विपिन कार्की र मिरूना मगर अभिनीत सुपरहिट नेपाली फिल्म 'ऊनको स्वीटर' बिहीबार युट्युबमा सार्वजनिक भएको छ।
आर्टमाण्डुको अफिसियल युट्युबमार्फत फिल्म रिलिज गरिएको हो।
आर्टमाण्डुको प्रस्तुति र नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको फिल्म गत बैशाखमा सिनेमा हलमा रिलिज भएको थियो। दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको फिल्मले नेपालमा १२ करोड रूपैयाँभन्दा बढी कमाउँदै ५१ दिनभन्दा लामो समय प्रदर्शन भएको थियो। हालै भारतमा समेत गौरवमय ५१ दिन मनाएको फिल्म डिजिटल प्लेटफर्ममा रिलिज भएको हो।
फिल्म युट्युबमा रिलिज गर्दै निर्देशक नवीन चौहानले धेरै दर्शकहरूले समय, स्थान र परिस्थितिका कारण हलमा बसेर 'ऊनको स्वीटर' हेर्न नपाएको सुनाएपछि यो निर्णय लिएको बताए।
उनले फेसबुकमा लेखेका छन्, 'दर्शकहरूको निरन्तर रि-रिलिजको माग र उहाँहरूप्रति रहेको मेरो जिम्मेवारीका कारण आज 'ऊनको स्वीटर' आर्टमाण्डुको आफ्नै युट्युब च्यानलमार्फत सबैका लागि रिलिज गरिएको छ।'
सरल र सुन्दर प्रेमकथा भन्ने 'ऊनको स्वीटर' मा विपिन र मिरूनासहित सुनील पोखरेल, माओत्से गुरूङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परिक्षा लिम्बु, सुरज तमु, शारदा देवी सिलवाल, मेनुका प्रधानलगायत कलाकारहरूको अभिनय छ।