कसैले कसैलाई जातपात नसोध्ने, कसैले कसैलाई के काम गर्छस् भनेर नसोध्ने र सोधी हाले पनि आफूले गरेको काम जस्तो भए पनि खुलस्त बताउन पटक्कै नहिचकिचाउने। कामलाई सानो अथवा यस्तो काम भनेर कहिल्यै आत्मग्लानि नमान्ने आप्रवासीहरूले भरिएको देश अमेरिकाको कुरा हो यो।
सुरुसुरुमा त्यहाँको वातावरण देखेर म त छक्कै परेको थिएँ। म डिभी परेर अमेरिका गएको थिएँ। करिब दुई वर्षको बसाइपछि अमेरिकाको डिभी त्यागेर म स्वदेश फर्किएको पनि अहिले सोह्र सत्र वर्ष भइसक्यो। सबैको कानुनप्रति सम्मान, आस्था र विश्वास अनि हरेक नागरिकले आफ्नो कर्तव्य पालना गर्ने रहेछन्। साम्यवादीहरूले परिकल्पना गरेका धेरै कुरा पुँजीवादको वकालत गर्ने अमेरिकाले व्यवहारमै उतारेर देखाएको रहेछ।
आफ्नो हक अधिकार प्रयोग गर्दा अरूको हक अधिकारमा अलिकति पनि हनन नपुगोस् भन्ने ख्याल एक अर्काले गर्दा रहेछन्। सबै सरकारी अर्धसरकारी संस्थाहरूबाट उपभोक्ताले पाउने सेवा-सुविधा कसरी छिटो, बिना झन्झटिलो र प्रविधिमैत्री पार्न हर क्षेत्रमा पहिलो आउनेले पहिलो सेवा पाउने, कुनै पनि उपभोक्ताले प्रायः एउटै टेबलबाट आफ्नो सेवा लिन सक्ने व्यवस्था त्यहाँ देखियो। जुन क्षेत्रमा काम परेर पुग्दा पनि कर्मचारी उपभोक्ताको सेवाकै लागि बसेजस्तो लाग्ने। हरेक क्षेत्रमा चुस्त अनुगमन, अनुगमनमाथि अर्को अनुगमन हुँदा सेवाग्राही सेवाबाट ठगिन नपाउन् र कानुनको परिपालनमा व्यवहारमै उतारिएजस्तो लाग्यो।
आफू अमेरिकाको बस्दा एरिजोना स्टेटको दुई ठुला फिनिक्स र टुसान सहर मध्ये मैले दुई वर्ष टुसान सहरमा बिताएँ। त्यहाँ बस्दा भोगेका र साह्रै प्रभाव पारेका थुप्रै कुरा मध्ये पाँच कुरा यहाँ राख्न चाहेँ। जुन कुराले मेरो मन मथिङ्गललाई सधैँ सोचनीय पारिरहन्छ त्यसैले मैले यसलाई थिति बसेका देशका कुरा भनेँ।
सुरुसुरुका दिन घटेको पहिलो घटना यस्तो थियो। एरिजोनाको टुसान सहरमा एउटै मात्र कम्पनी ‘सन्ट्रन’ बसले सेवा दिएको छ। म काम र घुमघाममा जाँदा त्यही सन्ट्रन सार्वजनिक बसको उपयोग गर्दथेँ। बसको मिनेट मिनेटको समय कसरी व्यवस्थापन गर्न सकेको होला भनेर आश्चर्य लाग्दथ्यो। बस चढ्न बस बिसौनीमा एक दुई मिनेट अघि पुग्दा ढुक्क भइने तर एक दुई मिनेट ढिला पुग्दा बस चढ्न पाइन्छ भन्ने ठेगान नहुने, मैले यो धेरै पटक भोगेको कुरा हो। बस कुन ठाउँबाट कति बजे हिँड्छ र कति बजे कहाँ कहाँ पुग्छ, मुख्य बसपार्क अर्थात् डाउन टाउनमा कति बजे पुग्छ, त्यहाँबाट अन्यत्र कुन कुन बस कति बेला हिँड्छन् भन्ने समय तालिका उल्लेख भएको ‘राइड गाइड’ पुस्तिका नै थियो। सुरुसुरुमा म यही पुस्तिका बोकेर हिँड्थेँ। म आफू बसेको ठाउँबाट पहिला बस चढेर डाउन टाउन पुग्थेँ र डाउन टाउनबाट अर्को रुटको बस समातेर काम गर्ने ठाउँमा सधैँ ठिक समयमा पुग्न सक्थेँ।
