रिसल्ला प्रोडक्सनले एभरेस्ट फिल्म एकेडेमी र सिमल सिनेमासँगको सहकार्यमा निर्माण गरेको लघु फिल्म 'टेस्ट अफ वाटर' जर्मनीमा आयोजना हुने 'इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओबरहाउसेन' (७२ औं संस्करण) मा छनोट भएको छ।
निर्माण पक्षले जारी गरेको विज्ञप्तिअनुसार आयन परियारद्वारा लिखित तथा निर्देशित यस फिल्मलाई ज्योत्सल राजभण्डारी, दिवस श्रेष्ठ र प्रेम प्रसाद अधिकारीले निर्माण गरेका हुन्।
विश्वका प्रतिष्ठित छोटा फिल्म महोत्सवमध्ये एक मानिने उक्त महोत्सवमा 'टेस्ट अफ वाटर' चिल्ड्रेन एण्ड युथ कम्पिटेशन अफिसियल सेलेक्सन अन्तर्गत छनोट भएको विज्ञप्तिमा उल्लेख छ। यो फेस्टिभल २८ अप्रिलदेखि ३ मे सम्म हुँदैछ।
अन्तर्राष्ट्रिय स्तरको यस्तो मञ्चमा छनोट हुनु निर्माण टिमका लागि महत्वपूर्ण उपलब्धि भएको र यसले नेपाली फिल्म क्षेत्रलाई विश्वमञ्चमा पुर्याउन सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।
निर्माता ज्योत्सल राजभण्डारी र दिवस श्रेष्ठ एभरेस्ट फिल्म एकेडेमीका बोर्ड अफ डाइरेक्टरसमेत रहेको र उनीहरूले आफ्नै विद्यार्थीहरूका सिर्जनालाई प्रोत्साहन गर्दै नयाँ पुस्तालाई अन्तर्राष्ट्रिय स्तरसम्म लैजान योगदान गरिरहेको जनाइएको छ।
'टेस्ट अफ वाटर' मा आफन्त बिके, अनुप डोटेल, सोनिका शाही ठकुरी, चन्द्र नेपाली, कमला पराजुलीलगायतको अभिनय छ।
यो एक नौ वर्षे बालकलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म हो। बिरे नामक उक्त पात्र आफ्नो परिवारसँग शहरमा बस्छ, जहाँ जीवन कठिन छ र स्रोत साधनहरू सीमित छन्। एक दिन उसले एक अपरिचित व्यक्तिको ह्यान्ड पम्पबाट पानी पिउँछ, जुन अहिलेसम्म चाखेको सबभन्दा मिठो र सफा हुन्छ। त्यस पानीको जादूमा मोहित भएर बिरे गोप्य रूपमा फेरि त्यहाँ जान्छ, र सानो घुँचोमा पनि जोखिम उठाउँदै पानीको लागि आशाको अनुभव गर्छ।
'टेस्ट अफ वाटर' ले बिरेको सानो तर दृढ यात्रामार्फत गरिबीका शान्त संघर्षहरू, बाल्यकालको निर्दोषता र कठिन संसारमा सानो चमत्कार खोज्ने प्रयासलाई उजागर गर्दछ।
शरद महतोको छायांकन रहेको यस फिल्मको सम्पादन अनिमेष सापकोटाले गरेका हुन्।