दिलीप पौडेलको कथासंग्रह 'ब्लफर्स डायरी' को विमोचन गरिएको छ।
नेपाली साहित्य समाज क्यानडाले आयोजना गरेको कार्यक्रमको संयोजन संस्थाकी महासचिव पारु पाण्डेले गरेकी थिइन् भने अध्यक्षता संस्थाका अध्यक्ष मोहन खरेलले गरेका थिए।
पुस्तकको विमोचन डा. पुण्यसागर मरहठ्ठा, डा. खेम गुरागाईं, डा. पुष्पराज आचार्य, श्रीमती पारु पाण्डे, श्री मोहन खरेल र लेखक दिलीप पौडेलले सामूहिक रूपमा गरेका थिए।
कार्यक्रममा पुस्तकको विषयमा छलफल गर्दै डा. पुण्यसागर मरहठ्ठाले भने, 'कथाकारले हरेक पात्रलाई न्याय गरेका छन्। बिम्बहरूको प्रयोग बेजोड छ। किताब लिएर बसेपछि कथाले आफैले पाठकलाई बाग्लुङको सेरोफेरोदेखि लेक ओन्टारियोको छेउछाउसम्म लिएर जाने सामर्थ्य राख्छ।'
उनले 'बुढो प्याट्रिक' कथाले आफूलाई झस्काएको बताउँदै लेखकले अवकाशोत्तर जीवनलाई सशक्त रूपमा चित्रण गरेको प्रशंसा गरे।
यसैगरी, डा. खेम गुरागाईंले पुस्तकको गहन विश्लेषण गर्दै कोरोनाको विध्वंश, माओवादी द्वन्द्वको प्रभाव, र आप्रवासीहरूका संघर्षलाई यथार्थवादी ढंगमा प्रस्तुत गरिएको बताए।
उनले केही प्रसंगहरूमा जातीय भेदभावको उल्लेख गर्न लेखकले टाढा रहेता पनि पात्रहरू आफै त्यसरी उभिएको उल्लेख गरे।
लेखक दिलीप पौडेलले आफ्नो कृति जन्मेको ठाउँमै यसको विमोचन हुँदा खुसी व्यक्त गरे।
उनले भने, 'कृतिको जन्मसँगै लेखकको मृत्यु हुन्छ। 'ब्लफर्स डायरी' का कथाहरू अब पाठकको सम्पत्ति हुन्। धेरै कथाहरू मेरो वास्तविक जीवनका घटनासँग सम्बन्धित छन्, तर अब तिनलाई कसरी व्याख्या गर्ने भन्ने पाठकको अधिकार हो।’
क्यानडाको ब्लफर्स बीच पार्कमा कार्यक्रम भएको थियो।