एक दिन मैले स्टोरमा अलि ढिला अर्थात् बेलुकाको समयसम्म काम गर्न पर्यो। यो अमेरिका पुगेको सुरुसुरु बेलाको कुरा हो। फर्कँदा काम गर्ने स्टोर नजिकै रहेको बसपार्कबाट बस चढेर फेरि डाउन टाउन पुग्थेँ। डाउन टाउन पुगेको दश मिनेटपछि मैले टुसानतिर जाने अन्तिम बस बेलुकाको नौ बजे हिँड्थ्यो। एक दिन बस हिँड्ने बेलासम्म बसका यात्री हामी दुई जना मात्र भयौँ। ठिक नौ बजे बस छुट्यो। अर्को यात्रु डाउन टाउन पछिको दोस्रो स्टपमा ओर्लिए। अब बसमा बस चलाउने ड्राइभर र प्यासेन्जरका रूपमा म मात्र भएँ।
म ओर्लने स्थान अझै चार पाँच स्टपपछि आउँथ्यो। मलाई डर लाग्यो म एक्लैलाई लिएर यो बस जाला त। मैले नेपाल सम्झेँ। यता प्यासेन्जर कम भएपछि कतिपयले अर्को गाडी रोकेर चढाइदिने वा तपाईँ अर्कोमा जानुस् भनेर ओरालिदिने वा यो बस यहीँसम्म हो भन्ने भोगाइ भोगेकोले मलाई त्यस्तै भन्ने हो कि मेरा मनमा यस्तै कुरा हुँडलिरहे। दिउँसो र बिहान त हिँडेकै बाटो हो तर राति बाटा-बाटामा भेटिने होमलेसहरूले दुख दिन्छन् भन्ने सुनेको थिएँ, त्यसैले अलि डर लाग्नु स्वाभाविकै थियो। तर बसले ठिक ठिक समयमा विभिन्न स्टप हुँदै एक्लो यात्रीको रूपमा मेरो बस बिसौनी आइपुग्यो। मैले घण्टी लगाएँ बस रोकियो। म गुडनाइट भन्दै ओर्लिएँ। के नेपालमा भए यो सम्भव थियो होला?
म ट्वान्टी सेकेन्ड पार्कको ‘सेभेन इलाभेन’ कम्पनीमा काम गर्थेँ। मेरो ८ घण्टाको ड्युटी बिहान ६ बजेदेखि २ बजेसम्मको हुन्थ्यो। तर म डाउन टाउनबाट सन्टनमा जान थालेपछि ठ्याक्कै १५ मिनेटअघि स्टोरमा पुग्थेँ र कम्प्युटरमा हाजिरी गर्थे। छुट्ने बेलामा २ बजेको सिफ्टमा आइपुग्ने साथीलाई हिसाबकिताब बुझाउँदा झन्डै १५ मिनेट जान्थ्यो। आठ घण्टाको ड्युटी भने पनि साढे आठ घण्टा स्टोरमा बित्थ्यो। हप्ता हप्तामा चेक आउँथ्यो। मलाई तोकिएको ड्युटी खासमा ६ देखि २ सम्म भए पनि यसरी दैनिक मैले आधा घण्टा बसका कारण गरेको कामको पनि परिश्रम जोडिएर पारिश्रमिक पाउँथे। कसैको पनि श्रम सित्तै नखाने थिति बसेको देशको श्रमप्रतिको सम्मान देख्दा म अचम्म मान्थेँ।
