नेपाली फिल्म 'शिवांश' मा चर्चित भारतीय गायक कैलाश खेरले स्वर दिएका छन्।
फागुन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मका लागि कैलाशले 'शिव ताण्डव' गीतमा स्वर दिएको निर्माणपक्षले बताएको छ।
निर्माणपक्षले बिहीबार नयाँ पोस्टर सार्वजनिक गर्दै कैलाश खेरको गीत फिल्ममा रहेको जानकारी दिएको हो। फिल्म 'शिवांश' को सन्दर्भमा गायक खेरले नेपाल र नेपाली प्रशंसकहरूका लागि एक भिडिओ सन्देशसमेत सार्वजनिक गरेका छन्।
उक्त सन्देशमा उनले आफ्नो नयाँ सांगीतिक परियोजना र भारत–नेपालबीचको प्रगाढ सम्बन्धबारे चर्चा गरेका छन्। विश्वभर आफ्नो ओजपूर्ण आवाजका लागि परिचित खेरले नेपाली फिल्म 'शिवांश' मा समावेश 'शिव ताण्डव स्तोत्रम्' गायन गर्न पाउँदा खुसी लागेको बताएका छन्।
उनले नेपाली श्रोताहरूले आफ्ना हरेक गीतलाई दिने माया र साथप्रति हृदयदेखि आभार व्यक्त गरेका छन्। 'नेपालका फ्यानहरूले मलाई र मेरा गीतहरूलाई जुन प्रकारको प्रेम दिनुहुन्छ, त्यसको आभार व्यक्त गर्न मसँग शब्द छैन', खेरले भनेका छन्।
उनले 'शिवांश' लाई भारत र नेपालबीचको मैत्री सम्बन्धको प्रतीकको रूपमा चित्रण गरेका छन्। उनले भनेका छन्, 'यस पटक केही विशेष छ। भारत–नेपाल मैत्री सम्बन्धको सौजन्यबाट हामीले एउटा अत्यन्तै प्यारो ‘ताण्डव स्तोत्रम्’ तयार पारेका छौं, जुन मैले गाउने अवसर पाएको छु।'
साथै, खेरले नेपाली दर्शक र श्रोताहरूबाट 'शिवांश' का लागि पनि पहिले जस्तै माया र आशीर्वादको अपेक्षा गरेको बताएका छन्।
‘शिवांश’ को सार्वजनिक पोस्टरको कुरा गर्दा यसमा फिल्मका प्रमुख पात्रहरूलाई तनावग्रस्त र गम्भीर भावभंगीमा प्रस्तुत गरिएको छ।
पोस्टरमा प्रवीण खतिवडा हातमा चक्कु बोकेर रौद्र रूपमा छन् भने तेज गिरी रिसाहा मुद्रामा देखिन्छन्। रूषा न्यौपाने गम्भीर दृष्टिमा हेर्दै देखिएकी छन् भने विमला लिम्बू आश्चर्यमिश्रित भावमा प्रस्तुत छिन्। यस्तै, विकास जोशी हातमा डमरू बोकेर चिच्याइरहेको दृश्यमा देखिन्छन्।
श्याम-श्वेत रंग संयोजनमा रहेको पोस्टरमा चक्र र आगोको प्रयोग गरिएको छ, जसले फिल्मका पात्रहरू मानसिक तनाव र द्वन्द्धपूर्ण अवस्थाबाट गुज्रिरहेको संकेत गर्छ। अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको फिल्मको निर्देशक सन्तोष कुमार आत्रेय हुन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो। निर्मातामा अञ्जान केसी छन्।
फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू र रूषा न्यौपाने मुख्य भूमिकामा छन्। फिल्ममा विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारहरूको अभिनय छ।
फिल्मको कथा अञ्जान केसीले लेखेका हुन् भने पटकथा बारत लिम्बूको छ। फिल्मको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्। कार्यकारी निर्माता शम्भु थापा हुन्।
शरद महतोको डीओपी रहेको फिल्ममा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत रचना, न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत छ। त्यस्तै, द्वन्द्व निर्देशन मिलन श्रेष्ठको र कोरियोग्राफीको काम विक्रम चौहानले गरेका छन्।