चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ।
बोर्ड अन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ ले सिनेमा हलमा प्रदर्शनरत नेपाली फिल्मको शनिबारसम्मको कारोबार सम्बन्धी विवरण सोमबार सार्वजनिक गरेको हो।
विवरण अनुसार गत पुस ४ गतेदेखि प्रदर्शनमा आएको ‘झरीपछिको इन्द्रेणी’ ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गर्न सकेको छैन।
हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले निर्देशन गरेको उक्त चलचित्रले शनिबारसम्म एक करोड २८ लाख ५२ हजार ३१९ रूपैयाँ कमाइ गरेको छ। उक्त चलचित्रका लागि कूल ४० हजार ६२४ वटा टिकट बिक्री भएका छन्।
भ्रष्टाचार र बेथितिविरूद्धको आवाज उठाउन प्रयास गरिएको उक्त फिल्ममा अभिनेता गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपालीलगायत कलाकारले अभिनय गरेका छन्।
यही माघ १ गतेदेखि प्रदर्शन सुरू गरिएका तीन फिल्मले पनि उत्साहजनक व्यापार गर्न सकेका छैनन्।
‘बल्छी धुर्वे’ का रूपमा टेलिशृंखलामा परिचित मरिचमान श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘गोबर गणेश’ ले एक करोड ३६ लाख २० हजार ८६६ रूपैयाँ कमाएको छ।
निर्देशक श्रेष्ठसँगै वर्षा शिवाकोटी विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायत कलाकारको अभिनय रहेको उक्त चलचित्रको ४८ हजार ५३ वटा टिकट बिक्री भएका छन्।
माघ १ देखि प्रदर्शन सुरू भएको चलचित्र ‘मिरमिरे’ ले ३३ लाख ९३ हजार ७२५ रूपैयाँ कमाएको छ।
बुबाछोरी बीचको भावनात्मक सम्बन्ध र त्रिकोणात्मक प्रेमकथामा आधारित उक्त चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरूङ, छुल्ठिम गुरूङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय गरेका छन्।
यम शेर्पाको निर्देशनमा तयार भएको उक्त चलचित्रको १० हजार ८८४ वटा टिकट बिक्री भएका विवरणमा उल्लेख छ।
अभिनेता सौगात मल्लको अभिनय रहेको ‘भाइरल गोर्खे’ ले सोही अवधिमा ३६ लाख १० हजार ९२५ रूपैयाँको कारोबार गरेको छ। सामाजिक सञ्जालको बढ्दो दबदबाबीच विश्वभर ‘भाइरल’ बन्ने ध्याउन्नमा रहेकालाई केन्द्रित गर्दै तयार गरिएको उक्त चलचित्र पनि माघ १ गतेदेखि प्रदर्शन भएको थियो।
निगम श्रेष्ठले निर्देशन गरेको चलचित्रमा अभिनेता मल्लसँगै अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, पत्रकार ऋषि धमला लगायतले अभिनय गरेका छन्। उक्त फिल्मको सो अवधिमा ११ हजार २९८ वटा टिकट बिक्री भएको जनाइएको छ।
यही माघ ९ गतेदेखि प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘परिवर्तन’ ले ३१ लाख नौ हजार ९२५ रूपैयाँको कारोबार गरेको छ। मनोरञ्जनसँगै देश परिवर्तनको विषयलाई उठान गरेको उक्त चलचित्रमा अभिनेता सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायत कलाकारले अभिनय गरेका छन्।
दीपक सिवाकोटीले निर्माण गरेको यो चलचित्रमा पटकथा तथा संवाद शिवम् अधिकारीले लेख्नुभएको हो। विजय केरूङले निर्देशन गरेको यो फिल्मका कुल ११ हजार छ टिकट बिक्री भएका छन्।
चलचित्र विकास बोर्डले पछिल्लो केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी र विदेशी चलचित्रको व्यावसायिक विवरण हरेक सोमबार सार्वजनिक गर्दै आएको छ।