दोस्रो घटनाले त मेरा आँखाबाट आँसु नै झारेको थियो। घटना यस्तो थियो– एक दिन काममा जाने क्रममा बस बिसौनीमा समयमै पुग्दै गर्दा मभन्दा अघि त्यहाँ एकजना भर्खरकी मेक्सिकन केटी बस कुर्ने ठाउँको बेन्चमा बसेर बोतलको पेप्सी खाइरहेकी थिइन्। ठिक समयमै बस आयो। हामी दुई जना मात्र त्यो बस स्टपबाट बस चढ्ने भयौँ। यहाँ पनि महिला पहिलो भन्ने भएकाले पहिला ऊ चढी, त्यसपछि म चढेँ। सबै यात्रु बस चढेपछि सदा झैँ स्वचालित बसको ढोका लाग्नु पर्नेमा न बसको ढोका लाग्यो न बस गुड्यो। बस चलाउने चालिका साह्रै नै मोटी थिइन्। तिनले आफ्नो ढोका खोलिन् र निकै कष्टसँग आफ्नो सिटबाट तल ओर्लिन। बसको अगाडि पट्टिबाट हिँड्दै यात्रु प्रतीक्षालयको बेन्चसम्म पुगिन् र ती मेक्सिकन केटीले छोडेको पेप्सीको खाली बोतल उठाएर सँगै रहेको गारबेज बक्समा हालिन्। हामी चढ्दा बसका केही सिट खाली नै थिए, म दाहिने साइडको बसस्टप तर्फकै सिटमा रहेकाले सारा दृश्य अक्क न बक्क भएर हेरिरहेको थिएँ।
बोतललाई गार्बेजमा राखिदिएपछि तिनी चुपचाप केही नबोली आइन् र निकै सकसका साथ उक्लिएर आफ्नो सिटमा बसिन् र बस चलाइन्। म पछाडि बसेकी ती मेक्सिकन केटीलाई यो दृश्यले कस्तो प्रभाव पार्यो होला मलाई थाहा भएन तर म भने यति भावुक भएँ कि मेरा दुवै आँखा रसाए र आँसुका थोपा बगे। बस चालिकाले न केही बोलिनन् न कसैलाई केही भनिनन्। सहर सफा राख्न एउटा नागरिकले गर्नु पर्ने कर्तव्यको ठुलो पाठ त्यस दिन पढाएकी थिइन्। सहर, बाटाघाटा, पार्क सफा देखिएको त हरेक नागरिकले गर्नु पर्ने कर्तव्यलाई यसरी व्यवहारमै पालन गरेकाले पो सहर, पार्क सफा सुग्घर भएको रहेछ भन्ने गुह्य कुरो त्यस दिन थाहा पाएँ।
अमेरिकाको बसाइमा घटेको तेस्रो घटना भने यस्तो थियो– मलाई एक जोर जुत्ता लिनु थियो। छुट्टीको दिन पारेर बसाइ स्थलबाट अलि परैको सपिङ मलमा त्यही सन्ट्रान चढेर म र एकजना साथी पुग्यौँ। एक जोर स्पोर्ट जुत्ता किनेर ल्याएँ। मलबाट आफू बसेको अपार्टमेन्टमा आइसकेपछि जुत्ता लगाएँ तर अलि ठुलो भए झैँ लाग्यो। मलाई चाहिने आठ नम्बरको जुत्ता, त्यो परेछ नौ नम्बरको। यता आफूले किनेको सामान चित्त नबुझे वा लिन मन नलागे दुई हप्ताभित्र फर्काउन पाइने भएकाले म ढुक्क थिएँ। साता दश दिनपछि म जुत्ता लिएर त्यही मलमा पुगेँ। त्यहाँ मैले जुत्ता ठुलो भयो साटेर अर्को लान्छु भनेँ। काउन्टरमा बसेकाले मलाई पहिला जुत्ता फिर्ता गर्ने ठाउँमा बुझाउनु भने। जुत्ता र बिल बुझाएपछि मैले बिल अनुसारको रकम फिर्ता पाएँ।
