आगामी वर्षलाई प्रदर्शन लक्षित गर्दै फिल्म 'कालकट्टी' र 'काकाको बिहे' निर्माण घोषणा गरिएको छ।
रघुजी फिल्म्सको ब्यानरले दुई फरक स्वाद र फरक संसार बोकेका नेपाली फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो। लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ सापकोटाको टिमअपबाट फिल्म निर्माण हुन लागेका हुन्।
दुवै फिल्म आगामी वर्ष २०८३ मा दर्शकमाझ ल्याउने तयारीमा निर्माण पक्ष जुटेको छ। दुवै फिल्मको पोस्टरमार्फत पहिलो झलक दिँदै आधिकारिक घोषणा गरिएको हो।
दुईमध्ये 'कालकट्टी' छायांकनतर्फ अघि बढ्ने तयारीमा छ। यसको छायांकन माघ महिनाको अन्त्यतिरबाट सुरू हुने बताइएको छ। अहिले कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया चलिरहेको निर्माण पक्षले जनाएको छ।
'कालकट्टी' का निर्माता रघुनाथ सापकोटा हुन् भने कथा, पटकथा, संवाद तथा निर्देशनको सम्पूर्ण जिम्मेवारी अमरदीप सापकोटाले सम्हालेका छन्। छायांकनको जिम्मा निसाल पौडेलको काँधमा रहनेछ भने संगीतकार भीम बिष्टले फिल्मको भावनालाई संगीतमा उतार्नेछन्।
फिल्म आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलसँग सुरक्षित गरिएको छ।
'कालकट्टी' को छायांकन सकेर रिलिजको तयारीसंगै 'काकाको बिहे' को छायांकन सुरू हुनेछ। यसलाई पनि अमरदीप सापकोटाले निर्देशन गर्नेछन्।