माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको प्रेम कथानक फिल्म 'कुमारी' ले आफ्नो प्रवद्र्धन अभियानलाई तीव्र बनाएको छ।
काठमाडौंको भृकुटीमण्डपमा १० हजारभन्दा बढी दर्शकमाझ ट्रेलर सार्वजनिक गरे लगत्तै फिल्मको टोली पूर्वी नेपालको प्रचार यात्रामा निस्किएको हो।
प्रसारका क्रममा मोरङको मधुमल्ला बजारमा आयोजित 'कुमारी लाइभ म्युजिकल कन्सर्ट' भव्य रूपमा सम्पन्न भएको छ। भगवती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा करिब २ हजार दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रममा फिल्म प्रमुख कलाकारहरू अबिषेक खड्का र आकृति राजभण्डारीले फिल्मको सुपर हिट गीत ’डोको बुन्ने’ मा लाइभ नृत्य प्रस्तुत गर्दा दर्शकहरू उत्साहित बने।
पार्श्व गायक केहर सिं लिम्बुले 'डोको बुन्ने', 'तिमी बिना', 'कता छौ' लगायत आफ्ना चर्चित गीतहरू गाएर माहोल तताएका थिए।
चिसो मौसमका बाबजुद पनि दर्शकहरू राति ११ बजेसम्म कार्यक्रम स्थलमै बसेर कलाकारहरूलाई साथ दिएका थिए।
यसैबिच अभिनेता अबिषेक खड्का शनिवार दिउँसो झापाको बिर्तामोडस्थित आफ्नो घर पुगेका छन्। अभिनेत्री आकृतिसहित आफ्नो गृह नगर पुगेका अविषेकलाई आफन्त र छिमेकीले भव्य स्वागत गरेका थिए। लामो समयपछि घर पुगेका उनले बुबालाई भेट्दा माहौल निकै भावुक बनेको थियो।
दिनेश राउतको निर्देशनमा बनेको 'कुमारी' मा प्रेम, संघर्ष र पारिवारिक अन्तरद्वन्द्वलाई चित्रण गरिएको छ। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मको निर्माता महेन्द्र अधिकारी हुन्।
फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्कीलगायत कलाकारहरूको पनि अभिनय छ। विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको 'कुमारी' को पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनको रहेको छ। कार्यकारी निर्माता केदार भुसाल हुन्।
फिल्म यही शुक्रबारदेखि प्रदर्शनमा आउनेछ।
-1769929052.jpg)