फागुन १ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म 'कल्ली' मा अभिनेत्री पूजा शर्माको आइटम डान्स रहने भएको छ।
उनी फिल्मको 'क्या राम्री' बोलको गीतमा देखिने भएकी हुन्। यो गीतको छायांकन हालसालै काठमाडौंको चोभारमा २ दिन लगाएर गरिएको छ।
योसँगै फिल्मको सम्पूर्ण छायांकन ६० दिनमा प्याकअप भएको निर्माता किरण नेपालीले जानकारी दिए। यो फिल्मको गीत बाहेकको छायांकन भने जुम्लामा गरिएको हो।
'क्या राम्री' गीतमा आशिष अविरल र मेलिना राईले स्वर दिएका छन्। आशिषको संगीतमा तयार गीतको भिडिओको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्। गीतको शब्द सुरेन्द्र रानाको हो।
बिहेपश्चात पूजाले फिल्मको गीतमा पहिलोपटक काम गरेकी हुन्। यसको भिडिओमा पूजाका साथमा अभिनेता उत्तम प्रधान, किरण श्रेष्ठ र कलाकार सुलक्षण भारतीले नृत्य गरेका छन्।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको यो फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन, महेश दवाडीको लेखन छ।
'कल्ली' मा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरूङ, संजोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री, श्याम मगरसहित बाल कलाकार उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा लगायतको अभिनय छ।
निशाल पौडेलको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ।