पोखरा महानगरपालिकाले नेपथ्य व्याण्डका भोकलिष्ट अमृत गुरूङ सहित ९ जनालाई पोखरेली नवरत्न सम्मान प्रदान गरेको छ।
महानगरको ६७ औं स्थापना दिवसका अवसर पारेर पोखरा स्थायी ठेगाना भएर देशविदेशमा आफ्नो प्रतिभा र योगदान दिएका व्यक्तित्वहरूलाई सम्मान गरेको हो।
सम्मानित हुनेहरूमा गायन तथा संगीत क्षेत्रबाट नेपथ्यका गुरूङ, धार्मिक पर्यटन तथा कृषि उद्यमी चन्द्रकान्त बराल, समाजसेवी, उद्योगपति चन्द्रकृष्ण कर्माचार्य, साहित्यकार तीर्थ श्रेष्ठ, पत्रकार तिलकमान गुभाजु, स्वास्थ्य क्षेत्रबाट प्रा.डा. बुद्धिबहादुर थापा, खेलकुद र शिक्षा क्षेत्रबाट प्रा.डा. वीरेन्द्रसिंह गुरूङ, उद्यमी रामकली खड्का र शिक्षासेवी एवं उद्योगी हरिप्रसाद पाण्डे छन्।
सम्मानित व्यक्तित्वहरूलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मेयर धनराज आचार्य, प्रतिभा छनौट समितिका संयोजक कलाकार दुर्गा बराल ‘वात्स्यायान’ लगायतले जनही २ लाख २ हजार २०२ रुपैया, ताम्रपत्र, दोसल्ला र पदक प्रदान गरेका थिए।
पोखरेली नवरत्न प्रदान गर्न पोखरा महानगरपालिकाले ‘पोखरेली नवरत्न सम्मान कार्यविधि २०८२’ बनाएर छनौट समिति गठन गरेको थियो।
कलाकार वात्स्यायन संयोजक रहेको छनौट समितिले ९ जना नवरत्न छनौट गरेको हो।
कार्यविधिमा भाषा, साहित्य, कला, शिक्षा, स्वास्थ्य, कृषि तथा उद्यमशीलता, सामाजिक कार्य, खेलकुद, पर्यटन, वातावरण संरक्षण, विज्ञान, प्रविधि तथा नवप्रवद्र्धन र अन्य क्षेत्रका व्यक्तित्वलाई सम्मानको कार्यक्षेत्र बनाएको छ।
कार्यविधिमा पोखरेली नवरत्न सम्मान प्रदान प्राप्त गर्ने व्यक्तित्व पोखराको स्थायीवासी हुनुपर्ने, फौजदारी कसुरदार नठहरिएिको, उच्च नैतिक चरित्र भएको र आफ्नो प्रतिभा र योगदानमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पोखराको पहिचान अभिवृद्धि गरेको हुनुपर्ने उल्लेख छ।
कार्यविधिमा उक्त सम्मान ५/५ वर्षमा प्रदान गरिने पनि उल्लेख छ।
यसअघि २०५५ सालमा पहिलो पटक ९ जना व्यक्तित्वलाई पोखरेली नवरत्न सम्मान प्रदान गरिएको थियो। त्यतिबेला पत्रकार केशवराज पराजुली, लोकगीतबाट झलकमान गन्दर्भ, संस्कृतिमा क्याप्टेन मिनबहादुर गुरूङ, पर्यटनबाट झलक थापा, उद्योगमा बुद्धिबहादुर श्रेष्ठ, समाजसेवी अमृतप्रसाद शेरचन, स्वास्थ्य क्षेत्रबाट डाक्टर कुमार शमशेर राणा, कृषि विज्ञानबाट डा. भुवनरत्न स्थापित र लोक साहित्यबाट अलि मियाँलाई सम्मान अर्पण गरिएको थियो।
त्यसपछि २०५९ सालमा दोस्रो पटक पोखरेली नवरत्न सम्मान प्रदान गरिएको थियो। त्यतिबेला पर्यटनबाट हरिध्वज तुलाचन, उद्योगबाट हेमबहादुर प्रधान, खेलकुदमा रञ्जित गुरूङ, खेलकुदबाटै सपना मल्ल, कलाकार दुर्गा बराल ‘वात्स्यायन’ शिक्षाबाट जर्ज जोन, कलामा कृष्णप्रसाद श्रेष्ठ, साहित्यमा धर्मराज थापा र संस्कृतिमा प्रज्ञारत्न बज्राचार्य सम्मानित भएका थिए।
यसअघि प्रदान गरिएको पोखरेली नवरत्न सम्मानमा ९/९ जना व्यक्तित्वलाई सम्मान प्रदान गरिए पनि २०७२ सालमा भने ३ जनालाई उक्त सम्मान प्रदान गरिएको थियो। त्यतिबेला साहित्यकार मुकुन्दशरण उपाध्याय, साहित्यकार सरुभक्त र लोक वाङ्मयबाट हरिदेवी कोइरालालाई उक्त सम्मान प्रदान गरिएको थियो।
पोखरा महानगरका मेयर धनराज आचार्यले ‘पोखरेली नवरत्न सम्मान’ महानगरकै सर्वोच्च सम्मानका रुपमा विकास गरी अर्पण गर्ने परम्परालाई निरन्तरता दिएको बताए।
‘यो सम्मान हाम्रा लागि पहिलेको गोरखा दक्षिण वाहु र अहिलेको नेपाल रत्न जत्तिकै महत्वपूर्ण र गौरवमय विभूषण हो,’ उनले भने, ‘यो सम्मानलाई व्यवस्थित गर्न कार्यविधि बनाएर लागू गरेका छौं।’
पोखरालाई २०१६ सालमा तत्कालीन सरकारले पोखरा नगरपालिका गठन गरी शासकीय व्यवस्था मिलाएको थियो।
सोही दिनको सम्झनामा महानगरले बुधबार स्थापना दिवस मनाएको हो। त्यसपछि २०१७ सालमा निर्वाचित सरकार अपदस्थ गरेर राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि २०१७ सालमा पोखरा नगर पञ्चायत लागू गरेका थिए।
२०४७ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि पुन: पोखरा नगरपालिका बनेको थियो भने २०५२ सालमा पोखरा उपमहानगरपालिका, २०७३ मा पोखरा–लेखनाथ महानगरपालिका र २०७५ साउन २३ गते पोखरा महानगरपालिका नामाकरण भएको थियो।
स्थापना दिवसका अवसरमा महानगरपालिकाले प्रभातफेरी, उत्कृष्ठ करदाता सम्मान, उत्कृष्ठ कर्मचारी सम्मान लगायतका कार्यक्रम गरेको छ।