विश्व चर्चित 'मिस युनिभर्स' को नेपाल फ्रेन्चाइज 'मिस युनिभर्स नेपाल २०२५' को उपाधि सान्या अधिकारीले जितेकी छन्।
बुधबार साँझ ललितपुरमा सम्पन्न ग्रान्ड फिनालेबाट सान्या विजेता, आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा ढुंगाना द्वितीय उपविजेता, एलिना यारी तृतीय उपविजेता र ज्योती थापा चौथो उपविजेता घोषित भए। फिनालेमा १४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए।
विजेता सान्याले २ लाख नगदसहित अन्य उपहारहरू प्राप्त गरिन्।
यस्तै, उनले आउँदो २१ नोभेम्बरमा थाइल्याण्डको बैंककमा हुने ७४ औं मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । विजेता बनेसँगै मिडियासँगको कुराकानीमा सान्याले नेपालमा पछिल्लो समय जेनजी प्रदर्शनका कारण पर्यटन क्षेत्रमा परेको असरबारे समेत कुरा गरिन्। उनले विदेशी पर्यटकलाई नेपाल शान्त भइसक्यो भन्ने सन्देश दिने बताइन्। उनले मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्दै गर्दा नेपालको पर्यटन क्षेत्रसँगै अन्य विविध कुराको प्रबर्धन गर्ने बताइन् ।
'मिस युनिभर्स नेपाल २०२५' की राष्ट्रिय निर्देशक संगीता पुरीले विजेताहरू सबैलाई बधाई दिँदै आगामी दिनमा राष्ट्रको नाम राख्ने काम गर्नेमा विश्वास व्यक्त गरिन्। ग्लोबल ग्ल्यामर भेन्चरले केही वर्षयता नेपालमा मिस युनिभर्स प्रतियोगिता आयोजना गर्दै आएको छ।