फिल्म 'जनै हराएको मान्छेः सम्बन्धका धागाहरू' हेर्न मंगलबार दर्शकको उपस्थिति सुखद् देखिएको निर्माण पक्षले जनाएको छ। आइतबार र सोमबारको तुलनामा तीजको दिन दर्शक अकुपेन्सी बढेको हो।
राजधानी काठमाडौंसहित विराटनगर, पोखरा, बुटवल, चितवन, नेपालगञ्जलगायतका सहरका हलमा तीजको दिन दर्शकहरूको उपस्थिति सुखद् रहेको निर्माणपक्षको दाबी छ।
निर्देशक हिमाल न्यौपानेका अनुसार यो फिल्ममा पारिवारिक दर्शक बढी छन्। उनले भने, 'सपरिवार आउने धेरै पाएका छौं। अपराह्नपछि दर्शकको संख्या थप बढ्ने देखिएको छ।'
शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मको व्यापार औसत रहे पनि यसले दर्शकबाट पाएको प्रतिक्रिया सकारात्मक छ।
सामाजिक सञ्जालमा समेत फिल्म हेरेर दर्शकहरू भावुक भएको भिडिओहरू देखिएका छन्। पारिवारिक सम्बन्धको कथालाई मार्मीक ढंगले प्रस्तुत गरेकाले पनि फिल्म हेरेका दर्शकले यसको विषयवस्तु रूचाएको देखिन्छ।
'जनै हराएको मान्छे: सम्बन्धका धागाहरू' मा विजय बराल, केकी अधिकारी, मिरूना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रूपेश लामा, सुमन थापालागायतको अभिनय छ।
हिमाल न्यौपानेको निर्देशन रहेको 'जनै हराएको मान्छे' को निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।