प्रदर्शन तयारीमा रहेको फिल्म 'शिवांश: च्याप्टर १' को ट्रेलर सार्वजनिक भएको छ।
महाशिवरात्रिको अवसर पारेर फागुन १ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा शिवको भेषमा बसेर गरिने आपराधिक क्रियाकलाप समेटिएको छ।
जोगीको भेषमा बसेर भित्री रूपमा कतिपय व्यक्ति कसरी अपराधमा सक्रिय हुन्छन् भन्ने ट्रेलरमा देखिन्छ। पौराणिक आस्था, रहस्य र आधुनिक समयको द्वन्द्वलाई फिल्मको कथामा समेटिएको ट्रेलरबाट अनुमान गर्न सकिन्छ। ट्रेलरले पौराणिक 'समुद्र मन्थन' को प्रसंग र त्यस क्रममा उत्पत्ति भएको विषको कथालाई उठान गरेको छ।
सन्तोष कुमार आत्रेय निर्देशित फिल्ममा प्रविण खतिवडा, तेज गिरी, विकास जोशी, रूषा न्यौपाने, विमला लिम्बु, उदयकुमार सुब्बा, सन्तोषकुमार आत्रेय, बारात लिम्बू, प्रदीपकुमार चौधरीलगायत कलाकारहरूको अभिनय छ।
ट्रेलर हेर्दा फिल्मको छायांकन, पृष्ठभूमि संगीत र भीएफएक्समा पनि विशेष लाग्न सक्छ। फिल्मको कथा अञ्जान केसीले लेखेका हुन्। पटकथा बारत लिम्बूको छ। अञ्जान केसी, शोभा भण्डारी निर्माता फिल्मको कार्यकारी निर्मातामा परिच्छेद सेन र शम्भु थापा छन्।
सह निर्माता कृष्ण बोगटी, अनिशा केसी बोगटी, सुनिता राना, निर्मल म. भण्डारी हुन्। फिल्ममा भारतीय प्रख्यात गायक कैलाश खेरले समेत स्वर दिएका छन्।
सरद महतोको डीओपी रहेको फिल्ममा बनिश शाहको सम्पादन छ।