दाङको तुलसीपुरमा अर्को एउटा सिनेमा हल पनि निर्माण हुने भएको छ।
साविक ‘विष्णु चलचित्र हल’ भएको ठाउँमा अब नयाँ सिनेमा हल निर्माण हुने गरी सम्बन्धित पक्षले प्रक्रिया थालेको छ।
अभिनेता अर्जुन श्रेष्ठ र तुलसीपुरका प्रतिष्ठित व्यवसायी उत्तमकुमार श्रेष्ठ दाजुभाइले आफ्नो तुलसीपुर उपमहागनरपालिका–६ स्थित साविक विष्णु चलचित्र रहेको ठाउँमा नयाँ सिनेमा हल निर्माण गर्ने बताएका छन्।
श्रेष्ठ दाजुभाइका अनुसार यहाँ सपिङ मल, होटल सहितको चलचित्र हल निर्माण गर्न प्रक्रिया सुरू भएको छ।
श्रेष्ठ दाजुभाइका अनुसार सबभन्दा तल्लो तलामा सपिङ मल, त्यसपछिको दोस्रो तल्लामा होटल र माथिल्लो तलामा चलचित्र हल निर्माण गर्ने गरी डिजाइन गरिएको छ।

कुल लागत करिब २४ करोड रुपैयाँ अनुमान गरिएको छ।
विगतमा सिनेमा हल सञ्चालन रहेको भए पनि यही बर्ष मात्रै त्यो पुरानो चलचित्र हल भत्काइएको थियो।
‘पुरानो साधा पर्दाको सिनेमा हल भत्काइएको हुँदा अब समय सुहाउँदो अत्याधुनिक सिनेमा हलका साथै सपिङ मल तथा होटल सञ्चालन गर्ने गरी संरचना निर्माण हुनेछ,’ अभिनेता अर्जुन श्रेष्ठले भने ।
अभिनेता श्रेष्ठ दाजुभाइ तुलसीपुर उपमहानगरपालिकामा आवश्यक परामर्श गर्न पुगेका थिए।
तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर पवन योगीसँग सिनेमा हल सहितको आधुनिक सपिङ मल निर्माणका लागि नक्सा तथा डिजाइनका लागि श्रेष्ठ दाजुभाइले परामर्श लिनुका साथै प्राविधिक रूपमा प्रक्रिया सुरू गरेको बताए।
श्रेष्ठ दाजुभाइले आगामी नयाँ वर्ष २०८३ देखि आधुनिक सिनेमा हल निर्माणको प्रक्रिया थालनी हुने सेतोपाटीलाई जानकारी दिए।
‘मैले जीवन नै मनोरञ्जन र चलचित्र क्षेत्रमा बिताउँदै आएको छु,’ अभिनेता अर्जुनले भने, ‘अब पनि सोही क्षेत्रमा रमाउन चाहन्छु। जीवनमा मनोरञ्जन विधा पनि उत्तिकै महत्वपूर्ण छ भन्ने सोचले आम सर्वसाधारणको चाहना अनुरूप हलमा लगानी गर्न थालेका हौं।’
उनीहरूको घोराहीमा पनि स्वर्गद्वारी चलचित्र सिनेमा हल छ। त्यसलाई पनि समयको माग अनुरूप थप आधुनिक बनाउने कार्य सुरू गरिएको अभिनेता श्रेष्ठले बताए।
‘दुबै ठाउँमा आफ्नै जग्गा जमिन छँदैछ,’ उनले भने, ‘तुलसीपुरको डुर्मी गाउँस्थित पुरानो सिनेमा हल भत्काइएको हुँदा अब त्यो ठाउँमा समयको माग अनुसारको आधुनिक सिनेमा हल निर्माण गर्ने योजना बुनेका हौं।’
विदेशबाट स्वदेश फर्किन नचाहेका छोरालाई फकाएर स्वदेशमा बोलाइएको र त्यसको प्रमुख उद्देश्य अरूका लागि रोजगारीका अवसरहरू सृजना गर्नुपर्छ भन्ने आफूहरूको सोच रहेको उनले बताए।
