नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तरलाई विश्वस्तरमा पुर्याउने उद्देश्यका साथ 'म्युजिक नेपाल' ले मुलुकमै पहिलोपटक 'डल्बी एट्मस' द्वारा मान्यताप्राप्त पोस्ट-प्रोडक्सन स्टुडिओ सञ्चालनमा ल्याएको छ।
चार दशकदेखि नेपाली संगीतको क्षेत्रमा सक्रिय कम्पनीले करिब १० करोड रूपैयाँको लगानीमा गौशालास्थित पिंगलास्थानमा अत्याधुनिक स्टुडिओ निर्माण गरेको हो।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, म्युजिक नेपालका प्रमुख सन्तोष शर्मालगायतले 'म्युजिक नेपाल अडिओ भिजुअल' को औपचारिक शुभारम्भ गरेका हुन्।
शनिबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यो स्टुडिओ दक्षिण एसियामा भारतपछि डल्बीले विस्तार गरेको पहिलो ठूलो परियोजना रहेको कार्यक्रममा जानकारी दिइयो।
डल्बीबाट सर्टिफाइड म्युजिक नेपालको यो स्टुडिओ दक्षिण एसियामा रहेका सीमित १० वटा स्टुडियोमध्ये एक हो। नेपालमा भने पहिलो डल्बी एटमस साउन्ड मिक्सिङ स्टुडिओ हो।
यसले हलिउड र बलिउडका ठूला फिल्मको जस्तै 'इमर्सिभ' अनुभव नेपाली दर्शकलाई दिने दाबी गरिएको छ। स्टुडिओको सबभन्दा ठूलो विशेषता यसको ३२.१ डल्बी एट्मस कन्फिगरेसन हो।
यो स्टुडिओको सेटअपका लागि बलिउडका दिग्गज साउन्ड इन्जिनियर दमन सुद, डल्बी भारतका निर्देशक समीर सेठ र वरिष्ठ इन्जिनियर भरत रेड्डी काठमाडौं आएका थिए। दमन सुद ती व्यक्तित्व हुन्, जसले यश चोपडा, करण जोहर र सञ्जयलीला भन्सालीका फिल्ममा जादुमयी ध्वनि भरेका छन्।
स्टुडिओलाई नेपाली मौलिकता दिनका लागि यसका विभिन्न कक्षहरूको नाम ८ हजार मिटरभन्दा अग्ला ५ वटा हिमाल र राष्ट्रिय चराको नामबाट राखिएको छ। सगरमाथा कक्षमा डल्बी एट्मस मिक्सिङ, मनास्लु कक्षमा बहुउद्देश्यीय कोठा, अन्नपूर्ण र ल्होत्से कक्षमा एडिटिङ र मिक्सिङ स्विट, धौलागिरी कक्षमा रेकर्डिङ र कन्ट्रोल रूम, डाँफे कक्षमा डीआई कार्य हुनेछ।
फिल्मकर्मीलाई ५० प्रतिशतसम्म छुट
नेपाली फिल्मको कमजोर मानिने 'साउन्ड' पक्षलाई सुधार गर्ने उद्देश्यले म्युजिक नेपालले फिल्मकर्मीका लागि विशेष सहुलियतको व्यवस्था पनि गरेको छ।
म्युजिक नेपालका प्रमुख सन्तोष शर्माका अनुसार, स्टुडियो बुकिङ गर्ने पहिलो तीन ग्राहकलाई ५० प्रतिशत छुट दिइनेछ भने जनवरी ३१ सम्म सेवा लिने सबैलाई २५ प्रतिशत छुट प्रदान गरिनेछ।
'नेपाली फिल्ममा जुन लेभलको ध्वनि प्रभाव हुनुपर्ने हो, त्यो नभएको महसुस गरेर हामीले यो जोखिम मोलेका हौं', शर्माले भने, 'डल्बीले प्रमाणित गरेपछि अब हलिउड र नेपालको ध्वनिको गुणस्तर बराबर हुनेछ।'

डल्बीद्वारा मान्यताप्राप्त स्टुडिओ भएकाले यहाँ अन्तर्राष्ट्रियस्तरमा ध्वनिको गुणस्तर पाइने उनले दाबी गरे।
'डल्बीको लागि यहाँ र हलिउडको साउन्डको लेभल बराबर हुनुपर्छ', उनले गुणस्तरबारे भने, 'डल्बीले सर्टिफाइड गरिसक्यो, यो ठूलो उपलिब्ध हो।'
स्टुडियओमा सम्पादन, डीआई, रेकर्डिङ, प्रि-मिक्सलगायत फिल्मका सम्पूर्ण पोस्ट प्रोडक्सनका कार्य हुने जनाइएको छ।
'फिल्मका सबै पोस्ट-प्रोडक्सन कार्य यहाँ हुन्छ। सुटिङ गरेर आएपछिका सबै काम हुन्छ', म्युजिक नेपालका प्रमुख शर्माले भने।
उपकरण मात्र नभई दक्ष प्राविधिक तयार पार्न डल्बीका इन्जिनियर भरत रेड्डीले चलचित्र विकास बोर्डसँगको सहकार्यमा नेपालका २० जना साउन्ड इन्जिनियरहरूलाई विशेष तालिम समेत दिइसकेका छन्।
यसले गर्दा आगामी दिनमा नेपाली फिल्मको पोस्ट–प्रोडक्सनका लागि विदेश धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ। भरत रेड्डीको नाम भारतका चर्चित फिल्महरूसँग जोडिएको छ। उनी डल्बी सर्टिफाइड ट्रेनर हुन्।