पुगेका विपिनलाई २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएर गजा पुर्याएको थियो।
त्यसयता पहिलोपटक विपिन जोशी आफै बोलेको भिडिओ सार्वजनिक भएको हो। इसराइली मिडियाहरुले गएराति सार्वजनिक गरेको उक्त भिडिओमा विपिनले आफ्नो परिचय मात्रै दिएका छन्।
'म विपिन जोशी। म नेपालबाट हुँ। २३ वर्षको भएँ। म २५ दिनअघि मात्रै इसराइल आएको थिएँ। लर्न एन्ड अर्न कार्यक्रममा आएको हुँ। म विद्यार्थी हुँ,' झन्डै ३० सेकेन्डको भिडिओमा विपिनले यति मात्रै भनेका छन्।
इसराइली अनलाइन जेरुसलेम पोस्टका अनुसार विपिनको सार्वजनिक भएको उक्त भिडिओ दुई वर्ष पुरानो हो। उक्त भिडिओ विपिन बन्धक भएर गजा पुर्याइएकै वर्षको नोभेम्बरमा खिचिएको थियो।
जेरूसलेम पोस्टका अनुसार उक्त भिडिओ इसराइलले नै विपिनको परिवारलाई दिएको थियो। इसराइलले त्यतिबेला भिडिओ सार्वजनिक नगर्नू भनेको थियो। अहिले अनुमति दिएपछि परिवारले नै विपिनको भिडिओ सार्वजनिक गरेको हो।
'गाजामा भेटिएको जीवनको यो चिह्न, जुन हामी आज तपाईंहरूसँग साझा गर्दैछौं, यसले उहाँ जीवित हुनुहुन्छ भन्ने हाम्रो दृढ विश्वासको आधार हो,' विपिनको परिवारको भनाइ उद्धृत गर्दै जेरूसलेम पोस्टले लेखेको छ, 'हामीलाई भिडिओ सार्वजनिक रूपमा साझा गर्न सजिलो थिएन, तर हामी ४८ बन्धकहरूको भाग्य निर्धारण गर्ने महत्वपूर्ण र ऐतिहासिक दिनहरूमा छौं।'
गत साउन २६ गते विपिनकी आमा पद्मा र बहिनी पुष्पा इसराइल गएका थिए। त्यहाँबाट फर्केर उनीहरु असोज ८ गते अमेरिका गएका थिए।
अमेरिकामै रहेकी पुष्पाले जेरूसलेम पोस्टसँगको कुराकानी गर्दै युद्धविराम र बन्धकहरूलाई मुक्त गर्नका लागि दबाब होस् भनेर भिडिओ सार्वजनिक गरेको बताएकी छन्।
'२ वर्ष भइसक्यो। धेरै कुर्ने धैर्यता र साहस दुवै छैन। बन्धक र उनीहरूका परिवारको व्यथा र पीडा बुझ्ने प्रयत्न गरी उनीहरूको सुरक्षित उन्मुक्तिका लागि पहल होस्,' पुष्पाले जेरूसलेम पोस्टसँग भनेकी छन्।
जेरूसलेम पोस्टले विपिनको उक्त भिडिओ पुरानो भएकाले उनी जीवित छन्/छैनन् भन्ने पुष्टि नहुने जनाएको छ।
इसराइलका लागि नेपालका राजदूत प्रा. डा. धनप्रसाद पण्डितले सेतोपाटीसँग कुरा गर्दै विपिनबारे अहिलेसम्म कुनै जानकारी नआएको बताए।
केही नयाँ सूचना भए दूतावासलाई पहिलो जानकारी आउने इसराइली सरकारले भनेको पनि उनले बताएका छन्।
'विपिन जोशीको अवस्थाबारे अहिलेसम्म हामीलाई केही जानकारी छैन। इसराइली प्रधानमन्त्रीका सल्लाहकारले विपिनबारे नयाँ कुरा आउनासाथ तपाईंलाई जानकारी दिन्छु भनेका छन्,' राजदूत पण्डितले भने, 'मलाई र दूतावासलाई अहिलेसम्म केही जानकारी आएको छैन। यहाँको खबर यत्ति हो।'
यद्यपि विपिन जोशीको भिडिओ सार्वजनिक भएकै दिन इसराइल र हमासबीच युद्धविराम सम्झौता भएको छ।
सम्झौताअनुसार हमासले ढिलामा शनिबारदेखि बन्धकहरू छाड्न थाल्नेछ। उसले त्यसको ७२ घन्टाभित्र जिवित र मृत गरी सबै ४८ जना बन्धक छाड्ने सम्भावना छ।