मलाई त पैसा हैन जुत्तै नै लिनु थियो। त्यही कम्पनीको त्यस्तै आठ नम्बरको जुत्ता लिएँ। तर आज आउँदा त्यही जुत्ताको मोल तीन डलर घटेको रहेछ, घटेकै भाउमा जुत्ता लिएर फर्किएँ। मलाई गजब लाग्यो। किनेको जुत्ता साता दश दिनपछि फर्काउन जाँदा कुनै हिचकिचाहट छैन। सजिलै फिर्ता गरेँ र तिरेको पैसा फिर्ता पाएँ। अर्को त्यही कम्पनीको जुत्ता लिँदा अझ तीन रुपियाँ कममा पाएको देख्दा थिति बसेको ठाउँको नियम कानुन देखेर अचम्म लाग्यो। हाम्रोमा भए एक त त्यति दिनपछि फिर्ता गर्न जाँदा जुत्तै फिर्ता हुने थिएन वा त्यस बिचमा भाउ नबढेको भए जुत्ता साटेरसम्म ल्याउन पाइन्थ्यो। घटेको भए पैसा फिर्ता पाउने त कुरै थिएन।
मैले भोगेको चौथो घटना भने बिना पैसा सामान लिएर जानु भन्ने थियो। एक दिन म र अर्को साथी ‘वल्ड नेभी महल’मा कपडा किन्न गयौँ। मैले टिसर्ट दुई थान, हाफ पाइन्ट एक र एक दर्जनको एक पाकेट मोजा लिएँ। मसँग क्रेडिट कार्ड भएकाले मैले पैसा तिर्न कार्ड निकालेँ तर त्यहाँ बसेकी सेल्सम्यानले अहिले कम्पनीले अफर दिएको छ, पैसा तिर्न पर्दैन पछि बिल आएपछि तिर्नु भनेर मेरो आइडी कार्ड लिएर एउटा फर्ममा भरे र मलाई झोलामा राखेर मैले किनेको कपडा दिए। मलाई ताजुब लाग्यो। सामान किनेर पैसा तिर्न खोज्दा अहिले पैसा तिर्न पर्दैन पछि तिरे हुन्छ भनेको सुन्दा। न उसले मलाई चिनेको छ। म बस्छु धेरै टाढा। मलाई विश्वासै लागेन। मैल साथीलाई सोधेँ, साथीले पछि घरमा बिल आएपछि तिरुँला नि त भनेपछि पैसा नतिरी कपडा लिएर अपार्टमेन्ट फर्किएको थियौँ।
अमेरिका बस्दाका यस्ता अचम्म लाग्ने थुप्रै घटनाहरू मैले भोगेको छु। अमेरिका पुगेको सुरुसुरुका दिनको एउटा घटना यस्तो रह्यो। आफू बसेको अपार्टमेन्टबाट म त्यतिकै रल्लिँदै सडकको फुटपाथको छेउमा (जेब्राक्रसमा पनि हैन) दायाँबायाँ गाडी हेर्दै बसेको थिएँ। त्यो सडक तीन लेनको भए पनि गाडी चल्ने भने दुई लेनको थियो। एकैछिनमा दुवै लेनका गाडी परपरै रोकिए। म अलमलिएँ, किन गाडी रोकियो भनेर। उनीहरूले ठानेछन् मैले बाटो काट्न लागेको, त्यसैले मलाई बाटो काट्न गाडी रोकेर सहज बनाइदिएका रहेछन्।
यसरी दुवैतिर गाडी रोकिएको देखेर म पारितिर गएँ। वारिबाट पारि नपुगुन्जेलसम्म सडकमा गाडी रोकिएकै थिए। अचम्म लाग्यो बटुवाहरूको कत्रो सम्मान! यता भने जेब्राक्रसबाटै बाटो काट्न लाग्दा पनि मारौँला हानौँला गरी सवारी साधन हुइँकाउने चलनमा अभ्यस्त भएको म थिति बसेका ठाउँको त्यो व्यवहार देखेर सुरु सुरुमा ताजुब भएको थिएँ।