तिहारमा व्यंग्यात्मक तथा सन्देशमूलक देउसी-भैलो कार्यक्रम आयोजना गर्दै आएको सिस्नुपानी नेपालले यस वर्ष भने कार्यक्रमलाई निरन्तरता दिन सकेन।
सिस्नुपानी नेपालले विगत २७ वर्षदेखि तिहारमा देउसी भैलो कार्यक्रम गर्दै आएको थियो।
प्रधानमन्त्रीदेखि शीर्ष नेताहरूसम्मको उपस्थितिमा प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुँदै आएको यो लोकप्रिय कार्यक्रम यसपटक हुन नसकेको हो।
खासगरी राजनीति र नेपाली समाजका विकृति तथा विसंगतिलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गर्दै आएको सिस्नुपानी देउसी नहुँदा धेरैले यसको कारणबारे चासो व्यक्त गरेका छन्।
सिस्नुपानी नेपालका प्रमुख मनोज गजुरेलका अनुसार यस वर्ष देउसी कार्यक्रम हुन नसक्नुका मुख्य दुई कारण छन्।
गजुरेलले भने, ‘देशको पछिल्लो घटनाक्रममा आधारित विषयवस्तुको तयारी गर्न पर्याप्त समय भएन। त्यसमाथि हाम्रा कलाकारहरू पनि आआफ्नो काममा व्यस्त हुनुभयो।’
विगतका वर्षहरूमा दसैं सकिनासाथ सिस्नुपानी नेपालका अभियानकर्ताहरू देउसीको तयारीमा जुट्थे।
उनीहरू नेपाली राजनीतिको घटनाक्रमलाई गहिरो अध्ययन गरी त्यसलाई व्यंग्यात्मक तथा सन्देशमूलक रूपमा देउसी भैलोमा प्रस्तुत गर्दथे। तर, यस वर्ष दसैंअघिको ‘जेनजी आन्दोलन’ र त्यसपछिका तीव्र राजनीतिक घटनाक्रमका कारण विषयवस्तुको तयारी गर्न असहज भएको सिस्नुपानी नेपालले जनाएको छ।
विषयवस्तुको तयारीमा ढिलाइ र कलाकारहरूको व्यस्तता दुवै कारणले गर्दा यस वर्षको सिस्नुपानी देउसी कार्यक्रम स्थगित गर्नुपरेको मनोज गजुरेलले बताए।
यस वर्ष कार्यक्रम नहुँदा यसको नियमित दर्शक तथा शुभचिन्तकहरूले भने अभाव महसुस गरेका छन्।