लोकप्रिय नेपाली हास्य टेलिभिजन शो 'कमेडी दरबार' को तेस्रो सिजन बैशाख ४ गतेदेखि प्रसारणमा आउने भएको छ।
मंगलबार टिजर भिडिओ सार्वजनिक गर्दै प्रसारण मितिबारे आधिकारिक घोषणा गरिएको हो।
दुई सिजन सकिएपछि करिब चार महिनाको अन्तरालमा नयाँ फर्म्याटका साथ 'कमेडी दरबार' पुनः दर्शकमाझ आउन लागेको हो। सार्वजनिक भिडिओमा कार्यक्रमको प्रस्तुति शैली (फर्म्याट) परिवर्तन भएको देखिन्छ।
शोका निर्देशक तथा होस्ट विक्की अग्रवाल तेस्रो सिजन अघिल्ला सिजनभन्दा अझ रोचक र आकर्षक तरिकाले दर्शकमाझ आउने बताए। यसपटक कमेडी दरबारको सेट अझ भव्य बनाइएको छ।
सार्वजनिक भिडिओमा गौरी मल्ल, सजिना खनाल, बिक्की अग्रवाल, बीटी कान्चा (विश्वास तिमिल्सिना), म्याकुरी (पवन खतिवडा), सीडी विजय अधिकारी, सुन्दर खनाल, सुजिता श्रेष्ठ, मिस पबी (पवित्रा साँकी), विकास अर्याल, सरोज भण्डारी, खबपु मगर देखिएका छन्। अरू कलाकारहरूबारे टिजरमा खुलाइएको छैन।
कमेडियन तथा नन-कमेडियन चर्चित कलाकारहरूको कार्यक्रम 'कमेडी दरबार' ले प्रसारण सुरू गरेको छोटो समयमै दर्शकमाझ लोकप्रियता कमाएको थियो।
तेस्रो सिजनमा पनि बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशन रहनेछ।
अवधारणा बिक्की अग्रवालको हो भने लेखकमा विकास अर्याल, सरोज भण्डारी र बिक्की अग्रवाल छन्।
'कमेडी दरबार ३' शुक्रबार राति ९ बजे ओएसआर रियालिटी र प्राइम टाइम टेलिभिजनमा प्रसारण हुनेछ।