यस वर्षका लागि 'अमर नेम्वाङ लिम्बू स्मृति साहित्य सम्मान तथा पुरस्कार' कवि देवेन्द्र शक्तेन राई, निबन्धकार दीपक सापकोटा र साहित्यकार मलिशा याक्थुङ्बा लिम्बूलाई प्रदान गरिने भएको छ।
नेम्वाङ परिवारका सदस्यहरूले स्थापना गरेको अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानले उनीहरूले संयुक्त रूपमा सम्मान गर्ने निर्णय भएको जानकारी दिएको छ। माघ २६ गते स्व. अमर नेम्वाङको सातौं स्मृति दिवसका अवसरमा फिदिममा आयोजना हुने कार्यक्रममा यो सम्मान प्रदान गरिनेछ।
तीसको दशकका कवि देवेन्द्र शक्तेन राई पाँचथरको चिम्फूला निवासी हुन्। उनको 'दन्त्य कथाको देश' कविता संग्रह प्रकाशित छ। उनी निबन्ध लेखनमा पनि सक्रिय छन्।
निबन्धकार दीपक सापकोटाका 'लोकेसन' निबन्ध संग्रह र 'निर्बन्ध मोन्टाज' प्रकाशित छन्। पाण्डुलिपि मासिकका पूर्वसम्पादक सापकोटा हाल कान्तिपुर दैनिकको 'कोसेली' परिशिष्टका संयोजक हुन्।
त्यस्तै, याक्थुङ भाषामा कलम चलाउँदै आएका लिम्बू वरिष्ठ साहित्यकार हुन्। उनका दर्जनौं कृति प्रकाशित छन्।
यसै अवसरमा जेहेन्दार विद्यार्थी छात्रवृत्तितर्फ फाल्गुनन्द गाउँपालिकाका तीन विद्यालयका विद्यार्थी छनोट गरिएको छ। छात्रवृत्ति प्राप्त गर्नेमा श्री सारताप मनरत्न माध्यमिक विद्यालय, सरताप (फाल्गुनन्द–३) का कक्षा ८ मा अध्ययनरत सोनी नेम्बाङ, श्री कृष्ण माध्यमिक विद्यालय, चिलिङदिन (फाल्गुनन्द–४) का कक्षा ९ का अन्जन चेम्जोङ तथा श्री जलसिंह माध्यमिक विद्यालय, चिम्फूला (फाल्गुनन्द–३) का कक्षा ८ का विद्यार्थी खाम्बेकहाङ चेम्जोङ छन्।
फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष समेत रहेका स्व. अमर नेम्वाङको २०७६ माघ २६ गते एक कार्यक्रममा सम्बोधन गरेलगत्तै निधन भएको थियो। उनको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले साहित्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको छ।