काठमाडौंमा हरर चलचित्र महोत्सव आयोजना हुने भएको छ।
अन्तर्राष्ट्रिय रूपमा मनाइने पर्व हेलोवीनको अवसरमा अक्टोवर ३१ देखि नोभेम्वर २ सम्म महोत्सव आयोजना हुन लागेको महोत्सवका निर्देशक रसिक पाठकले बताए।
उनका अनुसार, नेपालमा यी विधाका चलचित्र खासै नबन्ने र दर्शकले हेर्न पनि नपाउने अवस्था भएकाले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले महोत्सव मार्फत यस्ता विधाका चलचित्रहरुलाई देशमा प्रचार प्रसार गर्न लागेको हो। यस्ता चलचित्र निर्माणका लागि महोत्सवले थप वातावरण बनाउन सजिलो बनाउने उनको विश्वास छ। नेपालमा हरर चलचित्र महोत्सव पहिलोपटक हुन लागेको समेत जनाइएको छ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (नीफ) को सह–आयोजनामा महोत्सव हुन लागेको पाठकले बताए। महोत्सव गर्नुको मुख्य उद्देश्य भनेको नेपालमा हरर, काल्पनिक र लोककथामा आधारित चलचित्रहरूलाई प्रवद्र्धन गर्ने र यी विधाहरूका लागि दर्शकहरू बढाउन मद्दत गर्ने लक्ष्य राखेको पाठकको भनाइ छ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मात्रै हुनेछ भने सो प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म, सर्ट फिल्म, साउथ एसियन फिल्म र युथ फिल्म लाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ। चलचित्रहरूको लागि आवेदन पनि खुला गरिएको पाठकले जनाए।