फिल्म 'बाः एक योद्धा' निर्माण हुने भएको छ। फिल्मको सोमबारबाट औपचारिक रूपमा छायांकन सुरू गरिएको हो।
काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा निर्माण पक्षको उपस्थितिमा धार्मिक विधिपूर्वक पूजाआजा गर्दै फिल्मको छायांकन आरम्भ गरिएको हो।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मले नेपाली समाजको एउटा मार्मिक पक्षलाई उजागर गर्ने लक्ष्य राखेको छ।
विगत लामो समयदेखि गायक र संगीतकारको रूपमा दर्जनौं चर्चित गीतहरू नेपाली श्रोतामाझ पस्किसकेका हरि लम्सालले यसै फिल्ममार्फत निर्देशकको रूपमा डेब्यु गर्दैछन्। फिल्मको कथा र पटकथा पनि स्वयं लम्सालले नै तयार पारेका हुन्।
फिल्मको शीर्षक र सार्वजनिक गरिएको पोस्टरको 'थिम' ले यो एक शुद्ध सामाजिक कथावस्तु हुने संकेत गर्छ। नेपाली परिवारमा बुवाको महत्व, उनले सन्तानको भविष्यका लागि गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूलाई एउटा 'योद्धा' को रूपमा चित्रण गर्न खोजिएको अनुमान गर्न सकिन्छ। विशेषगरी ग्रामीण तथा सहरी समाजमा एउटा बाबुले आफ्नो काँधमा बोक्ने जिम्मेवारीको कथालाई यो फिल्मले पर्दामा उतार्ने अपेक्षा गरिएको हो।
निर्माण पक्षले फिल्मको छायांकन सुरू गरिसके पनि मुख्य भूमिकामा रहने कलाकारहरूको नाम भने अहिलेसम्म गोप्य नै राखेको छ। 'सरप्राइज' दिने उद्देश्यले कलाकारहरूको नाम सार्वजनिक नगरिएको निर्माण टिमको भनाइ छ।
फिल्ममा स्थापित र अनुभवी सिनेमेटोग्राफर शिवराम श्रेष्ठको छायाकंन रहनेछ। फिल्मको निर्माता वसन्त लम्साल हुन्। गायक तथा सर्जक समेत रहेका लम्सालले यसअघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए।
फिल्मको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहेका छन्।
निर्माण पक्षका अनुसार छायांकन सकिएपछि मात्र फिल्मको प्रदर्शन मिति तोकिनेछ।