‘अब बन्ने नयाँ सिनेमा हल सहितका होटल र सपिङ मल जेठो छोरालाई हेर्ने दिने हाम्रो योजना छ,’ उत्तमले भने, ‘उनले अस्ट्रेलियाबाट स्नातकोत्तर गरेका छन्।’
हाल तुलसीपुर–६ मै दुई वटा आधुनिक सिनेमा हल निर्माणाधीन छन्।
दाङको नारायणपुरमा सिनेमा हल सञ्चालन गर्दै आएको समूहले तुलसीपुर–६ को बरूवा गाउँमा झन्डै २२ करोड लागतमा भिएफएक्स सिनेमा हल निर्माण कार्य मंसिरदेखि जारी राखेको छ।
अमेरिकामा बस्दै आएका चलचित्रकर्मी अनिल बुढाथोकी र बसन्त लम्सालको संयुक्त लगानी छ।
त्यस्तै, तुलसीपुर–६ को रजौरामा १८ देखि २० करोड जति लगानीमा आधुनिक सिनेमा हलका लागि भौतिक संरचना निर्माणको काम थालेको थियो। हाल ती दुवै सिनेमा हलहरूको भौतिक निर्माण कार्य धमाधम चलिरहेको छ।
यो सिनेमा हल घोराही उपमहानगरपालिका–८ सौंडीकुलामा सिनेमा हल सञ्चालन गर्दै आएको समूहले निर्माण गरिरहेको हो।
सौंडीकुलामा चेतन राना सहितको समूहले ‘भिएफएक्स सिनेमाज’ निर्माण गरेको हो।
रानाका अनुसार रजौरामा निर्माणाधीन सिनेमा हलमा ‘भिएफएक्स सिनेमाज’ को ८० प्रतिशत सेयर रहनेछ भने तुलसीपुर क्षेत्रका रन्दिप न्यौपाने लगायत अन्य ६ जना जतिको २० प्रतिशत सेयर छ।
‘हामीले घोराहीको सौंडीकुला लेबलकै सिनेमा हल तुलसीपुरको रजौरामा पनि निर्माण थालेका छौं,’ रानाले भने, ‘रजौराको सिनेमा हलमा लेटेष्ट टेक्नोलोजी प्रयोग गरिने छ।’
भौतिक निर्माणको काम धमाधाम गरिरहेका उल्लेखित दुई वटै सिनेमा हलका निर्माणकर्ताले झन्डै करिब पाँच सय सिट क्षमताका सिनेमा हलहरू निर्माण गर्ने बताएका छन्।
उनीहरूले ती सिनेमा हलहरू आउने नयाँ वर्षको दसैं वा त्योभन्दा अगाडि नै सञ्चालनमा ल्याउने तयारीका साथ तीव्र रूपमा काम भइरहेको बताएका छन्।
साविक राप्तीको अञ्चल सदरमुकाम तुलसीपुरमा सबैभन्दा पहिले २०५० सालतिर नेपाली कांग्रेस नेता ध्रुवराज पुरीले ‘ऊ शान्ति सिनेमा हल’ निर्माण गरी सञ्चालनमा ल्याएका थिए। साधा पर्दाको सिनेमा हल सिनेमा हल हाल सञ्चालनमा छैन। झन्डै एक दशकदेखि उक्त सिनेमा हल प्रयोग उपयोगविहीन बन्दै आएको छ।
समयको मागसँगै पुरानो सिनेमा हल विस्थापित भएको हुँदा पुरी परिवारले यस पनि आधुनिक संरचना निर्माण गर्ने तयारीमा रहेको बताउँदै आएको छ।
तर, पछिल्लो समय एकैसाथ र त्यो पनि तुलसीपुर–६ को एउटै वडामा तीन वटा आधुनिक संरचना सहितका सिनेमा हल निर्माण हुन थालेपछि भविष्यमा तुलसीपुरबासी सिनेमा हेर्नकै लागि जिल्लाकै घोराही, जिल्ला बाहिर नेपालगञ्ज वा अन्यत्र जानु नपर्ने अवस्था सृजना हुने अपेक्षा गरिएको छ।