कृषा चौलागाईंको निर्देशनमा निर्माण हुन लागेको फिल्म 'पारस' मा कलाकारहरु अनुबन्ध हुने क्रम जारी छ।
अभिनेता निखिल उप्रेती र अभिनेत्री जसिता गुरूङपछि अभिनेत्री प्रियंका कार्की पनि फिल्ममा अनुबन्धित भएकी छन्। निर्माण पक्षले उनलाई बुधबार औपचारिक रूपमा अनुबन्ध गरेको हो। प्रियंका स्वयंले पनि आफू 'पारस' मा जोडिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।
फिल्ममा निखिलको जोडी जसिता वा प्रियंकामध्ये कससँग रहने हो भन्ने विषयमा निर्माणपक्षले खुलाएको छैन। यसअघि जसिता अनुबन्धित हुँदा अधिकांशले उनको अपोजिटमा निखिल रहने अनुमान गरेका थिए। तर प्रियंका पनि फिल्ममा जोडिएपछि जोडीको विषय थप रोचक बनेको छ।
एक्सन तथा सामाजिक कथावस्तुमा 'पारस' निर्माण हुन लागेको हो। अन्य कलाकारबारे जानकारी क्रमशः सार्वजनिक गरिने जनाइएको छ। केपी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन्। छायांकन निर्देशन (डीओपी) पुरूषोत्तम प्रधानको रहने जनाइएको छ।
निर्देशक कृषाको कुरा गर्दा उनले यसअघि 'पिताम्बर' र 'एैंचोपैंचो' निर्देशन गरेकी थिइन्। 'पारस' उनी निर्देशित तेस्रो फिल्म हुनेछ। यसको छायांकन छिट्टै सुरू गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ।