अभिनेत्री प्रियंका कार्कीको फिल्म 'मास्टर्नी'को पहिलो झलक सार्वजनिक भएको छ।
आयंका फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको शुक्रबार पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा प्रियंकालाई मात्रै फिचर गरिएको छ।
प्रियंका बाथटबमा शान्त रूपमा सुतेकी देखिन्छिन्, तर उनका आँखाले भने कुनै गहिरो रहस्य लुकाइरहेको संकेत गर्छन्। बाहिरबाट शान्त देखिए पनि भित्र केही असामान्य र रहस्यमय कुरा भइरहेको आभास पोस्टरले दिन्छ। अँध्यारो पानीमा देखिएका सुनौला माछाहरूले शान्त सतहभित्र असामान्य घटना भइरहेको संकेत गर्छन्।
पानीलाई सत्य वा अपराधका प्रमाण लुकाउने प्रतीकका रूपमा पनि व्याख्या गर्न सकिन्छ। पोस्टरमा प्रियंकाको अनुहारमा डरभन्दा बढी आत्मविश्वास देखिन्छ।
मुख्य पात्र बाहिरबाट सामान्य र संयमित देखिए पनि भित्र निकै चलाख र रहस्यमय हुन सक्ने संकेत गर्छ। यो पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेका हुन्।
'मास्टर्नी'मा प्रियंकासहित आर्यन सिग्देल, अनुपविक्रम शाही, प्रमोद अग्रहरी, ऋचा शर्मा, सरोज खनाल, गौरी मल्ल, विशाल पहाडी, सिम्रन खड्का, रक्षा थापा, दिनेश काफ्लेलगायत कलाकारहरूको अभिनय छ। फिल्मलाई शुभेन्दु घोषले निर्देशन गरेका हुन्।
निर्मातामा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की छन्।
त्यस्तै, कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन् भने क्रिएटिभ निर्माताको रूपमा सिमोस सुनुवार रहेका छन्।
प्रियंका कार्कीको कथा रहेको फिल्मको स्क्रिप्ट शान बस्नेतले तयार पारेका हुन् भने संवाद प्रियंका र शानले संयुक्त रूपमा लेखेका छन्। युवराज इन्दोरियाले छायांकन गरेको चलचित्रलाई राजा सिंह सिदुले सम्पादन गरेका छन्।
निर्माण टिमले 'मास्टर्नी'लाई नेपालीसहित अन्य नौ भाषामा एकसाथ प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ। फिल्म आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तय छ।
